Suvadin, Home

स्पार्कले जगाएकाे अाशा

धनगढी क्रिकेट एकेडेमीले महात्वकांक्षी प्रतियोगिताहरूमा हात हाल्नु र कैलाली जिल्ला क्रिकेट एकेडेमी बजेट तथा आवश्यक पूर्वाधारको अभावका कारण प्रभावकारी नदेखिरहेका बेला सुरू भएको स्पार्क क्रिकेट एकेडेमीले  यस क्षेत्रको रूट लेभल क्रिकेट विकासमा आशा जगाएको छ।
धनगढीमा नवउद्घाटित स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र।

काठमाडौं, फागुन २ - क्रिकेटको सहर धनगढी क्रिकेटमय भएको धनगढी क्रिकेट एकेडेमी (डिसिए)को स्थापनापछि हो। धनगढी क्रिकेटका अभियन्ता सुवास शाहीसहितको टिमले २०७० सालमा स्थापना गरेको धनगढी क्रिकेट एकेडेमीको भूमिका त्यस क्षेत्रको क्रिकेट विकासमा अतुलनीय छ।

एकेडेमीले नेपाली क्रिकेटमा थुप्रै नौला प्रयासहरूमा देशकै सबैभन्दा लामो क्रिकेट लिग प्रतियोगिता, नियमित भारत लगायत श्रीलंकाजस्तो तेस्रो मुलुकको खेल भम्रण, स्थानीयस्तरमा अक्सन गरी धनगढी क्रिकेट लिग (डिसिएल)–३ को आयोजना सम्पन्न, नियमित क्रिकेट प्रशिक्षण, खेलमा व्यावसायिकता विकास गर्दै क्रिकेट संस्कृतिको प्रवद्र्धन गर्नु मुख्य हुन्।

सानो प्रयासबाट सुरू भएको डिसिएले चैत्र ५ गतेबाट नेपालमै पहिलोपटक राष्ट्रिय खेलाडीहरूको अक्सन गरी धनगढी प्रिमियर लिग (डिपिएल) आयोजना गर्ने भएको छ। देशकै सर्वाधिक पुरस्कार राशीको डिपिएल आयोजनामा व्यस्त डिसिएले भने ‘रूट लेभल’ क्रिकेटमा त्यति ध्यान दिन सकिरहेको छैन।

त्यस कुरालाई स्वीकार्दै डिसिएका अध्यक्ष शाही भन्छन्, ‘हाम्रा नियमित प्रशिक्षक अर्जुन खड्काको निधनपछि हामीले निकै प्रयासका बाबजुद पनि गतिलो प्रशिक्षक पाउन सकेका छैनौं। रूट लेभलबाटै क्रिकेट संस्कृति विकास हुनुपर्छ भनेर डिसिए सुरू गरेका हौं। यतिबेला डिपिएलको आयोजनाको चटारोले त्यो पाटो ओझेलमा परेको देखिन्छ।’

विश्वकप खेलिसकेको नेपाली क्रिकेटको धरातल कमजोर अवस्थामा छ। डिपिएलका लागि देशभरिबाट खेलिएको आवेदनमा जम्मा २ सय ६० जना खेलाडीहरूले फाराम दर्ता गरेका थिए। त्यसले विश्वकप खेलिसकेको नेपाली क्रिकेट खेलाडीको ‘ब्याकअप’ न्यून रहेको स्पष्ट पार्छ।

यही अवस्थालाई मध्यनजर राख्दै धनगढीका युवा पदम केसीले व्यक्तिगत पहलमा रूट लेभलबाटै गतिला खेलाडी उत्पादन गर्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छन्। ‘हामीले धनगढीको क्रिकेट माहौल अझै उचाइमा पुर्याउन तथा समग्र देशको क्रिकेटमा इँटा थप्ने हेतुले प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका हौं,’ केसीले भने।

आधारभूत संरचना निर्माणका लागि हाल आठ लाख बढी रूपैयाँ खर्च लागेको उनले बताए। ‘विस्तारै थप नयाँ प्रविधि र सुविधाहरू थप गर्दै लैजानेछांै।’ केसी आफैं पनि राष्ट्रिय खेलाडी हुन्। हाल एकेडेमीमा तत्काल आफैले प्रशिक्षण दिने र केही दिनमा भारतबाट पनि प्रशिक्षक ल्याउने तयारी भइरहेको उनले बताए।  

लामो समय क्षेत्र नम्बर ६ र ९ बाट राष्ट्रिय प्रतियोगिता खेलिसकेका केसीले भने, ‘हाम्रा पालामा प्रतिभा भएर पनि खेलाडीहरूले राम्रो प्रशिक्षण पाइरहेका थिएनन्। अबको पिंढीलाई त्यस्तो समस्या नआओस् भन्ने उद्देश्यले प्रशिक्षण केन्द्रको अवधारणा ल्याएको हो।’

एकेडेमीको उद्घाटन गर्दै उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य गोपाल हमाल।


धनगढीको बोराडाँडीमा स्थापना गरिएको प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल हमालले सुदूरपश्चिमको खेल विकासमा प्रशिक्षण केन्द्रले टेवा पुर्याउने बताए। प्रशिक्षण केन्द्रलाई शुभकामना दिँदै हमालले भने, ‘सुदूरमा प्रशस्तै सम्भावना भएका खेलाडी छन्, ती सम्भावनालाई यथार्थमा बदल्न एकेडेमी सफल रहोस्।’
आफ्नो क्षेत्रमा प्रशिक्षण केन्द्रको स्थापनाले स्थानीयहरू पनि हौसिएका छन्। स्थानीय ठाउँको पहिचान फराकिलो बनाउन तथा स्थानीय खेल प्रतिभा भएका युवाहरूका लागि एकेडेमीको भूमिका महत्वपूर्ण रहने बताए। 

धनगढीमा क्रिकेट प्रशिक्षण गराउने संस्थाहरूमध्ये स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र तेस्रो हो। सुरूमा खेलेको धनगढी क्रिकेट एकेडेमीले बेग्लै उचाई बनाइसकेका बेला जिल्ला खेलकुद विकास समितिको संरक्षण तथा जिल्ला क्रिकेट संघको पहलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीको यसअघि नै स्थापना भइसकेको छ।

बजेट अभाव तथा भौतिक पूर्वाधाको पर्याप्त व्यवस्था नहुँदा जिल्ला क्रिकेट एकेडेमीले प्रभावकारी नतिजा दिन सकेको छैन। यद्यपि, खेलाडी तथा प्रशिक्षकहरूको व्यक्तिगत पहलमा एकेडेमीले देशका विभिन्न ठाउँको क्रिकेट भम्रण गर्दै आएको छ। भर्खरै मात्र कैलाली जिल्ला क्रिकेट एकेडेमीको महिला टोलीले काठमाडौंको फर्पिंङ क्रिकेट एकेडेमीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। घरेलु टोलीलाई स्तब्ध पार्दै कैलालीले सिरिज जितेको हो।

धनगढी क्रिकेट एकेडेमीले महात्वकांक्षी प्रतियोगिताहरूमा हात हाल्नु र कैलाली जिल्ला क्रिकेट एकेडेमी बजेट तथा आवश्यक पूर्वाधारको अभावका कारण प्रभावकारी नदेखिरहेका बेला सुरू भएको स्पार्क क्रिकेट एकेडेमीले  यस क्षेत्रको रूट लेभल क्रिकेट विकासमा आशा जगाएको छ।
 


 

More form the Internet

loading...