Suvadin, Home

को हुन्, पदम केसी? जो पारसविरुद्ध डिपिएलको उद्घाटन खेलमा कप्तानी गर्दैछन्

केसी धनगढीका पुराना खेलाडीमध्येका एक हुन्। उनले क्रिकेट खेल्न थालेको झण्डै दुई दशक बित्न लाग्यो। सुरुमा उनले क्षेत्र नम्बर ५, नेपालगञ्जबाट यु–१५ प्रतियोगिताहरुमार्फत राष्ट्रिय प्रतियोगिताहरुमा डेब्यु गरे। पछि सुदूरपश्चिमलाई समेट्दै क्षेत्रनम्बर ६ बनेपछि त्यस क्षेत्रको पहिलो टिमका मुख्य खेलाडीका रुपमा उनी थिए। 
धनगढी-११ का कप्तान पदम केसी, गत वर्ष सम्पन्न डिपिएल-३ मा म्यान अफ द म्याच भएपछि। तस्बिरः शुभदिन।

काठमाडौं, चैत २३ - बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) को उद्घाटन नेपाल–११ र धनगढी–११ बिचको च्यारिटी म्याचबाट हुँदैछ। जसका लागि आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) र सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले नेपाल क्रिकेट खेलाडी संघको सहकार्यमा दुबै टोलीको घोषणा मंगलबार गरेको छ। 

घोषणा गरिएको नेपाल–११ को टोलीको कप्तानी राष्ट्रिय टिमका कप्तान पारस खड्काले गर्दैछन् भने टिममा उनीसँगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, सन्दीप लामिछाने, दिलीप नाथ, मेहबुब आलम, अविनाश कर्ण, आशिफ सेख, आरिफ सेख र सुशान भारी छन्। टिमको मुख्य प्रशिक्षकमा जगत टमटा छन् भने व्यवस्थापकको जिम्मेवारी रमन शिवाकोटीले निभाउने छन्।

त्यस्तै, धनगढी-११ को टिममा पदम केसीसँगै सुनील धमला, दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, भुवन कार्कीजस्ता राष्ट्रिय खेलाडीहरू छन्। उनीहरूसँगै विजय राना, आयुव चन्द, नारायण जोशी, विक्रम ठगुन्ना, रोमन बम, रोशन अधिकारी, लोकेश बम, विपीन रावल र अमित पडालजस्ता युवा खेलाडीहरूले राष्ट्रिय टिमविरूद्ध खेल्ने माैका पाएका छन्।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान (ड्रिम फाप्ला) को सहयोगार्थ आयोजना गरिन लागिएको यस च्यारिटी खेलको टिम घोषणा भएसँगै यतिबेला राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्ने धनगढी–११ टोलीका कप्तान पदम केसी को हुन्? भन्नेबारे सर्वत्र चासो छ। 

केसी धनगढीका पुराना खेलाडीमध्येका एक हुन्। उनले क्रिकेट खेल्न थालेको झण्डै दुई दशक बित्न लाग्यो। सुरुमा उनले क्षेत्र नम्बर ५, नेपालगञ्जबाट यु–१५ प्रतियोगिताहरुमार्फत राष्ट्रिय प्रतियोगिताहरुमा डेब्यु गरे। पछि सुदूरपश्चिमलाई समेट्दै क्षेत्रनम्बर ६ बनेपछि त्यस क्षेत्रको पहिलो टिमका मुख्य खेलाडीका रुपमा उनी थिए। 

‘विनोद भण्डारी, चन्द्र सावँद र म लगायतका खेलाडीहरु क्षेत्र नम्बर ६, बैतडीका पहिलो ब्याच हौं,’ केसीले भने, ‘त्यसपछि त्यस क्षेत्रबाट मात्रै मैले तीन दर्जनजति सिनियर तथा उमेर समूहका प्रतियोगिताहरुमा सहभागिता जनाएको छु।’

दायाँ हाते ओपनिङ ब्याट्सम्यान केसीले त्यस क्षेत्रको यु-१९ क्षेत्रीय छनोटमा बनाएको ५० बलमा १ सय २९ रनको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन। बैतडीमा भएको प्रतियोगितामा डडेल्धुराविरुद्ध उनले यो रेकर्ड बनाएका हुन्। 

पदमले यस क्षेत्रको यु-१९ टिमबाट राष्ट्रिय प्रतियोगितामा कप्तानी पनि गरेका छन्। धनगढी प्रिमियर लिग-३ को च्याम्पियन टिम चौराहाको सुरुका खेलहरुमा पदमले कप्तानी सम्हालेका थिए। साथै, चौराहालाई च्याम्पियन बनाउन पदमले उत्कृष्ट इनिङहरु पनि खेले। 

हाल उनले धनगढीमा केही महिनाअघि खुलेको स्पार्क क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएका छन्। तल्लो तहको क्रिकेट विकास होस भन्ने उद्देश्यले एकेडेमी सञ्चालनमा ल्याएको उनले बताए। राष्ट्रिय टिमका कप्तान पारस खड्काविरुद्ध भने उनले यसअघि २०६६ सालमा भएको यु-१९ राष्ट्रिय प्रतियोगितामा पहिलो चोटी कप्तानी गरेका थिए। त्यसपछि पारसविरुद्ध उनले डिपिएलको उद्घाटन खेलमा खेल्न लागेका हुन्। 

‘राष्ट्रिय क्रिकेट टिमका कप्तानविरुद्धको टिमको कप्तानी गर्न पाउदा खुसी छु,’ पदमले भने, ‘धनगढी–११ को टिममा यस क्षेत्रका प्रतिभावान युवा खेलाडीहरु छन्, यदि उनीहरुले राष्ट्रिय खेलाडीहरु, प्रशिक्षकका अगाडी पाएको अवसर सदुपयोग गर्नसके, उनीहरुको करिअर नै उँभो लाग्न सक्छ।’ राष्ट्रिय टिमसँग युवा खेलाडीहरुले खेल्न पाउनु ठूलो म्याच एक्सोजर भएकाले यस मौकालाई आफ्ना खेलाडीहरुले सदुपयोग गर्ने उनको विश्वास छ। 
 


 

More form the Internet

loading...