Suvadin, Home

नेपालमा पहिलाेपटक सुपर ८ क्रिकेट प्रतियाेगिता हुने

नेपालमा पहिलोपटक सुपर ८ क्रिकेट प्रतियोगिता हुने भएको छ। खुकुरी इन्टरटेनमेन्ट र देवीबास मिडिया प्रा.लि.को संयुक्त आयोजनामा आगामी मार्च २८ देखि अप्रिल १ सम्म प्रतियोगिताको आयोजना हुन लागेको हो।
प्रतियाेगिताबारे जानकारी दिँदै अायाेजक कमिटीका अध्यक्ष विनायकविक्रम थापा र सचिव विनाेद महर्जन।

काठमाडाैं, चैत ३ - नेपालमा पहिलोपटक सुपर ८ क्रिकेट प्रतियोगिता हुने भएको छ। खुकुरी इन्टरटेनमेन्ट र देवीबास मिडिया प्रा.लि.को संयुक्त आयोजनामा आगामी मार्च २८ देखि अप्रिल १ सम्म प्रतियोगिताको आयोजना हुन लागेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा विभिन्न २० टिमको सहभागिता हुने आयोजकले जनाएको छ। प्रतियोगिता आयोजक कमिटीका अध्यक्ष विनायकविक्रम थापाका अनुसार सहभागी टिमलाई विभिन्न पाँच वटा ग्रुपमा विभाजन गरी प्रतियोगितामा खेलाइनेछ।

प्रतियोगितामा जम्मा ३७ वटा खेलहरू हुनेछन्। जसमा तीस वटा लिग खेल, चार वटा क्वाटरफाइनल, दुई वटा सेमिफाइनल र फाइनल खेल रहेका छन्। प्रत्येक ग्रुपका टप टिमहरू स्वतः क्वाटरफाइनलमा प्रवेश गर्ने र बाँकी रहेका तीन वटा टोलीको निर्णय समूह चरणमा सर्वाधिक अंक बटुल्ने टिमबाट लिइने आयोजक कमिटी अध्यक्ष थापाले बताए।

प्रतियोगिताको बिजेताले एक लाख, उपबिजेताले ५० हजार, उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले समान १० हजार पाउने आयोजकले जनाएको छ। ‘सुपर ८ फर्म्याटको प्रतियोगिता अन्य देशमा निकै खेलिन्छ,’ थापाले भने, ‘नेपालमा पहिलोपटक हामीले यस फर्म्याटको सुरूवात गर्न लागेका हौं।’

प्रतियाेगितामा सहभागिता जनाउने क्लबका लागि २० हजार रूपैयाँ दर्ता शुल्क तोकिएको र हालसम्म १२ वटा टिमले दर्ता गरिसकेको उनले बताए। कुनै पनि टिमले जतिसुकै राष्ट्रिय खेलाडीहरु राख्न पाउने प्रावधान छ। प्रतियोगिताको समयमा राष्ट्रिय टोली भने इमर्जिङ कप खेल्न बंगलादेश हुने भए पनि अन्य खेलाडीलाई खेलमा व्यस्त गराइराख्न प्रतियोगिताले सघाउ पुर्याउने आयोजककाे विश्वास छ।


 

More form the Internet

loading...