Suvadin, Home

सडक बालबालिकाको विश्वकप फुटबल
प्रधानमन्त्रीद्वारा राष्ट्रिय टोलीको बिदाई, भने, ‘तपाईहरु राम्रो खेल्नुहुन्छ, जितेर आउनुहोस्’

सडक बालबालिकाको विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुनका लागि रुस जाने नेपाली राष्ट्रिय फुटबल टोली, प्रशिक्षक र प्रतिनिधि मण्डलका सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गरेका छन्। ओलीले रुसको राजधानी मस्कोमा मे १० देखि १६ तारिखसम्म हुने सडक तथा असहाय बालबालिकाका लागि विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई सफलताको शुभकामना दिँदै बिदाई गरेका हुन्।
प्रधानमन्त्रीका साथमा सडक बालबालिकाको विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली।

काठमाडौं, २४ वैशाख – सडक बालबालिकाको विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुनका लागि रुस जाने नेपाली राष्ट्रिय फुटबल टोली, प्रशिक्षक र प्रतिनिधि मण्डलका सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाई गरेका छन्।

ओलीले रुसको राजधानी मस्कोमा मे १० देखि १६ तारिखसम्म हुने सडक तथा असहाय बालबालिकाका लागि विश्वकप फुटबल प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई सफलताको शुभकामना दिँदै बिदाई गरेका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीले फुटबलका महान् खेलाडी पेलेबाट शिक्षा लिई खेल क्षेत्रमा अग्रसर हुन खेलाडीलाई आग्रह गरेका छन्। 

नेपाली खेलाडीले पनि मिहेनत गरे सफलता हासिल गर्न सकिने पनि ओलीको धारणा थियो। ‘तपाईहरु राम्रो खेल्नुहुन्छ भन्ने मलाइ थाहा छ,’ ओलीले भने, ‘खेल जितेर आउनुहोस्, शुभकामना छ।’

प्रधानमन्त्री ओलीले अनुशासन सफलताको सुत्र भएकाले  अनुशासनमा विशेष ध्यान दिन आग्रह गरेका छन्। ‘तपाईहरुले सगरमाथाको देशलाई खेलको माध्यमबाट विश्वमा पनि चिनाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने। ओलीले खेलाडीहरुलाई नेपालको झण्डा पनि वितरण गरेका छन्।

नेपाली टिमलाई विश्वकपमा लैजान सक्रिय संस्था सेल्टर आश्रय नेपालसँगै विभिन्न प्रायोजकहरुको सहभागिता रहेको कार्यक्रममा प्रधानमन्त्री ओलीले इमान्दारिता र आत्मविश्वास सफलताको पहिलो आधार भएको बताए। नेपाली टोलीको विश्वकप यात्रा सहज बनाउनका लागि विभिन्न संघसंस्थाले सहयोग गरेका छन्।

वेस्टार प्रपटिज, शंकर ग्रुप, कोरिया साउथ इष्ट पावर कम्पनी, नेपाली वाटर एण्ड इनर्जी डेभेलोप्मेन्ट कम्पनी, कोकाकोला, गोल्डस्टार सुज, एनएमबी बैंक, सनराइज बैंक, नेपाल एसबिआई बैंकले सहयोग गरेका छन्।

मस्कोमा वैशाख २७ गतेदेखि आयोजना हुने उक्त अठार वर्षमुनि उमेर समूहको विश्वकपमा २२ देशबाट २४ टोलीको सहभागिता रहने सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिएका छिन्। जसमा छात्र र छात्रामा समान १२–१२ टोली छन्। ९ जना खेलाडीसहित १३ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछ।

को–को छन् टिममा?

सडक बालबालिकाको विश्वकपका लागि नेपाली राष्ट्रिय टोलीको नेतृत्व रोशन भूजेलले गर्ने छन्। टोलीमा आरोन कार्की,  सन्तोष खत्री, विशाद वादी, मनवीर घिसिङ, सचिन बिक, पवन शाही, रमेश साह तेली र विकाश तिमल्सिना रहेका छन्।

टोलीको व्यवस्थापक अध्यक्ष खुश्बु ओली र सन्तोष कार्की तथा प्रशिक्षकद्वय राजन न्यौपाने र नवीन महर्जन रुस जाँदैछन्।


 

More form the Internet

loading...