Suvadin, Home

Cover Image

पहिलो जितको खोजीमा वेस्ट इन्डिजविरुद्ध भिड्‍दै दक्षिण अफ्रिका

काठमाडौं । विश्वकप क्रिकेटमा सोमबार दक्षिण अफ्रिकाले वेस्ट इन्डिजको सामना गर्दैछ । उक्त खेल साउथह्याम्पटनस्थित रोज बल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३ : १५ बजे सुरु हुनेछ । जारी विश्वकपमा दक्षिण अफ्रिका कमजोर टोलीको रूपमा देखिएको छ । हालसम्म विश्वकपको उपाधि जित्न नसकेको दक्षिण अफ्रिकाले जारी विश्वकपमा पनि यसअघि खेलेका तीनवटै खेलमा हार भोगेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग पनि २१ रनले हारेको थियो । तेस्रो खेलमा दक्षिण अफ्रिकालाई भारतले ६ विकेटले पराजित गरेको थियो । जारी विश्वकपमा सुरुका तीनवटै खेल हार्ने दुई टोली दक्षिण अफ्रिका र अफगानिस्तान मात्र हुन् ।

त्यसैले प्रतियोगिताको सेमिफाइनलमा पुग्‍ने सम्भावना कायम राख्न पनि वेस्ट इन्डिजविरुद्घको खेलमा दक्षिण अफ्रिकासँग जितको विकल्प छैन । अर्कोतिर दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पनि एकदिवसीय क्रिकेटमा पछिल्लो समय खासै लयमा देखिँदैन । यद्यपि, वेस्ट इन्डिज जारी विश्वकपमा आफूले खेलेका दुईमध्ये एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजित ।

आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले हराएको क्यारेबियन टोली दोस्रो खेलमा पाँच पटकको उपाधि विजेता अस्ट्रेलियासँग १५ रनले पराजित भएको थियो । वेस्ट इन्डिज सन् १९७५ र सन् १९७९ को विश्वकप विजेता राष्ट्र हो । वेस्ट इन्डिजविरुद्घको खेलमा अनुभवी खेलाडी डेल स्टेनको अनुपस्थिति दक्षिण अफ्रिकाका लागि चिन्ताको विषय बनेको छ । घाइते भएका कारण स्टेन उक्त खेलमा उपस्थित हुने छैनन् ।

यसैगरी स्वास्थ्य समस्याकै कारण युवा बलर लुङ्गी निग्दीले पनि वेस्ट इन्डिजविरुद्घ खेल्न सक्ने सम्भावना निकै कम छ । दक्षिण अफ्रिकाको ब्याटिङ पनि खासै प्रभावकारी देखिएको छैन । सोमबारको खेल हुने रोज बल रंगशाला आसपास वर्षा हुन सक्ने मौसम विभागको अनुमान छ । त्यसैले यी दुई टोलीबीचको खेल प्रभावित हुन सक्ने सम्भावना पनि उत्तिकै छ ।

यी दुई टोलीबीच खेलिएका पछिल्ला पाँचवटा एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले तीन जित हात पारेको छ । दुई खेलमा भने वेस्ट इन्डिज विजयी भएको छ । पछिल्लो पटक यी दुई टोली सन् २०१६ को जुन २४ तारिखमा आपसमा भिडेका थिए । उक्त खेलमा वेस्ट इन्डिज विजयी भएको थियो । जारी विश्वकपको अभ्यासमा खेलमा पनि यी दुई टोलीबीच खेल भएको थियो । तर, उक्त खेल वर्षाका कारण बीचैमा रद्द भएको थियो ।

यसैगरी विश्वकपमा हालसम्म यी दुई टोलीबीच ६ खेल भएको छ । दक्षिण अफ्रिका चार र वेस्ट इन्डिज दुई खेलमा विजयी भएका छन् । सन् १९९२, सन् २००७, सन् २०११ र सन् २०१५ को विश्वकपमा दक्षिण अफ्रिका विजयी भएको थियो । सन् १९९६ र सन् २००३ को विश्वकपमा भने वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई हराएको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने हालसम्म यी दुई टोलीबीच कुल ६१ खेल भएको छ । ४४ खेलमा दक्षिण अफ्रिका र १५ खेलमा वेस्ट इन्डिज विजयी भएका छन् । एक खेल बराबरीमा सकिएको छ भने एक खेल अनिर्णित रूपमा टुंगिएको छ । आफ्नो घरेलु मैदानमा खेलिएको खेलमा भने दक्षिण अफ्रिकाले २० र वेस्ट इन्डिजले सातवटा जित हात पारेका छन् ।

हालसम्म वेस्ट इन्डिजविरुद्घ दक्षिण अफ्रिकाले बनाएको उच्च स्कोर चार सय ३९ रन र दक्षिण अफ्रिकाविरुद्घ वेस्ट इन्डिजले बनाएको उच्च रन तीन सय चार रन हो । वेस्ट इन्डिजविरुद्घ दक्षिण अफ्रिकाले बनाएको सबैभन्दा कम स्कोर एक सय ४० रन र दक्षिण अफ्रिकाविरुद्घ वेस्ट इन्डिजले बनाएको कम योगफल ५४ रन हो ।

यसैगरी वेस्ट इन्डिजले अघि सारेको तीन सय चार रनको विजयलक्ष्य पनि दक्षिण अफ्रिकाले पूरा गरेको छ भने वेस्ट इन्डिजले दक्षिण अफ्रिकाद्वारा अघि सारिएको दुई सय ९७ रनभन्दा बढीको लक्ष्य भेट्टाउन सकेको छैन । दक्षिण अफ्रिका आफूले खेलेका पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ । वेस्ट इन्डिज पनि आफूले खेलेका पछिल्ला पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ ।
 


 

More form the Internet

loading...