Suvadin, Home
Nepal Telecom 927.3k

अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

शाहीलाई नेपाली क्रिकेटमा नौलो प्रयोग गर्ने क्रिकेट व्यवस्थापकको रुपमा पनि हेरिन्छ। देशकै ठूलो धनराशीको क्रिकेट प्रतियोगिता, राष्ट्रिय टोलीबाहेक अन्य टिमलाई पहिलोपटक भारतबाहेक तेस्रो मुलुकमा गराएको भम्रण होस् या अक्सनबाट प्रतियोगिताहरूको आयोजना हिम्मत गर्नु होस् सबै नेपाली क्रिकेटमा नयाँ प्रयोग हुन्। शाही भन्छन्, ‘यसपछि होम एण्ड अवेका आधारमा प्रतियोगिता हुनुपर्दछ। झट्ट हेर्दा नेपालको सन्दर्भमा यो असम्भव जस्तो लाग्ला तर यो सम्भव छ।’
धनगढी प्रिमियर लिग अायाेजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष तथा सुदूरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवाश शाही।

काठमाडाैं पुस २५


सुदूरपश्चिममा एउटा भनाइ प्रख्यात छ, ‘सूर्य पनि अस्ताउन मात्र पश्चिम अाउँछ।’ हालसम्मका जुनसुकै सरकारले पश्चिमलाई गर्दै आएको व्यवहारले यही भनाइलाई चरितार्थ गर्दछ। सामाजिक आर्थिक विकासको दृष्टिकोणले होस् या भौगोलिक विषमताका दृष्टिकोणले पश्चिम सधैपछि परेको छ/पारिएको छ। सरकारले वर्सेनि वाचन गर्ने बजेटकाे सबैभन्दा सानाे अंश मात्र चुहिएर पश्चिम पुग्छ। 

वि.सं. २०४० सालमा कर्णालीमा पुल बनेपछि हो, सुदूरपश्चिमको राज्यसँगको नाता गासिएकाे। त्यसअघि सुदूरपश्चिमबासीलाई भारतको राजधानी दिल्ली नजिक थियाे नेपालकाे राजधानी काठमाडाैं भन्दा। तर, समय सधैं त्यस्तै कहाँ रहन्छ र! परिवर्तित समयसँगै सुदूरपश्चिममा चेतनाकाे स्तर उक्लिँदै गएकाे छ। तर, राज्यको गतिविधिमा भने अझै समानताकाे भाव पलाउन सकेकाे छैन।

हाल पश्चिम नेपालका हरेक क्षेत्रले राज्यको मुख ताक्ने प्रवृत्तिमा परिवर्तन ल्याएका छन्। आफ्नो गाउँ-ठाउँको विकासका लागि आफैं जुट्नुपर्छ भन्ने भावनाको विकास हुँदै आएको छ।

विशेषत: निजी क्षेत्रको पहलमा सुन्दर सुदूरपश्चिमको अभियानले याे क्षेत्र पर्यटकीय नगरीका रुपमा चिनाएको छ। उनीहरूकै पहलमा त्रिभुवन विमानस्थलपछि देशको दोस्रो ठूलो विमानस्थल धनगढीमा निर्माण भएकाे छ। कला संस्कृतिको प्रवर्द्धनमा वर्सेनि सांस्कृतिक मेला महोत्सवको आयोजना गरिन्छन्, होम स्टेको अवधारणाले पर्यटक लोभ्याउने प्रयास भएको छ। सुविधासम्पन्न यातायातका साधानहरू सञ्चालन गरिएका छन्।

सुदूरपश्चिममा आफ्ना लागि आफैं गर्नुपर्छ भन्ने अभियान निजी क्षेत्रले चलाइरहँदा खेलकुदमा अझ भनौं क्रिकेटको विकासको जिम्मा भने उमेरले भर्खरै दुई दसक नाघेको युवाले उठायो। सात वर्षअघि नेपाली क्रिकेटमा उसले छेडेको आन्दोलनले अहिले नेपाली क्रिकेटको मुहार नै परिवर्तन गरिदिएको छ। जसको निरन्तरको मेहनत, लगनशीलता, इमानदारिता, कटिबद्धता, सकारात्मक सोच र अठोटले भर्खरै नेपाली क्रिकेटकाे राष्ट्रियस्तरमा पहिलपटक अक्सन सम्पन्न गरियाे। यसले नेपाली क्रिकेटमा तरंग ल्याएको छ, नेपाली क्रिकेटलाई व्यावसायिकतातर्फ उन्मुख गरेको छ। खेलाडीहरू हौसिएका छन्। नेपाली क्रिकेटलाई समर्थन गर्ने जोसुकै पनि खुसी छन्।

भारतको आइिएल, अष्ट्रेलियाको विगव्यास, बंगलादेशको विपिएललगायत विश्वका थुप्रै देशहरूमा अक्सनलाई धेरै अघि नै अवलम्बन गरिए पनि नेपालमा राष्ट्रियस्तरमा अक्सनको सुरुवात भने धनगढी क्रिकेट एकेडेमी (डिसिए)का अध्यक्ष तथा सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) का निर्देशक सुवाश शाहीले गराएका छन्। 

‘आँट्ने हो भने जे पनि सम्भव छ, तपाईं काम गर्दै जानुस् बाटो आफैं खुल्दै जान्छ,’ आफ्ना जुनसुकै मन्तव्यमा पनि शाहीले नछुटाउने वाक्य हो यो। यही वाक्य उनले आफ्नो जीवनमा पनि अवलम्बन गरेका छन्।

छोटो अवधिमा नेपाली क्रिकेट सरकारी संयन्त्रहरूले गर्न सकेका कार्यहरू गरिदिएर धेरैका नजरमा असम्भव देखिने कामहरू उनले फत्ते गरेका छन्। नेपालमा सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिताको निरन्तर आयोजना, नयाँ प्रतिभाहरूको खोजीका निम्ति क्रिकेट एकेडेमीको स्थापना, देशकै सर्वाधिक लामो घरेलु क्रिकेट लिग, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल, देशमै पहिलोपटक निजी क्षेत्रको क्रिकेट एकेडेमीले श्रीलंकाजस्ता मुलुकहरूको खेल भम्रण गर्नु, धनगढीमा नेपाल प्रिमियर लिगको धनगढीमा भव्यताका साथ आयोजना सम्पन्न गर्नु, धनगढीलाई क्रिकेटको सहरका रुपमा विकास गर्नु, डिसिएल भाग-३ को अक्सन र अहिले डिपिएलको अक्सन सम्पन्न गर्नु उनले गरेका केही महत्वपूर्ण काम हुन्।

सन् २०१० काठमाडाैंमा स्नातक पूरा गर्दा उनीसँग दुई विकल्प थिए। पहिलो अन्य सहपाठीसँगै विदेश होमिऔं, दोस्रो फर्केर धनगढीमा गई केही गरौं। शाहीले दोस्रो विकल्प रोजे। उनको सोही निर्णय हाल नेपाली क्रिकेट विकासको कोसेढुंगा भएको छ। 

धनगढी फर्कँदा के गर्ने? लक्ष्य शाहीसँग थिएन। उनी आफू पनि क्रिकेटका खेलाडी थिए। धनगढी कभर्ड हलको उत्तरपट्टी उनको घर छ। काठमाडाैं प्रवेश गर्नुअघि उनी सोही कभर्ड हलमा साथीभाइ जुटाएर क्रिकेट खेल्ने खेल्थे। उनलाई त्यही पुरानो यादले फेरि कभर्ड हलतिर डोर्यायो। उनी सरासर त्यहीँ पुगे।

उनी यस क्षेत्रकाे क्रिकेट विकासमा जतिसक्दो चाँडो  कार्य थाल्ने मनस्थितिमा थिए। तर, सुरू कहाँबाट गर्ने अलमल थियाे। एकदिन उनले अाफू कार्यरत एसपिए कलेजमा देशभरिका कलेजहरूको प्रतिनिधित्व हुने गरी राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता अयोजना गर्ने प्रस्ताव राखे। त्यतिबेला खेलकुदलाई खासै महत्व दिइँदैन थियो, कलेजहरूले पनि राम्रो पढाइमा जोड दिन्थे।

पढाइ राम्रो भएपछि विधार्थी संख्या पनि बढ्छन् भन्ने कलेजहरूको धारणा हुन्थ्यो। तर, उनले प्रयास छोडेनन् र यसकाे भविष्यबारे कलेज प्रशासनसँग स्पष्ट धारणा राखे। कलेज प्रतियाेगिता अायाेजना गर्न राजी भयाे। फलस्वरूप सन् २०१० मा एसपिए कपको पहिलो संस्करणबाट सुवास शाहीले नेपाली क्रिकेटकाे व्यवस्थापकीय क्षेत्रमा कदम चाले।

कलेजले स्वीकृति त दियो तर माेफसल अझै सुदूरपश्चिमकाे एक सहर धनगढीमा न उपयुक्त मैदान थियो, न क्रिकेट खेलप्रति कसैकाे त्यति चासाे। अावश्यक टेक्निकल जनशक्ति थिएन, प्रतियाेगितामा सहभागिता जनाउने टिमकाे टुग्याे थिएन्। अत्यावश्यक बल अनि ब्याट पनि मुस्किलले पाउँथ्याे धनगढीमा त्यतिबेला। 

पहिलो प्रतियोगिताबाट क्रिकेटमा व्यावसायिकताको आकार कोर्न सुरू गर्नुपर्छ भन्ने उनको दिमागमा पहिल्यैदेखि थियो। त्यसैले पनि पहिलाे प्रतियाेगिताबाटै एक ‘स्टाण्डर’ कायम राख्ने चुनाैती उनमा थियाे। साेही कुरालार्इ मध्यनजर गर्दै सम्भव भएसम्म आइसीसीका मापदण्डहरू पालन गर्न र गराउन उनले टेक्निकल कमिटीलाई पहिल्यै निर्देशन दिइसकेका थिए। र भयाे पनि। पहिलाेपटक एसपीए कपकाे अायाेजना गर्दा देशभरका १६ टिमले सहभागिता जनाए।

सुस्ताएकाे धनगढी क्रिकेटले रफ्तार समात्याे। प्रतियाेगिता सम्पन्न भएका दिन धेरै व्यक्तिहरूबाट उनलार्इ बधार्इ अाउन थाल्याे। मिडियाले उनलार्इ पछ्याउन थाल्याे। मुख्य कुरा त नेपाली क्रिकेटमा व्यावसायिकता भित्र्याउने उनकाे सपनाले एउटा बाटाे समातेकाे थियाे। यी सबै कुराले अर्काे संस्करण अझै भव्य बनाउन उनले त्यतिबेलै प्रतिबद्धता जनाइसकेका थिए।

पहिलो संस्करणको सफलताले दोस्रो संस्करण १३ लाख बजेटमा सम्पन्न गरियो। त्यस प्रतियोगिताको पुरस्कार राशी २५ हजारबाट बढाएर १ लाख पुर्याइयो। त्यही संस्करणबाट एसपिए कप देशकै सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता बन्यो। पहिलो प्रतियोगिता आयोजना गरेको अनुभव उनीसँग थियो नै यसपटक टिम जुटाउन भने त्यति गाह्रो भएन। एक लाख पुरस्कार राशी भनेपछि कलेजका टिमहरू सहभागिताका लागि अोइरिन थाले। प्रतियोगितामा टिम छनौट गरेर मात्र समावेश गर्नुपर्ने अवस्था आएको उनी सम्झन्छन्, ‘हामीले पहिले दर्ता हुने टिमलाई नै प्राथमिकता दिऔं।’ 

सन् २०१३ मा तेस्रो संस्करण आयोजना गर्दा प्रतियोगिताको बजेट २५ लाख र पुरस्कार दुर्इ लाख पुर्याइयो। यही संस्करणको भव्यताका साथ सम्पन्न भएपछि टुर्नामेन्टले व्यापकता पाउन थालेको बुझाइ उनको छ। २०१५ मा चौथो संस्करणमा पाँच लाख पुरस्कार राशी पुर्याइँदा आफूहरूलाई  प्रयाेजकका रुपमा सहभागिता गराइदिन थुप्रै कर्पोरेटका प्रतिनिधिहरू आफूकहाँ आएको अनुभव उनीसँग छ। सुरूका दिनहरूमा आफू कर्पोरेट हाउसहरूलार्इ खाेजेर हिँड्नुपर्ने अवस्था थियाे तर चाैथाे संस्करणमा अाइपुग्दा स्थिति ठिक उल्टाे बनिसकेकाे थियाे। यतिबेला कर्पाेरेट हाउसहरू उनलार्इ खाेज्दै अाउने गरेकाे उनी बताउँछन्।

लामो समयपछि कभर्ड हल पुग्दा त्यहाँकाे दृश्यले निकै नरमाइलाे बनायाे,’ शाहीले भने, ‘सशस्त्र द्वन्द्वपछि धनगढी क्रिकेट नराम्ररी थला परेको रहेछ। त्यहाँ सीमित खेलाडीहरू जिन्स पाइन्ट लगाएर बलब्याटमा रमाइरहेका थिए। उनीहरू क्रिकेट खेलाडी हुन कि हैनन् छुट्याउनै गाह्राे थियाे। यसले धनगढीकाे क्रिकेटको नाजुक अवस्था झल्काउँथ्याे। कोही कोच थिएनन्,नियमित अभ्यास थिएन, क्रिकेटका लागि भनी छुटै मैदान थिएन। त्यही धनगढी क्रिकेटको  बिजोग अवस्था देखेपछि त्यतिबैलै त्यस क्षेत्रको क्रिकेट विकासमा लाग्ने लक्ष्य समातेँ।’

प्रतियोगिता अायाेजना गर्नु क्रिकेट विकासको एउटा पाटो मात्र हो। तर, उनी समग्र क्रिकेटलार्इ यसका सबै क्षेत्रबाट विकास गर्न चाहन्थे। साेही कुरालार्इ मध्यनजर राख्दै क्रिकेटमा लाग्न चाहनेले कलिलाे उमेरबाट नै क्रिकेटकाे प्रशिक्षक पाउन् भन्ने अभिप्रायले स्थानीय समाजसेवीहरू महेश शाह र धिरेन्द्र सावँदसँग सहकार्यमा सुदूरपश्चिममै पहिलोपटक धनगढी क्रिकेट एकेडेमी (डिसिए) को स्थापना गरे। जहाँ नियमित रूपमा खेलाडीहरूकाे प्रशिक्षणकाे व्यवस्था हुन्छ।

डिसिएले विभिन्न समयमा खेलाडीहरूलाई बढीभन्दा बढी म्याच एक्सोजर मिलोस भन्ने उद्देश्यले छ महिना लामो धनगढी क्रिकेट लिग (डिसिएल) आयोजनाको सुरुवात गर्यो। सोही डिसिएलको तेस्रो संस्करणमा उनले नेपालमा पहिलोपटक अक्सनको अवधारणा भित्र्याए। कैलालीका विभिन्न पाँच वटा स्थानहरूको नामबाट टिमको नामाकरण गर्दै गत वर्ष आयोजना गरिएको सगरमाथा सिमेन्ट डिसिएल-३ मा बिजेतालाई तीन लाख र उपबिजेतालाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिइएको थियो।

‘सर्वप्रथम देशभरिका टिम जुटाउनै गाह्रो थियो,’ शाहीले भने, ‘सँगै मोफसलमा लगानीकर्ताहरूले आँट गर्दैनन्।’ टिम जुटाउन मात्र एक बर्ष बढी मेहनत गरेको उनी बताउँछन्। प्रतियोगिता घोषणा गर्दा चार वटा टिमहरू (धनगढी, अत्तरिया, काठमाडाैं र रुपेन्देही) को मात्र टुंगो लागेको थियो।

तीबाहेक टिमहरू (विराटनगर र कञ्चनपुर) प्रतियोगिता घोषणापछि मात्र टुंग्यो लागेका हुन्। ‘सकारात्मक सोचका साथ राम्रो काम गरेर अघि बढ्ने हो भने पाइलापिच्छे अभियानलाई मानिसहरूले साथ सहयोग दिँदै जाने रहेछन्,’ शाही भन्छन्, ‘सोही कुरा अक्सनको दिन प्रमाणित भयो। हामीलाई सम्पूर्ण क्रिकेट खेलाडीहरू, पत्रकारहरू, सबै क्रिकेटप्रेमीले साथ दिए र हामीले भव्यताका साथ अक्सन सम्पन्न गर्याैं। अब प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्नु छ। त्यसमा हामी प्रतिबद्ध छौं।’ 

शाहीलाई नेपाली क्रिकेटमा नौलो प्रयोग गर्ने क्रिकेट व्यवस्थापकको रुपमा पनि हेरिन्छ। देशकै ठूलो धनराशीको क्रिकेट प्रतियोगिता, राष्ट्रिय टोलीबाहेक अन्य टिमलाई पहिलोपटक भारतबाहेक तेस्रो मुलुकमा गराएको भम्रण होस् या अक्सनबाट प्रतियोगिताहरूको आयोजना हिम्मत गर्नु होस् सबै नेपाली क्रिकेटमा नयाँ प्रयोग हुन्। शाही भन्छन्, ‘यसपछि होम एण्ड अवेका आधारमा प्रतियोगिता हुनुपर्दछ। झट्ट हेर्दा नेपालको सन्दर्भमा यो असम्भव जस्तो लाग्ला तर यो सम्भव छ।’


 

More form the Internet

loading...