Suvadin, Home

ईपीएल क्रिकेटको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

त्रिभुवन विश्वविद्यालयको मैदानमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टिम सहभागी छन्। उद्घाटन खेलमा काठमाडौं किङ्स इलाभेन र ललितपुर पेट्रियट्सबीच प्रतिष्पर्धा हुँदैछ। किङ्स इलाभेनको नेतृत्व सोमपाल कामी र पेट्रियट्सको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन्।

काठमाडौं, ३ पुस – नेपालमा सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ईपीएल आजबाट कीर्तिपुरमा सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयको मैदानमा राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ टिम सहभागी छन्।

उद्घाटन खेलमा काठमाडौं किङ्स इलाभेन र ललितपुर पेट्रियट्सबीच प्रतिष्पर्धा हुँदैछ। किङ्स इलाभेनको नेतृत्व सोमपाल कामी र पेट्रियट्सको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन्।

यस्तै पारस खड्काको कप्तानीमा विराटनगर वारियर्स, शक्ती गौचनको कप्तानीमा पोखरा राइनोज, शरद भेषावकरको कप्तानीमा भैरहवा ग्लाडियटर्स र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा चितवन टाइगरले पनि प्रतियोगितामा भाग लिएका छन्।

लिग चरणमा प्रत्येक टिमले एकआपसमा खेल्नेछन्। लिगमा शीर्ष हुने दुई टिमबीच पहिलो क्वालिफायर हुनेछ। जीत हात पार्ने टिम फाइनलमा पुग्नेछ। हार्ने टिमले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ।

प्रतियोगिताको विजेताले २१ लाख नगद पुरस्कार पाउने छ। टिममा १५ जना खेलाडी हुने र सबै टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था मिलाइएको छ। जसमध्ये नेपालका १० जना खेलाडीको अक्सन खेलाडी किनबेच मार्फत छानिएको थियो। विनोद भण्डारी, आरिफ शेख, सन्दिप लामिछाने र करण केसी सर्वाधिक रकममा बिकेका थिए।

खेल हेर्नका लागि साधारण दर्शकलाई टिकट शुल्क १०० रुपैयाँ राखिएको छ। विद्यार्थीहरुले ५० प्रतिशत छुट पाउने छन्।

प्रतियोगितामा मनोरञ्जनात्मक कार्यक्रम पनि हुने छ। थर्ड अम्पाएर, चियर्स लिडर र उत्कृष्ट साउन्ड सिस्टमको व्यवस्था गरिएको आयोजकले जनाएको छ। मैदानलाई आकर्षक रुपमा सजाइएको छ। खेलाडी, भीभीआईपी, भीआईपी र सञ्चारकर्मीका लागि पनि विशेष व्यवस्था गरिएको छ।


 

More form the Internet

loading...