Suvadin, Home

Cover Image

सात देशकाे सहभागिता रहने
एसियाली यु–१२ टिम टेनिस हुने

अखिल नेपाल लन टेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि हुने भएको छ। प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभागिता रहने आयोजक संघकी अध्यक्ष ज्योति राणाले जानकारी दिइन्।
यु–१२ टिम टेनिस बारे जानकारी दिँदै आयोजक।

काठमाडाैं, वैशाख २९ - अखिल नेपाल लन टेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि हुने भएको छ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभागिता रहने आयोजक संघकी अध्यक्ष ज्योति राणाले जानकारी दिइन्।

सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ। समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन्। फाइनल पुग्ने दुई राष्ट्र यसै वर्षको डिसेम्बरमा काजाकिस्तानमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपका लागि छनोट हुने आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी दिए। पुरुष र महिलामा समान २–२ राष्ट्र छनोट हुने प्रावधान छ ।

सहभागी सबै ७ राष्ट्रबाट समान ३–३ ब्वाइज र गल्र्स खेलाडी सहभागी हुनेछन्। टिम स्पर्धामा दुई सिंगल्स र एक डबल्स खेल खेलाइने अायाेजकले जनाएकाे छ। यस्तै, प्रकारको छनोट पश्चिम एसिया, मध्य एसिया, दक्षिण–पूर्वी एसिया र पूर्वी एसिया क्षेत्रमा पनि हुनेछ। १२ राष्ट्र सहभागी हुने पश्चिम एसिया तथा ६ राष्ट्र सम्मिलित मध्य एसियाली छनोटबाट समान २–२ राष्ट्र छानिने छन्। त्यस्तै, दक्षिण–पूर्वी र पूर्वी एसियाबाट समान ३–३ राष्ट्र छनोट हुने छन्। जसमा क्रमशः १० र ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

नेपालबाट ब्वाइजमा आर्यन गिरी, आरभसम्राट हाडा र अकी जुवेन राउत तथा गल्र्समा इशाश्री शाह, सर्भानी श्रेष्ठ र सुभाङ्गीलक्ष्मी शाहले प्रतिस्पर्धा गर्नेछन्। यसै महिनाको १० देखि १३ गतेसम्म सातदोबाटो आयोजना गरिएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको हो। नेपाली टोलीको ब्वाइज प्रशिक्षकमा कृष्णराज घले र गल्र्स प्रशिक्षकमा श्रीराम मगर रहने अायाेजकले जनाएकाे छ।

दक्षिण एसियाली छनोट सञ्चालन गर्न करिब २६ लाख खर्च हुने बताइएको छ। त्यसमध्ये अन्तर्राष्ट्रिय टेनिस महासंघले हामीलाई १८ हजार अमेरिकी डलर सहयोग उपलब्ध गराउने छ। सहभागी खेलाडीको खाना र आवासको व्यवस्था आयोजकले गर्नेछ। ६ दिने प्रतियोगिताका खेल सातदोबाटोस्थित टेनिस कोर्टमा हुनेछ।

लनटेनिस संघले ९ महिनाको अवधिमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको यो तेश्रोपटक हो। यो भन्दा अगाडि २०१६ को सेप्टेम्बरमा एएनएलटीए÷एसियाली र्याङकिङ यु–१४ टेनिस प्रतियोगिता तथा गत फेब्रुअरीमा नेपाल आईटीएफ यु–१८ जुनियर ग्रेड– ५ टेनिस प्रतियोगिता संघले आयोजना गरेको थियो।


 

More form the Internet

loading...