Suvadin, Home

कतार विश्वकप हिउँदमा हुने

दोहा । कतार विश्वकप २०२२ को लोगो तथा प्रतियोगिताको मिति सार्वजनिक भएको छ। विश्व फुटबलको महाकुम्भ २०२२ मा पहिलो पटक जाडो याममा हुँदै छ। प्रतियोगिता २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ।  प्रतियोगिता आउन १ हजार ७३ दिन बाँकी रहँदा फिफाले प्रतियोगिताको आधिकारिक लोगो सार्वजनिक गरेको हो।

प्रतियोगिताका अघिल्ला संस्करणहरु जुन–जुलाईमा आयोजना गरिँदै आए पनि खाडी मुलुक कतारमा सो समय प्रतियोगिता आयोजना गर्न सम्भव नभएपछि यो संस्करण जाडो याममा आयोजना गरिन लागिएको हो। कतारी अधिकारीहरुले जाडो याममा लगाइने परम्परागत उनको सलबाट प्रेरित हुँदै प्रतियोगिताको लोगो बनाइएको जनाएका छन्।

‘फुटबलमा जस्तै, सलको चर्चा नै एकताको माध्यम हो,जुन मानिसका हरेक दिनका गतिविधिसँग गाँसिएको छ,’ कतारी अधिकारीले भने, ‘लोगोमा भएको कर्भले सामुदायिक छाल र पूरा लोगोको स्वरूपमा भएको अंग्रेजीको ‘आठ’ ले कतारका ८ रंगशालालाई जनाउँछ।’

विभिन्न अड्कलबाजीका बावजुद कतारले विश्वकपका लागि पछिल्लो समय रंगशाला निर्माणमा तीव्रता दिएको छ। प्रमुख आकर्षणका रूपमा हेरिएको खलिफा अन्तर्राष्ट्रिय रंगशाला प्रयोगमा आइसकेको छ, जहाँ कतारले यसै वर्ष विश्व एथ्लेटिक्स च्याम्पियनसिप आयोजना गर्दै छ। सेप्टेम्बर २७ बाट आयोजना हुने च्याम्पिनसिप कतारका लागि ग्लोबल इभेन्ट गर्न सक्षम छौं भन्ने प्रमाणित गर्ने माध्यम पनि बन्नेछ।

कतारले २०१० मा विश्वकप २०२२ आयोजनाको अधिकार पाएको थियो। नोभेम्बर २१ बाट डिसेम्बर १८ सम्म हुने प्रतियोगितामा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। फिफाले यसअघि नै अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा अयोजना गर्ने २०२६ विश्वकपमा भने सहभागी राष्ट्रको संख्या बढाएर ४८ पुर्‍याउने निर्णय गरिसकेको छ।


 

More form the Internet

loading...