Suvadin, Home

यी हुन् नेपाल विजेता बन्ने आधार
साफ च्याम्पियनसिप: उपाधिका लागि नेपाल र भारत भिड्दै 

Author's Commentary

साफ महिला च्याम्पियनसिपमा भारतको उपस्थिति बलियो छ। उसले अहिलेसम्म एक खेल पनि हारेको छैन।  तर केहि आधारलाई मान्ने हो भने यो पटक नेपाल विजेता बन्ने सम्भावना पनि त्यत्तिकै प्रबल देखिन्छ ।

Sb Saud |

विराटनगर, चैत्र ८ - पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज दिउँसो नेपाल र भारतबीच खेल हुँदैछ । खेल विराटनगरको सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । समूह ‘ए’ को विजेता नेपाल सेमिफाइनलमा श्रीलङ्का र समूह ‘बी’ को विजेता भारत बङ्गलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

भारतको वर्चश्व 

दक्षिण एसियाली राष्ट्रहरुको महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ महिला च्याम्पियनसिपमा भारतले एक छत्र राज गर्दै आएको छ। सन् २०१० मा बंगलादेशबाट सुरु भएको प्रतियोगिताको चार संस्करण सकिदा चारै पटक भारत च्याम्पियन बनेको थियो।

च्याम्पियनसिपमा भारतपछि सबैभन्दा सफल टिम नेपाल हो। नेपालले सुरुवाती तीन संस्करणमा फाइनलको यात्रा तय गरेको थियो। तीनै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो। सन् २०१६ मा भएको चौथो संस्करणमा भने नेपाल सेमिफाइनलमा पराजित भएको थियो। त्यतिबेला पनि नेपाललाई भारतले नै हराएको थियो।

पछिल्लो दुई खेलमा भने नेपालले हार बेहोरेको छैन। म्यानमारमा भएको ओलम्पिक्स छनोटमा नेपालले भारतलाई १-१ को बराबरीमा रोकेको थियो। यस्तै भारतमा भएको हिरो महिला गोल्डकपमा नेपालले भारतमाथि २(१ ले हराएको थियो। त्यो नै नेपालले भारतमाथि हात पारेको पहिलो जित हो। 

तर साफ महिला च्याम्पियनसिपमा भने भारतको उपस्थिति बलियो छ। उसले अहिलेसम्म एक खेल पनि हारेको छैन। 

सधैं भारत तगारो

सन् २०१० मा बंगलादेशमा भएको पहिलो महिला साफमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ६–०, अफगानिस्तानलाई १३–० र पाकिस्तानलाई १२–० ले हराएको थियो। सेमिफाइनलमा आयोजक बंगलादेशमाथि ३–०को जित निकाल्दै नेपाल फाइनलमा पुगेको थियो। तर फाइनलमा भारतसँग १–० ले पराजित हुँदा नेपाल उपाधिबाट विमुख बनेको थियो।

सन् २०१२ मा श्रीलंकामा भएको दोस्रो साफमा नेपालले समूह चरणमा पाकिस्तानलाई ८–०, माल्दिभ्सलाई ५–० र अफगानिस्तानलाई ७–१ ले हराएको थियो। साफमा भारतबाहेक नेपालविरुद्ध गोल गर्ने टिम अफगानिस्तान मात्र हो।

सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकामाथि ३–० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो। त्यतिबेला पनि नेपाल फाइनलमा भारतसँग ३–१ ले पराजित हुँदा उपविजेतामै सीमित बन्यो।

सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो साफमा नेपालले समूह चरणमा भुटानलाई ८–०, आयोजक पाकिस्तानलाई २–० र  श्रीलंकालाई ३–० ले पराजित गर्यो। सेमिफाइनलमा बंगलादेशमाथि १–० को जित निकालेर नेपाल लगातार तेस्रो पटक फाइनलमा पुग्यो। फाइनलमा भारतसँग ६–० को फराकिलो अन्तरको हार बेहोर्दा नेपालको लक्ष्य फेरि पूरा हुन सकेन।

सन् २०१६ को पछिल्लो साफ भारतमा आयोजना भएको थियो। समूह चरणमा नेपालले भुटानमाथि ६–० को जित निकालेर सानदार सुरुवात गर्यो। दोस्रो खेलमा माल्दिभ्सलाई ९–० र तेस्रो खेलमा श्रीलंकालाई १–० ले हराएर नेपाल सेमिफाइनलमा पुग्यो। त्यतिबेला सेमिफाइनलमा नेपाल र भारत भिडेका थिए। फेरि पनि नेपालको उपाधि यात्रामा भारत नै बाधक बन्यो। भारतसँग ३–१ ले पराजित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरियो। 

नेपाल वितेजा बन्ने आधार 

घरेलु मैदानमा खेल आयोजना भएकाले प्रतियोगिताको उपाधि जित्ने नेपाली टोलीका प्रशिक्षक हरि खड्काले बताएका छन्। नेपाली महिला फुटबल टिमकी कप्तान निरु थापाले प्रशिक्षणबाट नेपाली टोली खारिएकाले उपाधि उचाल्ने दाबी गरिन् ।  नेपालले समूह चरणमा भुटान र बंगलादेशलाई हराएको थियो । सेमिफाइनलमा श्रीलंकलाई ४-० ले हराएर नेपालले चौथो पटक फाइनलमा स्थान पक्का गरेको थियो । 

भारतीय प्रशिक्षक मयेमल रक्कीले नेपाल बलियो टिम भएकाले सोहीअनुरुप रणनीति तयार गर्ने बताएकी छिन्। उनले नयाँ स्थान र परिवेश रहे पनि प्रतियोगिताको विजेता भारत हुने दाबी गरे ।  भारतीय टोलीका कप्तान आशालता देवीले नेपाल उत्कृष्ट खेलाडीको समूह भएपनि बिनातनाव प्रतियोगितामा आफ्नो खेलाडीले प्रतिस्पर्धा गर्ने बताइन्। 

नेपाली टिम 

गोलकिपर– अन्जना रानामगर, उषा नाथ, एन्जिला थुम्बापो सुब्बा 
डिफेन्डर– हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पूजा राना, मनमाया लिम्बु 
मिडफिल्डर–  अनिता बस्नेत, दीपा राई, मन्जली कुमारी योन्जन, सर्मीला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी 
फरवार्ड( रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी

यसैबीच जारी पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेमा नेपाली खेलाडीले जनही २ लाख रुपैयाँ पाउने भएका छन् । 
शुक्रबार बिहान प्रदेश १ सरकारले खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख दिने निर्णय गरेको हो । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।


 


 

More form the Internet

loading...