Suvadin, Home

विश्वकप खेलेका दुई टोली कीर्तिपुरमा

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत फागुन २८ र ३० गते कीर्तिपुरमा नेपालले केन्याको सामना गर्दैछ। विश्वकपको सेमिफाइनलमा पुगिसकेको केन्या पनि अन्तर्राष्ट्रिय क्रिकेटमा ओरालो लाग्दै डिभिजन २ मा झरेको हो।
नेपाल र केन्याबीच यसअघि भएकाे खेलमा ब्याटिङ गर्दै कप्तान पारस खड्का। तस्बिर: खुला स्राेत, इन्टरनेट।

काठमाडौं, फागुन २६ - सन् २०११ मा मुख्य प्रशिक्षकको जिम्मेवारीमा पुबुदु दासानायके नियुक्त भएपछि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीको प्रदर्शन उकालो लागेको हो। उनकै प्रशिक्षण कालमा नेपालले सन् २०१४ को आईसीसी वल्र्ड ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्यो। बंगलादेशमा भएको उक्त ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागिताकाको अवसर पाउनु नेपाली खेलकुदकै आजसम्मको सबैभन्दा ठूलो अनि गर्विलो अनुभूति हो।

नेपाल आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा डिभिजन ५ हुँदै हाल डिभिजन २ मा छ। विश्वकप खेलिसकेपछि नेपालले आईसीसीबाट ट्वान्टी–ट्वान्टी क्रिकेटको मान्यता पनि पाएको हो। तर, व्यवस्थापकीय कमजोरीका कारण टिमको प्रदर्शन खस्किँदै जाँदा नेपालले उक्त मान्यता जोगाउन सकेन।   

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत फागुन २८ र ३० गते कीर्तिपुरमा नेपालले केन्याको सामना गर्दैछ। विश्वकपको सेमिफाइनलमा पुगिसकेको केन्या पनि अन्तर्राष्ट्रिय क्रिकेटमा ओरालो लाग्दै डिभिजन २ मा झरेको हो।

सन् १९९६ मा भएको विश्वकप दक्षिण एसियाका राष्ट्रहरु भारत, पाकिस्तान र श्रीलंकाले संयुक्त आयोजना गरेका थिए। जुन विश्वकपमा केन्याले पहिलोपटक सहभागिता जनाएको थियो। सोही विश्वकपमा त्यसवेलाका हस्तीहरू ब्रायन लारा, रिची रिचर्डसनजस्ता खेलाडीहरू समावेश भएको वेस्ट इन्डिजलाई ७३ ले पराजित गर्दै केन्याले विश्व क्रिकेटमा हलचल ल्याइदियो।

केन्या १९९७ मा दोस्रो पटक र २००३ को विश्वकपमा तेस्रोपटक विश्वकप खेलेको टोली हो। सन् २००३ को विश्वकपमा केन्या पहिलोपटक विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो। २००३ देखि २००५ को अवधिमा केन्याले टेस्ट खेल्ने राष्ट्रसँग पाँच वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल पनि खेलेको छ। त्यस्तै, २००७ र २०११ को विश्वकपमा छनोट भएपछि उसको ओलारो यात्रा सुरू भएको हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा केन्या नेपालभन्दा निकै अनुभवी टोली हो तर डिभिजन २ मा रहेका कारण अहिले दुबै टोली समान हैसियतका छन्। विश्व क्रिकेट वरियतामा केन्या १७ र नेपाल १८ औं स्थानमा छ।

घरेलु फितलो व्यवस्थापनको परिणामस्वरुप विश्व क्रिकेटमा खस्किएका नेपाल र केन्या कीर्तिपुरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि शनिबार र सोमबार प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा केन्या पाँचौं र नेपाल छैठाैं स्थानमा छ। आठ राष्ट्र सहभागी च्याम्पियनसिपका शीर्ष चार टोलीले विश्वकप छनोटमा सोझै प्रवेश पाउनेछन्। दुबै खेल जितेमा मात्र नेपाल र केन्यामध्ये एक राष्ट्रको शीर्ष चारमा रहने सम्भावना जीवित रहने छ। त्यसैले, छनौट हुँदै विश्वकपको ढोका खोल्न नेपाल र केन्या दुबैलाई जित अपरिहार्य छ।

हेड टु हेड

नेपाल र केन्या यसअघि सन् २०१५ मा भएको आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा आमनेसामने भएका छन्। केन्याविरुद्ध दुई खेल खेलेको नेपालका लागि उसँगको प्रतिस्पर्धा सुखद रहेन। पहिलो खेलमा ५ विकेटले पराजित नेपाल दोस्रो खेलमा १५ रनको झिनो अन्तरले पराजित भएको थियो।

समग्र प्रतियोगिताको सबैभन्दा बढी रन स्कोर गर्ने सूचीमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल २ सय ३६ रनका साथ तेस्रो तथा उत्कृष्ट पाँच बलरमा सोमपाल कामी ११ विकेटका साथ पाँचौं स्थानमा थिए।


 

More form the Internet

loading...