Suvadin, Home

टी-२० सिरिज: नेदरल्याण्डविरुद्ध आयरल्याण्ड ६ विकेट विजयी 

काठमाडौं । ओमानमा जारी टी-२० क्रिकेट सिरिज अन्तर्गत शनिबार आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ ।

एक समय दबाबमा आएको आयरल्याण्डको जितमा ह्यारी टेक्टरले उत्कृष्ट पारी खेले । ओमान क्रिकेट एसोसियशनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रन बनाएकाे थियाे ।

सुरुवात कमजोर गरे पनि उसका बेन कूपरको उत्कृष्ट पारीका कारण नेदरल्याण्ड्सले बलियो लक्ष्य दिन सफल भयो । १९ रनमा पहिलो विकेट गुमाएको नेदरल्याण्ड्सले दोस्रो विकेटकालागि ५० रनको साझेदारी गरेको थियो ।
सम्बन्धित समाचार
    
नेदरल्याण्ड्सका लागि म्याक्स ओ'दाउद र कप्तान बेन कूपरले अर्धशतकीय साझेदारी गरे । त्यसपछि फेरि बेन कूपर र कोलीन अकेरमन बीच पनि ५५ रनको साझेदारी भएपछि डच टिमको पारी बलियो स्थितिमा पुगेको थियो ।

नेदरल्याण्ड्सका टोबासिस भिसीले नौ रन बनाए भने म्याक्सले ३८ तथा अकेरमनले २७ रनको योगदान गरे । यस्तै कप्तान बेन कूपरले ६५ रनको उत्कृष्ट पारी खेले । उनले ४५ बलमा आठ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै स्कट एडवार्ड मात्र एक रनमा आउट भए ।

पारीको अन्तिममा नेदरल्याण्ड्सले लगातार तीन विकेट गुमायो । उसका तीन खेलाडीले दोहोरो अंक जोड्न नपाउँदै आउट भए । जसमा स्कट एडवार्ड एक रनमा, कप्तान पिटर सीलर दुई र एन्टोनिउस स्टालले खाता खोल्न सकेनन् ।

जवाफमा आयरल्याण्डले १८ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

बलियो सुरुवात गरेको आयरल्याण्डले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेको थियो । उसका ओपनर केभिन ओब्राइन २३ रनमा आउट भए । त्यसपछि पल स्ट्रलिङ पनि २३ रनमा नै पेभेलियन फर्किएपछि आयरल्याण्डले ५९ रनमा दोस्रो विकेट खेर फाल्यो ।

एन्डी बालबिर्नी व्यक्तिगत ३२ रनमा आउट हुँदा आयरल्याण्डको स्कोरबोर्डमा ८१ रन थियो । त्यसपछि ग्यारेथ डेलानी २९ रनमा आउट भएपछि आयरल्याण्ड केहि दबाबमा आएका थियो ।

तर त्यसपछि अनुभवी खेलाडी ह्यारी हेक्टरले आक्रामक रुपमा ४७ रन बनाउँदा आयरल्याण्डले गुमाइसकेको खेल आफ्नो पक्षमा पार्यो । प्रतियोगितामा आइतबार घरेलु टाेली ओमान र आयरल्याण्डबीच बिहान सवा एघार बजे तथा नेपाल र हङकङबीच अपराह्न सवा तीन बजे गरी दुई खेल हुनेछन् ।


 

More form the Internet

loading...