Suvadin, Home

विश्‍वकप क्रिकेट : अफगानिस्तामाथि इङ्ल्यान्डको शानदार 

एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डका कप्तान इयान मोर्गनले नयाँ कीर्तिमान बनाएको खेलमा इङ्ल्यान्डले शानदार जित निकालेको छ । 

आईसीसी एकदिवसीय विश्वकपको हालसम्मकै सवार्धिक ३९७ रन बनाएको इङ्ल्यान्डले अफगानिस्तानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । इङ्ल्यान्डले दिएको ३९८ रनको विशाल लक्ष्य पछएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै मात्र २४७ रन बनायो । 

अफगानिस्तानका लागि हाश्मतुल्लाह शहिदीले अर्धशतकीय पारी खेले । १०० बल खेलेका उनले ५ चौका र २ छक्काको सहयोगमा ७६ रन पूरा गरे । त्यस्तै रहमत शाहले ४६ रन जोड्दा अस्घर अफगान ४४, कप्तान गुल्बदीन नइब ३७ र नजिब जद्रानले १४ रनको योगदान गरे । 

बलिङतर्फ इङ्ल्यान्डका लागि आदील रशिद र जोफ्रा आर्चरले समान तीन–तीन विकेट लिए । त्यस्तै मार्क वुडले दुई विकेट लिए । यसअघि म्यान्चेस्टरमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३९७ रन तयार पारेको थियो । इङ्ल्यान्डका लागि कप्तान इयान मोर्गानले शानदार शतकीय पारी खेले । ७१ बल खेलका उनले ४ चौका र १७ छक्काको सहयोगमा १४८ रन पूरा गरे ।

उनी एकदिवसीय क्रिकेटमा एकै खेलमा १७ वटा छक्का बनाउने पहिलो खेलाडीको रुपमा नयाँ र्कीतिमान बनाउन सफल भएका हुन् । 

त्यस्तै जोन्नी बेयरेस्टो र जोय रुटले अर्धशतकीय पारी खेले । बल ९९ बल खेलेका बेयरेस्टोले ८ चौका र ३ छक्काको सहयोगमा ९० रन बनाए । ८२ बल खेलेका रुटले ५ चौका र १ छक्काको सहयोगमा ८८ रन बनाए ।

इङ्ल्यान्डका लागि मोइन अलीले ३१ रन बनाउँदा जेम्स भिन्सले २६ रनको योगदान गरे । बलिङतर्फ अफगानिस्तानका लागि गुल्बदीन नइब र दवलत जद्रानले समान तीन–तीन विकेट लिए ।


 

More form the Internet

loading...