Suvadin, Home

एन्फाले गर्यो ‘गजेन्द्र सर’ लाई अार्थिक सहयोग

उनले नयाँ पुस्ता तयार पार्नका लागि गरेको प्रयासको कदर गर्दै एन्फाले आर्थिक सहयोग गरेको छ।

काठमाडौं, २ पुष – अखिल नेपाल फुटबल संघ एन्फाले गजेन्द्र रानालार्इ अार्थिक सहयोग गरेको छ। उनी एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन्। गजेन्द्रले २०५४ सालमा एन्फा एकेडेमीमा फुटबलको गुण सिकेका हुन्। 

को हुन् गजेन्द्र सर?

पत्रकार विद्या चपागाईले तयार पारेको हेर्ने कथा गर्जेन्द्र सर युट्यूबमार्फत सार्वजनिक भएपछि केहि अघि सम्म गुमनाम जस्तै गजेन्द्र रानाको चर्चा सुरु भएको हो। पाँच वर्षअघि आफन्त र नाता गोताका बारेमा बुझ्न राजधानीबाट सुर्खेतको आफ्नो गाँउ पुगेका गजेन्द्र त्यहाँको प्राथमिक विद्यालयको अवस्था देखेर केहि समय पढाउने योजनामा पुग्छन्।

गुर्माकोट नगरपालिका वडा नम्बर १४ को गुमीमा रहेको जनसंयुक्त प्राविमा केहि समय पढाउने र सुधारको प्रयास गरेर फर्कने उनको योजना थियो। तर, त्यो तीन महिना स्वयम् सेवक रुपमा काम गरेपछि उनीमाथि स्थानियको भरोसा पनि बढ्नै गया भने उनी पनि त्यो ठाँउ छाड्न नसक्ने भए। अर्को स्कुलसँग गाभ्ने तयारीमा रहेको त्यो जनसंयुक्त प्रावि अहिले जिल्लाकै उदाहरणीय स्कुल बनेको छ। आफै एसोएस बाल ग्राममा हुर्केका उनै गजेन्द्र सरलाई झन्डै २ दशक भन्दा अघिसँगै फुटबल खेलेका एन्फा पहिलो ब्याचका साथीहरुले सम्झेर उनी यति बेला काठमाडौं आइपुगेका छन्।

उनीसँगै फुटबल सिकेका साथीहरू कतिपय विदेशमा छन् भने कति स्वदेशमै छन्। उनले नयाँ पुस्ता तयार पार्नका लागि गरेको प्रयासको कदर गर्दै एन्फाले आर्थिक सहयोग गरेको छ। उनकै ब्याचका अमेरिकामा रहेका प्रयल राजभण्डारीको पहलमा गजेन्द्र सरलाई सघाउन आर्थिक संकलन सुरु भएको थियो। अमेरिकामा रहेका पहिलो ब्याजका फुटबल खेलाडी र अन्य खेलसँग सम्बन्धितहरुले संकलन गरेको ८ लाख १० हजार रुपैयाँ काठमाडाैंमा आइतबार गजेन्द्र सरलाई हस्तान्तरण गरेका छन्।

एन्फाका पूर्व अध्यक्ष गणेश थापा, एन्फा एकेडेमीका तत्कालिन प्रशिक्षक किशोर केसी, सुनिल श्रेष्ठ, एन्फा पहिलो ब्याचका प्रशान्त गिरी, राजीव श्रेष्ठले गजेन्द्रलाई रकम जम्माको भौचर हस्तान्तरण गरे। उनलाई दुई वटा ल्यापटप पनि हस्तान्तरण गरिएको थियो।

त्यस्तै पहिलो ब्याचका मानसाजन राजभण्डारीले १० हजार रुपैयाँ सहयोग गरे। एन्फा एकेडेमीका उत्पादन एवंम् हालै इन्डोनेसिया लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका रोहित चन्दले पनि आर्थिक सहयोग गरे र पहिलो ब्याचकै प्रज्वल खातीले बल हस्तान्तरण गरे। एन्फाका पूर्व अध्यक्ष थापाले दक्षिण एसियाली खेलकुद साफको स्वर्ण पदक विजेताका रुपमा राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त हुने २ वर्षको १ लाख २० हजार रुपैयाँ गजेन्द्रलाई दिने घोषणा गरे।

गजेन्द्रले एन्फा एकेडेमीमा हुँदाको र एन्फा छाडेपछि स्नातकोत्तरसम्मको अध्ययन पछि सुर्खेत फर्केको स्मरण गर्दै भने,‘ सबै आफुले सोचे जस्तो मात्र नहुने रहेछ। त्यहाँको स्कुलको विजोग देखेपछि केहि महिना बसेर सुधार गर्न सक्छुकी भनेर बसेको थिए। पछि विस्तारै छोड्नै नसक्ने अवस्थामा पुगे। अहिले पाँच वर्षदेखि काम गरिरहेको छु। स्थानियको विश्वास पनि बढेको छ विद्यालयमा विधार्थी पनि बढेका छन्।’

यूट्युबमा आफ्नो र विद्यालयका बारेमा तयार पारेको कथा हेरेपछि देश भन्दा विदेशबाट बढी फोन आएको स्मरण गर्दै अहिले पनि स्वयम् सेवककै रुपमा काम गरिरहेका गजेन्द्रले भने,‘ दुई तीन दिन सम्म त ठिकै लागेको थियो। पछि त फोन धेरै आउन थालेर राती अफ गरेर सुत्न थाले। धेरैले सहयोग गर्नेु भएको छ। त्यसले मलाई अझै काम गर्ने हौसला मिलेको छ। सबैलाई धन्यवाद दिन चाहन्छु।

गाँउमा आर्थिक कारण र अविभावक विहिन भएका कारण धेरै बालबालिकाले पढ्न नपाइरहेको बताउदै भने,‘ मेरो धर्म आमा जसले मलाई एसोएसमा हुर्काउनुभयो। भविष्यमा त्यो आमाको नाममा फाउन्डेसन स्थापना गर्ने र त्यसबाट आर्थिक र अविभावक विहिनहरुलाई अध्ययनका लागि सहयोग गर्ने योजनामा छु।’


 

More form the Internet

loading...