Suvadin, Home
सरस्वतीको उचाई उनको सम्पत्ति हो। ६ फीट अग्ली उनी क्वीक स्पाइक गर्न माहिर छिन्। २२ वर्षीया सरस्वतीले ब्लक गरेपछि सितिमिति त्यो बलले जाली नाघ्न पाउदैन्। 
एपीएफकाे भलिबल टिम।

काठमाडौं, वैशाख २७– महिला भलिबलका लागि सुदूरपश्चिम उर्बर क्षेत्र मानिन्छ। अहिले सुदूरपश्चिम क्षेत्रको आफ्नो छुट्टै टोली त छैन, तर अन्य विभागीय टोलीमा यहाँका चेलीको प्रभावशाली उपस्थिति छ।

तिनै मध्येकी एक हुन्, कैलालीकी सरस्वती चौधरी। केही वर्ष यता उनी सर्वोत्कृष्ट खेलाडी बन्दै आएकी छन्।

सरस्वतीको उचाई उनको सम्पत्ति हो। ६ फीट अग्ली उनी क्वीक स्पाइक गर्न माहिर छिन्। २२ वर्षीया सरस्वतीले ब्लक गरेपछि सितिमिति त्यो बलले जाली नाघ्न पाउदैन्। 

सानोमा उनको सपना बेग्लै थियो। लोभलाग्दो उचाई देखेर शिक्षकले खेल्न अभिप्रेरित गरेपछि यता मोडिइन्। पोखराको फिस्टेल स्कुलले उनको सम्पूूर्ण खर्च बेहोर्यो, पढाईदेखि बसाईसम्म।

तीनवर्षअघि एपीएफ छिरेकी सरस्वतीको यात्रा सफलतातिर उन्मुख छ । उनका प्रशिक्षक ज्ञानेन्द्र सिंह भन्छन्, ‘राम्रो मिहिनेत गर्ने हो भने नेपालको मात्र होइन्, दक्षिण एसियाकै उत्कृष्ट खेलाडी हुन सक्ने क्षमता उनमा छ ।’

सबैको मन जित्न सफल हिस्सी परेकी सरस्वती उत्कृट खेलाडी त हुन् नै । उनको ब्यक्तिगत स्वभाव पनि राम्रो छ । टोलीमा सबैसँग समन्वय र सहकार्यमा बस्छिन्। ‘सफलताहरुले अझै मिहिनेत गर्न प्रेरणा दिन्छन्,’ सरस्वतीले सुनाइन्, ‘अझै धेरै गर्न बाँकी छ ।’

उसो त भलिबल टिम खेल हो, सबै सदस्यको सामुहिक प्रयासले जितको आधार तयार गर्छ। हरेक टोलीमा त्यस्ता ‘कीप्लेयर’ हुन्छन्, जसले अरुभन्दा बढी भूूमिका खेल्छन। 

पीएफक्लबमा आबद्ध सरस्वतीकै घर–छिमेकी नेबिका चौधरी पनि त्यस्तै अर्की खेलाडी हुन्। उनको बल सर्ब गर्ने तरिका बिछट्टको छ। नेबिका खेलको सुरुदेखि अन्तिमसम्म उस्तै स्टामिनाका साथ खेल्न सक्ने क्षमता राख्छिन्। कडा स्पाइकगर्न माहिर उनी भलिबलका पूर्वखेलाडी कैलालीका बिष्णु चौधरीकी छोरी हुन्। उनकी बहिनी संगीता पनि भलिबल खेल्थिन। तर, पछिल्ला दिन एपीएफकै हेण्डबल टोलीमा बढी सक्रिय छिन्। 

सरस्वती र नेबिका नेपाली  राष्ट्रिय टिमकी ओपनर हुन्।  उनीहरुपछि त्यस्तै सफलता आत्मसात गरिरहेकी छन, कञ्चनपुरकी उषा बिष्ट।

एपीएफमै रहेकी उनी राम्रो ब्लकर हुन्। हाइटले साथ त दिएको छ, नै, उनको घरायसी वातावरण पनि भलिबलमय छ।  उनका काका सहदेब बिष्ट कुनै बेलाका चर्चित राष्ट्रिय खेलाडी हुन्। प्रारम्भमा प्रशिक्षक जगदीश भट्टले उनलाई भलिबलका गुर सिकाए । ‘उनमा सिक्ने अभिलाषा धेरै छ,’ भट्ट भन्छन्, ‘उषा, सरस्वती र नेबिका लगायतका खेलाडीले यस्तै गति निरन्तर कायम राख्न सक्नुपर्छ। त्यसका लागि अब घरेलु भन्दा अन्र्तराष्ट्रिय प्रतियोगिताको खाचो छ ।’

नेपाल आर्मी क्लबमा रहेकी निरुता ठगुन्ना  पनि सुदूरपश्चिमकी उदाउदी खेलाडी हुन्। आर्मीका प्रशिक्षक जगदीश भन्छन्, ‘पछिल्लो समयमा महिला भलिबल खेलाडी उत्पादनको क्रम बढेको छ, दुई÷तीन खेलाडीलाई रिफ्रेस गर्न सक्यो भने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामागोल्ड मेडल ल्याउन सकिन्छ।’

यी सबैको अर्को संयोग पनि छ, त्यो हो सबै सुदूरपश्चिमका हुन् । 

भलिबलमा बिभागीय टोलीपछिको उदाउदो शक्ति हो, न्यू डायमण्ड काठमाडौं। टोलीको समग्र पदर्शनमा त्यसकी मुख्य स्पाइकर प्रतिभा मालीको उस्तै बेजोड प्रदर्शन रहन्छ।

प्रशिक्षककुमार राईले चर्चित स्टार रमिला तण्डुकारको अनुपस्थितिमै टोलीलाई बिभिन्न प्रतियोगितामा उतारिरहेका छन्। रमिला अमेरिका गएपछि टीमको नेतृत्व ललीता नाथले सम्हालिरहेकी छन्।  ललिता पनि क्वीक पाइकर हुन्। 

रमिलाको रिक्तता भने प्रतिभाले पुरा गरिरहेकी छन्। कम उमेरमा प्रतिभा चर्चित भइसकेकी थिइन्। ३ कक्षा पढ्दादेखि भलिबलमा आर्कषित प्रतिभा कोर्टको चारैतिरबाट एकनासले स्पाइक गर्न सक्छिन् ।

उनको यस्तो क्षमताले बिपक्षी टोलीका प्रशिक्षक समेत कायल हुन्छन्।राई भन्छन्, ‘प्रतिभा उमेरमा जुनियर भएपनि राम्रो प्रदर्शन छ, उनको खेल धेरै राम्रो छ।’

अर्को बिभागीय टोली नेपाल पुलिस क्लबकी कमला पुन पनिउत्कृष्ट डिफेण्डर हुन्।


 

More form the Internet

loading...