Suvadin, Home

संकटालाई १९ औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि

सिएमजी संकटा क्लबले १९औं तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको छ। बुटवलको एन्फा एकाडेमीमा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा  सिएमजी संकटाले विभागीय टोली नेपाल आर्मीलाई २–१ ले हराएर उपाधि चुमेको हो।
सिएमजी संकटा क्लबका खेलाडी ट्रफीका साथमा। तस्बिरः विकाश/शुभदिन

बुटवल, फागुन २१ – सिएमजी संकटा क्लबले १९औं तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको छ। बुटवलको एन्फा एकाडेमीमा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा  सिएमजी संकटाले विभागीय टोली नेपाल आर्मीलाई २–१ ले हराएर उपाधि चुमेको हो।

तिलोत्तमासँगै संकटाले यो वर्ष मात्रै ३ वटा गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ। संकटाको आर्मीसँग यो पाँचौ पटकको भेट हो। लगातार पाँचौ पटक संकटाले आर्मीलाई पराजित गरेकाे हाे।

यसअघि चार पटक संकटा र आर्मीबीच भएको खेलमा तीन पटक संकटाले आर्मीलाई हराएको थियो। उपाधि बिजेता संकटाले नगद पाँच लाख ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ।

उपविजेता बनेको नेपाल आर्मीले नगद तीन लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमणपत्र हात पारेको छ। विभागीय टिम नेपाल आर्मीका लागि खेलको ३०औं मिनेटमा दीप लामाको क्रस बललाई राजीव गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए।

एक गोलले पछि परेपछि दबाबमा रहेको संकटा पहिलो हाफको इञ्जुरी समयमा निराजन खड्काको गोलमार्फत १–१ को बराबरीमा पुगेको थियो। पहिलो हापमा एक–एकको बराबरी पछि खेलको ८५औं मिनेटमा पुनः संकटाका निराजनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए।

बाँकी समयमा कुनै पनि गोल भएन। एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै संकटाले १९औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि हात पारेको हो।

विजेता तथा उपविजेतालाई युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, जिल्ला फुटवल संघका अध्यक्ष दीर्घबहादुर केसी कुमारले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा बेष्ट प्लेयर अफ दि टुर्नामेन्टबाट अग्नि रुपन्देही–११ का टिम क्याप्टेन दिलीप क्षेत्री पुरस्कृत भए। उनले नगद १५ हजारसहित स्कुटर प्राप्त गरेका छन्।

त्यसैगरी, हाइस्कोरमा आर्मीका दीप लामा, बेष्ट डिफेन्समा हिरण्य मगर, बेष्ट प्रशिक्षकमा संकटाका सल्याङ खड्गी, बेष्ट गोल रक्षकमा संकटाकै विनय श्रेष्ठ, बेष्ट मिडफिल्डमा निराजन खड्का घोषित भए। उनीहरुले नगद १५–१५ हजार प्राप्त गरे।

सोही अवसरमा पूर्वखेलाडी दयाराम सापकोटा, नन्दा थापा, अशोक पुन र कालिकुमार बासफोटलाई सम्मान गरिएको थियो। संघका अध्यक्ष दीर्घबहादुर केसीले प्रतियोगितामा ६८ लाख आम्दानी, ५७ लाख खर्च र ११ लाख २२ हजार ७० रुपैया बचत भएको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए।


 

More form the Internet

loading...