Suvadin, Home
Nepal life 2.601M

२०१७–१८ मेरो लागि विशेषः मोड्रिच

लियोनल मेस्सी र किस्टियानो रोनाल्डोको युगको अन्त्य गर्दै एक दशक पछि मोड्रिच  ब्यालोन डी’ओर जित्ने पहिलो खेलाडी बनेका हुन्।

काठमाडौं, १८ मंसिर – क्रोएशियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले २०१८ को ब्यालोन डी’ओर अवार्ड जितेका छन्। लियोनल मेस्सी र किस्टियानो रोनाल्डोको युगको अन्त्य गर्दै एक दशक पछि मोड्रिच  ब्यालोन डी’ओर जित्ने पहिलो खेलाडी बनेका हुन्।

सोमबार राति पेरिसमा भएको कार्यक्रममा मोड्रिचलार्इ यस उपाधिको दावेदारको रुपमा हेरिएको थियो। मोड्रिचले मेस्सी र रोनाल्डोको चुनौती पन्छाउँदै उपाधि हात पारेका हुन्। विश्वकप विजेता फ्रान्सका खेलाडीहरु पनि उपाधिको दावेदारका रुपमा रहेका थिए। २००७ मा ब्राजिल र एसी मिलानका काका पछि मेस्सी र रोनाल्डो मात्र एक दशकसम्म ब्यालोन डी’ओर को उपाधि जित्दै अाएका छन्। 

रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग जिताउन र रुस विश्वकपमा क्रोएशियालाई उपविजेता बनाउन उनले मुख्य भूमिका खेलेका थिए। ३३ वर्षीय मोड्रीचले गत वर्ष क्लब फुटबलमा पनि प्रचुर सफलता हात पारे। उनी रूस विश्वकपमा गोल्डन बल उपाधि हासिल गरेका थिए। त्यस्तै उनले फिफा वर्ष खेलाडी अवार्ड समेत यसै वर्ष जितेका छन्। ब्यालन डी’ओरसँगै उनले यस वर्ष ३ व्यक्तिगत उपाधि जितेका छन्।

युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोइन ग्रिजमन तेस्रो स्थानमा रहे। पेरिस सेन्ट जर्मनका युवा स्टार किलियन एमबाप्पेले चौथो स्थान हासिल गर्दै उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिएको कोपा ट्रफी हात पारेका छन्।

बार्सिलोना कप्तान लियोनेल मेस्सी पाँचौ स्थानमा समेटिएका छन् भने मोहमद सलाहले छैटौं स्थान हासिल गरे। सातौंमा राफेल भाराने र अाठौंमा इडेन हाजार्ड रहेका छन्। केभिन डि ब्रुएन नवौं र ह्यारी केनले दशौं स्थान हासिल गरे। नेयमार शीर्ष दशमा पनि नपर्दा १२ अौं स्थानमा रहे। रोनाल्डोले र मेस्सीको रुस विश्वकपमा फितलो प्रदर्शनले गर्दा ब्यालोन डी’ओर को प्रतिस्पर्धामा पछाडी परे। विश्वकपको प्रदर्शन उपाधिको छिनोफानो गर्न निकै महत्त्वपूर्ण कडी सावित हुँदै आएको छ।

फ्रान्सेली टोलीबाट पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलियन एमबाप्पे, एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मन, रियलका राफेल भारानसँगै प्रिमियर लिगमा खेल्दै आएका ह्युगो लोरिस, पल पोग्बा र एनगोलो कान्टे रहेका छन्। पछिल्लोपटक उपाधि जित्ने फ्रान्सेली खेलाडीमा जिनेदिन जिदान रहेका छन्। उनले सन् १९९८ मा फ्रान्सलाई घरेलु मैदानमा विश्वकप उपाधि दिलाएपछि सो उपाधि हात पारेका थिए।

मोड्रिचले १० वर्षसम्म उपाधिका दावेदार सम्पूर्ण खेलाडीहरूलार्इ अवार्ड समर्पित गरेका छन्। उनले भने 'हुन सक्छ केही खेलाडीहरू जावी, एन्ड्रेस इनेस्टा, वेस्ली छन् जसले विगतमा यस उपाधि हासिल गर्न योग्य थिए। यो उपाधि त्यी सबै खेलाडीका लागि समर्पित गर्दछु जो योग्य थिए तर उपाधि जित्न सकेनन्। मेरो भावनाहरू शब्दमा बयान गर्न निकै कठिन छ। यो मेरो लागि अनाैठोसँगै विशेष पनि छ।'

मोड्रिचले मेस्सी र रोनाल्डो अद्भुतपूर्व खेलाडी रहेको बताए। मोड्रिचले भने, 'यो उपाधि जित्नु भनेको मैले यस वर्ष मैदानमा केही विशेष गरेको हुनुपर्छ। त्यसैले २०१७–१८ मेरो लागि विशेष वर्ष भयो।' त्यस्तै यस वर्षबाट प्रदान गरिएको महिला ब्यालोन डी'अोर को उपाधि लियोनकी खेलाडी अदा हिगरवर्गले हासिल गरेकी छिन्। उनी ब्यालोन डी अोरको उपाधिबाट सम्मानित हुने पहिलो महिला खेलाडी हुन्।


 


 

More form the Internet

loading...