Suvadin, Home

कर्णालीका ‘हिराे’ हरि

३० को दशकमा उमेरले पहिलो दशक छोएका बेला पहिलो पटक राजा वीरेन्द्रको जन्मदिनमा स्कुलले गरेको दौड प्रतियोगितामा भाग लिएको उनी सम्झन्छन्। त्यसपछि उनको धावन यात्राले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएको छ।
हरि रोकाया।

काठमाडाैं, वैशाख २ - संसारमा छिटो दौडिने प्राणीहरुमध्येको एक हो, घोडा। नेपालको सन्दर्भमा पाहाडी तथा हिमाली भू-भागमा दैनिक उपभाेग्य सामान ओसारपसार का लागि अझै पनि घोडाको प्रयोग हुन्छ। त्यहाँ हुने समथर मैदान तथा पाटनहरुमा घोडाहरु चर्न जान्छन् र दौडिन्छन्। चार दशकहरु दौडमा उत्प्रेरित गर्नु पछाडिको कारण कर्णालीका हिउँचितुवाका नामले परिचित विश्व किर्तिमानधारी धावक हरिबहादुर रोकायाका लागि घोडा प्रमुख रह्यो।

‘बाल्यवस्थामा घोडाहरु चरेको देखेपछि उसका नजिक जाने र उसमाथि चढ्ने रहर हुन्थ्यो,’ रोकाया सम्झन्छन्, ‘घोडाको नजिक जादा उ तर्सिएर भाग्थ्यो र म उसलाई समात्न उसका पछि कुद्थें।’ जुम्लाका राजसिम छिनालाग्ना, तथा चिमारा लेकमा घोडाहरु ल्याउन लैजाने क्रममा उनी पनि घोडासँगै दौडिएको सम्झन्छन्।

त्योसँगै उनी सानो छँदा उनका बुवा लेकमा बस्ने गर्दथे। बुवालाई सामानहरु पुर्याइदिन तथा लेकबाट सामानहरु ल्याउन उनी घरबाट डेढ दुई घण्टा लाग्ने लेकमा जान्थे। ‘त्यो समय त अन्यलाई हो,’ उनी भन्छन्, ‘मैले प्रायः ४५ मिनेट मै त्यो बाटो छिचोल्थें।’ 

संसारकै सबैभन्दा अग्लो ठाँउमा हुने एभरेष्ट म्याराथन विश्वको प्रसिद्ध म्याराथनमध्येको एक हो। सगरमाथाको आधार शिविर (५१८४ मिटर उचाइ) बाट सुरु भई ३४४६ मिटरको नाम्चे बजार सम्मको एभरेस्ट म्याराथनमा सहभागिताको क्रममा सन् २००० मा राखेको ३ घन्टा ५० मिनेट २३ सेकेन्डको कीर्तिमान गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा उल्लेख छ।

सन् २००० मा विश्व कीर्तिमान राखे पनि उनले छ पटक एभरेष्ट म्याराथनमा सहभागिता जनाएका छन्। जसमा सन् १९९७, १९९९ र २००० गरि उनले तीन पटक उपाधि उचालेका थिए।

एभरेष्ट म्याराथुनको तीनपटक उपाधी उचाल्दै ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी हुन्। प्रतियोगितामा उनी पहिलो पटक सन् १९९३ मा सहभागी भएका थिए। जसमा उनी दोस्रो भएका थिए। लगातार तीन पटक उपाधि उचालिसकेको भए पनि सन् २००२ मा भने सोही म्याराथनमा ईन्ट्री शुल्क तिर्न नसकेका कारण उनले सहभागिता जनाउन सकेनन्।

३० को दशकमा उमेरले पहिलो दशक छोएका बेला पहिलो पटक राजा वीरेन्द्रको जन्मदिनमा स्कुलले गरेको दौड प्रतियोगितामा भाग लिएको उनी सम्झन्छन्। त्यसपछि उनको धावन यात्राले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चा पाएको छ।

‘मैले हालसम्म १३ राष्ट्रिय तथा ३१ वटा अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाएको छु,’ सक्रिय खेलजिवनबाट विश्राम लिइसकेका ५१ वर्षीय रोकायाले भने, ‘सन् २०१० मा सिंगापुरमा सम्पन्न युथ ओलम्पिक खेलकुदबाट प्रशिक्षकको भूमिका निभाउँदै आएको छु।’ 

१३ राष्ट्रिय प्रतियोगितामध्ये नौ वटामा रोकायाले उपाधि उचालेका छन्। सन् १९८५ मा इन्डोनेसियाको जकार्तामा एसियन ट्रयाक एन्ड फिल्डको ५ किमि दौडमा सहभागिता जनाएदेखि उनको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको थियो। जसमा उनी दसौं भएका थिए। उनको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। त्यस्तै, सन् १९८९ मा थाइल्यान्डमा सम्पन्न १६ औं अन्तरक्लब म्याराथनको उनले उपाधि उचालेका थिए। 

हाल, उनी जुम्लामा ‘कर्णाली स्पोर्ट्स क्लब’ स्थापना गरेर आफूजस्तै खेलाडीहरु उत्पादन गर्ने तरखर छन्। उनको क्लबमा दुई दर्जन बढी खेलाडीहरू रहेका छन्। नेपाली एथ्लेटिक्सकी प्रतिभावान धाविका विश्वरूपा बुढा उनकै प्रशिक्षणमा हुर्किएकी हुन्। उनले छैठाैं राष्ट्रिय खेलकुदमा उनले स्वर्ण पनि जितेकी थिइन्। 

उनको अबको सपना जुम्लामा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना गर्नु छ। ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टरले जुम्लाको पहिचानलाई फराकिलो बनाउने छ,’ उनले भने, ‘यसका साथै, स्वदेशी तथा विदेशी खेलाडीहरुलाई पनि प्रशिक्षण दिइनेछ। यसले यहाँको आर्थिक उन्नति समेत हुनेमा उनी विश्वस्त छन्।’ 


 

More form the Internet

loading...