Suvadin, Home
Citizen Bank 440.4k

Cover Image

म्याराथुन धावक मानान्धरलाई भीमदत्तमा स्वागत

प्रतियोगितामा खेलाडी बाहेक १० हजार भन्दा बढी स्थानीयलाई सहभागी गराइने समितिका संयोजक धामीले बताए। म्याराथुन मार्च अन्तरगत छात्र छात्राका लागि ५ किलोमिटर दौड, पुरुष हाफ म्याराथुन, महिला खुला म्याराथुन र महिला पुरुष खुला म्याराथुन दौड प्रतियोगिता आयोजना हुनेछ।

महेन्द्रनगर, १२ पुस – म्याराथुन धावक बैकुण्ठ मानान्धर महेन्द्रनगर पुगेका छन्। जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन मार्चमा सहभागी हुन मानान्धर बिहीबार महेन्द्रनगर आएका हुन्। 

धावक मानान्धरलाई भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप–प्रमुख सुशिला चन्द सिंह र म्याराथुन मार्च तयारी मूल आयोजक समितिका संयोजक सामाजिक विकास समितिका सभापति हरक सिंह धामीले खादा ओढाएर सम्मान र स्वागत गरेका छन्।

नगर प्रमुख उप प्रमुख सहितले स्वागत र सम्मानपछि मानान्धरले म्याराथुन मार्चले खेलकूदको विकास हुने बताए। ‘खेलकूद क्षेत्रको विकास हुन्छ, यसले खेलकूद अघि बढ्न मद्दत गर्छ’ धावक मानान्धरले भने। चार दशक अघि महेन्द्रनगर आएका धावक दोस्रो पटक आएका हुन्। ‘म ३५–३६ वर्ष अघि आएको थिए, अहिले फेरि आएको छु’ उनले भने,‘भीमदत्तले यति ठूलो प्रतियोगिता आयोजना गरी आमन्त्रण गरेकामा धन्यवाद दिन चाहन्छौ।’

उनले पुस १५ गते आयोजना हुने म्याराथुन मार्चमा सहभागी हुन सबै बासिन्दालाई आग्रह गरेका छन्। चार पटकका स्वर्ण विजेता धावक मानान्धरलाई नेपाली एथ्लेटिक्सका महापुरुष तथा दक्षिण एसियाली खेलकूदका किर्तिमानी खेलडीका रुपमा चिनिन्छन्।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले स्वागत गर्दै धावक मानान्धरको सहभागिताले म्थाराथुन मार्चको गरिमा बढेको बताए। ‘म्याराथुन मार्च खेल र पर्यटन एक आपशमा जोडिएका छन्, यसमा सहभागिताका लागि खेल क्षेत्रका हस्ति महापुरुष बैकुण्ठ मानान्धर नगरपालिकाको आग्रहलाई स्वीकार गरी आउनु भएको छ, यसका लागि उहाँलाई स्वागत गर्दछौ’ उनले भने,‘उहाँको उपस्थितिले म्याराथुन मार्चको गरिममाय बढेको छ।’

म्याराथुन मार्चमा धावक मानान्धर विशिष्ठ अतिथिका रुपमा रहने छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबाट प्रतियोगिता उद्घाटन गराउने तयारी गरिएको छ। भीमदत्त नगरपालिकाले रौटेलादेखि ब्रह्मदेबसम्म २२ मिटर चौडा जैविक धार्मिक पर्यटन मार्ग बनाएको छ। नगरपालिकाले पहिलो पटक खेलकूद क्षेत्रको विकासका लागि सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी म्याराथुन मार्च आयोजना गर्न लागेको हो। 

प्रतियोगिता तयारीका लागि सामाजिक विकास समितिका सभापति धामीको संयोजकत्वमा २ सय ५१ सदस्यीय तयारी समिति गठन गरिएको छ। यसैगरी प्रचार प्रसार सहितका १० उप समिति गठन गरिएका छन्। मूल समितिमा नगर प्रमुख विष्ट संरक्षक र उप नगर प्रमुख चन्द सह संरक्षक छन्।

प्रतियोगितामा खेलाडी बाहेक १० हजार भन्दा बढी स्थानीयलाई सहभागी गराइने समितिका संयोजक धामीले बताए। म्याराथुन मार्च अन्तरगत छात्र छात्राका लागि ५ किलोमिटर दौड, पुरुष हाफ म्याराथुन, महिला खुला म्याराथुन र महिला पुरुष खुला म्याराथुन दौड प्रतियोगिता आयोजना हुनेछ।

छात्र छात्रा दौड प्रतियोगितामा एक विद्यालयबाट ५ छात्र र ५ छात्रा गरी १० विद्यार्थीले भाग लिन पाउने छन्।प्रतियोगिताका प्रथम, द्वितीय, तृतीयदेखि छैठौ स्थानसम्मका सहभागीलाई नगद पुरस्कार सहित पदक र प्रमाण दिने व्यवस्था गरिएको छ। यसमा पहिलोलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार, चौथोलाई तीन हजार, पाँचौलाई १ हजार ५ सय र छैठौलाई १ हजार नगद पुरस्कार राखिएको छ। दौड सुरु हुने स्थान नयाँ तिलकपुरस्थित बैजनाथ माध्यमिक विद्यालय तोकिएको छ।

महिलाहरुका लागि खुला १० किलोमिटर म्याराथुन प्रतियोगिता राखिएको छ। बैजनाथ माविबाट सुरु हुने दौडका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगद पुरस्कार तथा पदक र प्रमाण दिइनेछ।

प्रतियोगिता अन्तरगत सबैभन्दा बढी पुरस्कारको पुरुष खुला हाफ म्याराथुन दौड प्रतियोगिता छ। यो दौडमा प्रथम हुनेलाई ३० हजार, द्वितीय २० हजार र तृतीयले १० हजार नगद पुरस्कार सहित पदक र प्रमाण पत्र पाउने छन्। महेन्द्रनगर बजारको खुला मञ्चबाट सुरु हुने दौड २१ किलोमिटरको हुनेछ।


 

More form the Internet

loading...