Suvadin, Home
Nepal life 1.375M

तेस्रो रमपम झापा गोल्डकप फुटबल
नेपाल पुलिस क्लबलार्इ पराजित गर्दै नेपाल आर्मी सेमिफाइनलमा

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको गोल्डकपको आर्मीले नेपाल पुलिस क्लबलाई १−० गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो। खेलको ४३औं मिनेटमा पुलिसका डिफेन्डर अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई डि एरिया नजिकै फल गरेका थिए। त्यसपछि पाएको फ्रिकिकलाई आर्मीका कार्कीले पोष्टको दिशा दिएका थिए।

देबु बानियाँ, बिर्तामोड, फागुन २४ – जर्ज प्रिन्स कार्कीको फ्रिकिक गोलको मद्दतले त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेको छ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको गोल्डकपको आर्मीले नेपाल पुलिस क्लबलाई १−० गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो।

खेलको ४३औं मिनेटमा पुलिसका डिफेन्डर अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई डि एरिया नजिकै फल गरेका थिए। त्यसपछि पाएको फ्रिकिकलाई आर्मीका कार्कीले पोष्टको दिशा दिएका थिए।

कार्कीले पोष्टको देब्रे बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो। त्यही एकमात्र गोलको मद्दतले त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो। सेमीफाइनलमा आर्मीले डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिष्पर्धा गर्नेछ।

खेल अवधिभर पुलिसले आर्मीलाई दवावमा राखेको थियो। यद्यपि, आक्रमण फितलो बन्दा पुलिसका लागि स्कोर हुन सकेको थिएन। खेलको १४औं मिनेटमा पुलिसका कप्तान भरत खवासले गरेको हेड गोल रक्षक शत्रुघन चौधरीले पञ्च गरेर फर्काए। त्यस्तै खेलको १८औं मिनेटमा पुलिसका दिनेश राजवंशीले बल फितलो हुँदा आर्मीका गोलकिपर विकेश कुथूले सहजै रोकेका थिए।

२७औँ मिनेटमा आर्मीका निरकुमार राईले प्रहार पोष्टको केही माथिबाट बाहिरिएको थियो। ३०औं मिनेटमा पुलिसका रेजिन सुब्बाको हेड पनि बाहिरिएको थियो। ५९औं मिनेटमा पुलिसले डिएरिया बाहिरबाट पाएको फ्रिकिक आर्मीका डिफेन्सले गोललाइनबाट बचाएका थिए। ६५औं मिनेटमा भरत खवासको क्रस पासमा जर्ज प्रिन्स कार्कीले गरेको हेड पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएका थिए।

८२औं मिनेटमा अजित भण्डारीले गरेको हेडबल विकेश कुथूले बचाएका थिए। लगत्तै पुलिसको अर्को प्रहार पनि विकेशले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो। खेलको अतिरिक्त समयमा पदम तामाङले पाएको अवसर गुमाउँदा आर्मी गोलअन्तर बढाउन चुकेको थियो।

खेलको म्यान अफ द म्याच आर्मीका गोलकर्ता जर्ज प्रिन्स कार्की घोषित भए। उनले नगद २५ हजार रुपैंयाँ पुरस्कार पाए। सो पुरस्कार शैक्षिक परामर्शदाता संस्था ओली एण्ड एसोसियट्सले उपलब्ध गराएको हो। शुक्रबारको खेल रमपम झापा ११ र थ्री स्टार क्लबबीच हुने आयोजकले जनाएको छ।  

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै बिजेता टीम आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्ना केही खेलाडी घाइते भएका कारण अपेक्षित खेल पस्कन नसकेको बताए। 'खेलमा जीत निकाल्नु महत्वपुर्ण हुन्छ, पुलिससँगको जीत हाम्रा लागि सहज हो,' उनले भने।

पराजित टीम पुलिसका प्रशिक्षक अनन्त थापाले पुलिसले नयाँ टीम बनाउँदै गएको हुनाले आजको प्रदर्शनमा अनुभवको कमी देखिएको बताएका छन्। खेलाडीले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको उनको भनाइ थियो।

यसैबीच, गोल्डकपका संस्थापक सदस्य फुर्वा लामा र अन्तर्राष्ट्रिय झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दिनेश पोखरेलको पहलमा गोल्डकपको दोस्रो पुरस्कार स्पोन्सर गरिने भएको छ। गोल्डकप विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले छ लाख पाउनेछ।


 

More form the Internet

loading...