आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप
हङकङद्वारा नेपालसामू एक सय ९५ रनको लक्ष्य प्रस्तुत
काठमाडाैं, असाेज २७–आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत शुक्रबारको खेलमा नेपालले एक सय ९५ रनको लक्ष्य पाएको छ। छैटौं चरणको पहिलो खेलमा हङकङले नेपाललाई उक्त लक्ष्य दिएको हो।
मिशन रोड ग्राउण्ड मोङ ककमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ५० ओभरमा एक सय ९४ रनमा अलआउट भयो। नेपालका लागि सन्दिप लामिछानेले तीन, करण केसी र बसन्त रेग्मीले दुई–दुई तथा सुशान भारीले एक विकेट लिए।
हङकङका लागि जिमी एट्किनसनले सर्वाधिक ७८ रन बनाए। तर, उनलाई सुनसले एलबिडब्लुको धरापमा पारेका थिए। करणले हङकङका ओपनिङ ब्याट्सम्यान अंशुमान राथलाई शून्य रनमा आउट गरेका थिए। यस्तै कप्तान बाबर हायतलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रनआउट गरे।
नेपाल केही बेरमा ब्याटिङ थाल्नेछ।
शुक्रबार र आइतबार हुने दुई खेलले नेपालको आगामी यात्रा तय गर्नेछ। जित हात पारे तालिकाको शीर्ष चारमा पुगेर एक दिवसीय विश्वकप छनोट खेल्ने सम्भावना जीवित रहनेछ।
हारले नेपाल डिभिजन–२ मा झर्नेछ। यद्यपि डिभिजन–२ मा शीर्ष दुईभित्र पर्न सके एक दिवसीय विश्वकप खेल्ने विकल्प बाँकी नै रहनेछ। डब्लुसिएलको पाँचौं चरणको खेल सकिँदा नेपाल ८ अंक जोडेर छैटौं स्थामा छ।