Suvadin, Home
Nepal life 2.266M

ओलम्पिक छनोटमा नेपाल र भारत भिड्दै

महिला फुटबलको २०२० ओलम्पिक छनोट प्रतियोगिता अन्तर्गत अाज हुने समूह 'सी' को पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दैछ। खेल नेपाली समयानुसार दिनको २:१५ बजे शुरु हुनेछ।
नेपाली महिला राष्ट्रिय फुटबल टोली

काठमाडौं, २२ कात्तिक – महिला फुटबलको २०२० ओलम्पिक छनोट प्रतियोगिता अन्तर्गत अाज हुने समूह 'सी' को पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतको सामना गर्दैछ। खेल नेपाली समयानुसार दिनको २:१५ बजे शुरु हुनेछ।

नेपालसँगै समूह 'सी' मा आयोजक म्यानमार, भारत र बंगलादेश छन्। नेपालले बिहीबार भारतको सामना गरेपछि आइतबार म्यानमार र मंगलबार बंगलादेशको सामना गर्नेछ। नेपाली टोली प्रतियोगितामा सहभागिता जनाउन गत शुक्रबार नै प्रतियोगिता स्थल पुगेको थियो।

त्यसअघि नेपाली टोलीले चीनमा तीन मैत्रीपूर्ण खेल खेल्दै राम्रो तयारी गरेको थियो। चीनमा सहभागी टोलीबाट ५ खेलाडी स्वदेश फर्कदा यू-१९ टोलीका तीन खेलाडीलाई भने राष्ट्रिय टोलीमा समावेश गरिएको हो।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ। सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ। भिएतानाम र उज्जेकिस्तान वरियताका आधारमा दोस्रो चरणका लागि छनोट भैसकेका छन्।

हरेक समूहका शीर्ष टोली र अन्य दुई उत्कृष्ट दोस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन्। दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ। दोस्रो चरणमा छानिएको १२ टोलीलाई फेरि तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ।

दोस्रो चरण छनोटको प्रत्यक तीन समूहका शीर्ष टोली तेस्रो चरणमा प्रवेश गर्नेछन्। तेस्रो चरणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणका तीन विजेतासँगै अष्ट्रेलिया, चीन, थाइल्याण्ड, दक्षिण कोरिया र उत्तर कोरियाले तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन्।

दुई समूहका उत्कृष्ट दुई टोलीले चौथो चरणमा स्थान बनाउनेछन्। चौथो चरण प्रवेश गर्न सफल चार टोलीलाई दुई समूहमा विभाजन गरी होम एण्ड अवेको आधारमा प्रतिस्पर्धा गराइनेछ। जसबाट विजयी हुने दुई टिम ओलम्पिकका लागि छानिनेछन्।


 

More form the Internet

loading...