Suvadin, Home

मेस्सीलाई राष्ट्रिय टोलीमा नफर्किन म्यारोडोनाको सुझाव

‘म मेसीलाई के भन्न चाहन्छु भने फेरि फर्केर राष्ट्रिय टोलीमा नजाउ। सन्यास घोषणा गर। यू-१५ मा पराजित हुँदा पनि त्यो मेस्सीकै गल्तिका कारण हुन्छ। जो जहाँ पराजित भएपनि त्यसको दोष सबै उनीमाथि जान्छ। त्यसैले म भन्छु। अब फर्केर नजाउ।‘
लियोनेल मेस्सी

काठमाडाैं, १६ असोज – अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु उचित हुने बताएका छन्। यसै वर्ष रूसमा सम्पन्न विश्व कपपश्चात बार्सिलोनाका स्टार मेस्सीले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन्।

अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै अर्जेन्टिना विश्व कपबाट बाहिरिएको थियो। मेस्सीले विश्व कपमा १ गोल मात्र गर्न सकेका थिए। त्यहि कमजोर प्रदर्शनका कारण प्रशिक्षक जोर्जे साम्पोलीले पद त्याग्नु परेको थियो  अर्को तिर मेस्सीले पनि तत्कालका लागि राष्ट्रिय टोलीमा नरहने निर्णय लिएका थिए।

विश्वकपपछि मेस्सीले सेप्टेम्बरमा ग्वाटेमाला र कोलम्बियासँगको मैत्रीपूर्ण खेल खेलेनन्। सन् २०१६ मा सन्यास घोषणा गरेका ३१ वर्षे मेस्सीलाई फेरि सन्यास लिन सुझाव दिएका छन्। त्यति बेला समर्थकहरुको चर्को दबाबपछि मेस्सीले सन्यास फिता लिएका थिए।

मेक्सिकन क्लब डोराडोसका प्रशिक्षक म्यरोडोनाले भने, ‘म मेसीलाई के भन्न चाहन्छु भने फेरि फर्केर राष्ट्रिय टोलीमा नजाउ। सन्यास घोषणा गर। यू-१५ मा पराजित हुँदा पनि त्यो मेस्सीकै गल्तिका कारण हुन्छ। जो जहाँ पराजित भएपनि त्यसको दोष सबै उनीमाथि जान्छ। त्यसैले म भन्छु। अब फर्केर नजाउ।‘

म्याराडोनाले यसै सिजन मात्र मेक्सिकन टोलीको जिम्मेवारी सम्हालेका हुन्। उनले यसअघि सन् २०१० को विश्वकपमा पनि टोलीको प्रशिक्षकत्व सम्हालेका थिए। त्यसबेला अर्जेन्टिनालाई जर्मनीले हराउँदै विश्वकपबाट बिदा गरेको थियो।


 

More form the Internet

loading...