Suvadin, Home
सजना र सविनले सपनाको अगाडिपश्चात्ताप गरेर रुन नपाउँदै सपना सबैको आँखाबाट ओझेल भइन् ।

काठमाडाै‌, जेठ १९ - सपनाको भट्टीनजिकै पुगेपछि प्रायः सबै तन्नेरी र वृद्धहरूको आँखा पनि टक्क अडिन्थ्यो । चाहे सद्भावनाले होस या प्यासले । नअडियोस् पनि किन सपना अति सुन्दर मानौँ परीजस्तै थिई । गोरो बाटुलो बान्की परेको अनुहार थियो । रगत चुहिएलाजस्तै थिए दुवै गालाका पाटाहरू, आँखाहरू त्यस्तै ठुलाठूला सुन्दर थिए । अनारको दानाहरूझैँ मिलेका दाँतहरू थिए । पुष्ट छाती, हलक्कै बढेको शरीर उसको आकृति हेरेपछि धित मार्न सबैलाई हम्मेहम्मे नै पर्थ्यो ।

सत्रअठार वर्षमा उर्लिएका जवानीका छालहरूलाई किनारा लगाएर सपना हरदम छोइला, भुटुवा बनाउन, रक्सी दिन भाँडा माझ्नमै व्यस्त हुन्थी । तन्नेरीहरू सपनाको आँखामा आँखा गाडेर खुसी साट्न लालायित हुन्थे । रहर लाग्दो जवानी सपनाको पोल्टाभरि खन्याउने आशमा तँछाडमछाड गर्थे । तन्नेरीहरूले जतिसुकै मरिमेटे पनि सपनाको आँखामा आँखा राख्ने रहर अधुरो नै हुन्थ्यो । अहँ, कुनै तन्नेरीहरू सपनाको अधरमा रहरहरू टुसाएको छनक पाउँदैनथे । सपनाको भट्टीमा पस्नु निरर्थक छ भन्नेहरू पनि थुप्रै थिए ।

सपना आफ्नो लागि अथाह चाहनाका महलहरू बनाउँदैनथी । ऊ पाखुरा खियाउँथी केवल आमा र भाइबहिनीको आवश्यकता परिपूर्ति गर्नको लागि । थकाइले चुर भएर सुइय सुस्केरा हाल्दै केही क्षण टुसुक्क बस्दा पनि भाइबहिनीको भविष्य सम्झेर उसको मथिङ्गल उथलपुथल हुन्थ्यो ।

भाइबहिनीको लागि नै असीमित रहरहरू फुलाउँथी । भाइबहिनीको खुसीको खातिर भट्टीमा आउनेहरूले हानेका व्यङ्ग्यवाणलाई सजिलै आत्मसात् गर्थी । सपनाले आफ्नो बहकिन खोज्ने मनलाई शिलामा परिणत गरी । आमा र भाइबहिनीको खुसीका लागि आफ्नो रहर समर्पण गरी । लाऊँलाऊँ खाऊँखाऊँ भन्ने उमेरमा नै सम्पूर्ण बोझ सपनामाथि थुपारिदियो बाबु कृष्णभक्तले ।

पापी कृष्णभक्तलाई सपनाको फक्रन लागेको यौवनको पर्वाह भएन । न अरू चिचिला छोराछोरी र बिरामी स्वास्नीकै चिन्ता भयो । व्यक्तिगत स्वार्थमै चुर्लुम्म डुब्यो ऊ । छोरीको विवाह गर्ने उमेरमा कृष्णभक्त स्वय म सुन्दरीको मायाले मर्माहत भयो । सुन्दरीलाई पाएर उन्मत्त भएको कृष्णभक्तले स्वास्नी–छोराछोरीको मुटु छेदन गर्न कुनै कसूर बाँकी राखेन ।

पत्नी गौरीलाई घाँटी अचेटेर मर्नान्त पार्दै घाँटीबाट तिलहरी र कानबाट टपहरू थुत्योस छोराछोरीलाई लाठाले हिर्कायो । घरमा भएका भाँडाकुँडा, लत्ताकपडा, सुनचाँदी र पैसा सबै कुम्ल्याएर निष्फिक्रीसँग हाँस्दै बाटो लाग्यो । सीताझैँ स्वास्नी र तामाका मुनाजस्तै छोराछोरीलाई दलदलमा फ्याँकेर गर्व अनुभूति गर्यो कृष्णभक्तले ।

कृष्णभक्तको त्यो वीभत्स र क्रूर व्यवहारले गौरीलगायत सपना, सजना र सविनलाई नै मर्माहत पार्यो । सबै विचलित हुँदै विलाप गर्दै रोए । भर्खरै एस।एल।सी पास गरेकी सपना केही बुझ्ने भइसकेकी थिई उसले आफ्नो हृदयमा भएका हाहाकारलाई पन्छाएर आमालाई सुमसुम्याउँदै भनी “आमा, तपाईं नै रोएर समालिन सक्नुभएन भने हामी कसको सहारामा बस्नू रु बाबुलाई हाम्रो पटक्कै माया छैन, हामीचाहिँ उसको मायामा किन रुने रु आमा म ठूली भइसकेँ केही काम गरौँला ।

‘राजा मरे त राज्य अड्किँदैन’ त्यस्तै बाबु गए पनि हामीलाई फरक पर्दैन हिक्मत गरेर बाँचौँ । त्यो पाजीको अगाडि भाइबहिनीलाई ठुलो मान्छे बनाएर देखाउनुपर्छ बुझ्नुभो रु नरुनोस् आमा, त्यो असत्तीको मायामा नरुनोस् ।”

गौरी सपनाको कुराले केही बेर ट्वाल्ल परिन् । उनले कल्पनासम्म गरेकी थिइनन् सपना त्यति धेरै तर्क दिन सक्ने भइसकी होली भन्ने । गौरीलाई सपनाको कुरो ठिक लाग्यो । गौरीले सपनातिर हेर्दै भनिन्— “नानी, तैँले ठीकै भनिस् । अब म त्यस पापीको मायामा कल्पन्नँ बुझिस् रु मनलाई कठोर पार्छु, कठोर ।”

आमाको कुराले सपना पनि खुसी भई । सबैले फाटेको मन सिउनु नै श्रेय ठाने । कृष्णभक्तले नराम्रोसँग परिवारलाई लत्याएपछि गौरी र सपनाले पेट पाल्नका लागि घरैमा सानोतिनो भट्टी खोले । त्यहाँबाट आएको पैसाले एकपेट मीठोपिठो खानका साथै सजना र सविनलाई पढाउन जेनतेन पुग्थ्यो । बाबुले छोडेको जिम्मेवारी सपनाले थपक्क काँधमा थामी । आफ्नो लक्ष्य र भविष्यलाई थाती राखेर भाइबहिनीलाई शिखर टेकाउने मनमनै सङ्कल्प गरी उसले । बैँसलाई थेग्नु भनेको आगोका लप्काहरू निल्नुजत्तिकै कठिन थियो । सपनाले निलिरही आगोका लप्काहरू । यही क्रममा सपनाका बैँसालु दिनहरू बित्दै गए ।

गौरीको मृत्युपछि भने येनकेन घिसारेका दिनहरूमा अर्को विपत् आइलाग्यो । भोलिभोलि आमाको लागि औषधी किन्नुपर्ने पैसाको काम घटे पनि आमाको काजक्रियाको लागि पैसाको टड्कारो आवश्यकता पर्यो । आफैँ विह्वल भएकी सपनाले भाइबहिनीलाई समाल्नुपर्यो । यस्तो कठिन परिस्थितिमा महेशकाजीले आर्थिक सहयोग गरे ।

छिमेकीहरू कसैले मुखको सहानुभूति दिए भने कसैले शारीरिक रूपले काममा सहयोग गरे । अरू छिमेकीले स्वार्थरहित भावनाले सहयोग गरे भने महेशकाजीले सपनालाई पासोमा पार्न पाइन्छ कि भन्ने हिसाबले आर्थिक सहयोग गरे । मनमनै सोच्छन् काजी, “कम्ताकी छ त्यो सपना यसो कर्के नजरले पनि हेर्दिन । अब त गुन लगाएको छु । गुनको बदला लिन बिस्तारैसित त्यसका नजिक हुन्छु । जीवनमा आनन्दका दिन आउने भयो । आहा १ त्यो भरभराउँदी परीसँगै यो जिन्दगी मस्तीमस्तीमै बिताउँछु । कहाँ रूप सिद्धेकी स्वास्नी, कहाँ सपना— महेशकाजीले मनमनै यस्तै मीठो कल्पना गरे ।

जोसुकैलाई जत्तिनै पीडा परे पनि समयलाई केही फरक परेनस दिनहरू बित्दै गए । गौरीको काजक्रिया पनि सकियो । सपनाले आफ्नो हृदयमा लागेको घाउ खाटा नबस्दै पुनः भट्टी चलाउन थाली ।

अजिँगरको आहारा दैवले पुर्यायो भनेर मख्ख भएको महेश एक दिन सपनाको भट्टीमा आए । महेशलाई देखेपछि सपनाले बडो सत्कारका साथ बस्न आग्रह गरी । सपनालाई निर्वस्त्र पार्न आतुर भएको महेशले र्याल चुहाउँदै थुचुक्क मेचमा बसे । महेश आफ्नो पैसा फिर्ता माग्न आएको हुनुपर्छ भन्ने लागेर कुरो बनाउँदै सपनाले “काजीसाप केही खाने कि रु हजुरले हामीमाथि लगाएको गुन कहिल्यै बिर्सनेछैनौँ । हजुरको पैसा चाँडोभन्दा चाँडो चुक्ता गर्नेछु” भन्न पनि भुलिन ।

मौका पर्खिरहेको महेशले मुसुक्क हाँस्दै भने “लाटी, के पैसा, सैसा दिने कुरा गरेकी तिम्रो लागि नाथे तीसचालीस हजार त के मसँग भएको सम्पूर्ण सुम्पन तयार छु । आइन्दा तिमीले कुनै दुःख गर्नुपर्दैन । म तिमीहरूका सम्पूर्ण चाहनाहरू पूरा गरिदिन्छु । त्यसको बदलामा तिमी मेरो हृदयमा बसिदेऊ । मलाई केवल तिमी भए पुग्छ । साँच्चै सपना, म तिमीलाई पूजै गरेर राख्छु ।”

महेशकाजीको कुराले सपना अक्क न बक्क भई । सपनालाई मौन देखेर महेश ज्यादै खुसी भए । सपनाले आफ्नो प्रस्ताव स्वीकार गरी भन्ने सोचे महेशले । महेश बसेको ठाउँबाट उठेर सपनाको नजिक पुगेर सपनाको हात समातेर चुम्बन गरे ।

सपनाले रिसले थर्थर काम्दै महेशलाई थुक्दै भनी— “थुक्क १ पाजी, आइन्दा मलाई छोइस् भने तेरो शिर नै गिडिदिन्छु । भट्टीमा बस्नु मेरो बाध्यता हो, भट्टीमा बस्नेहरू सबै बिकाउ हुँदैनन् । कुमार केटाहरूले त मलाई केही भन्न सक्दैनन् । घरमा स्वास्नी छोराछोरी भएको मान्छेले ...’’

भट्टीमा खलबल भएको सुनेर सजना र सविन पनि आए । महेशकाजीलाई देखेपछि नमस्कार गर्दै भने— “किन हल्ला गरेको रु हामीले त केही भयो कि भन्ठानेका थियौँ ।”

सपनाले बोल्न नपाउँदै महेशले सजना र सविनतिर हेर्दै भने “सपना र मेरो धेरै पहिलादेखिको सम्बन्ध छ । त्यसैले त्यत्रो पैसा आँखा चिम्लेर दिएँ । अबदेखिसँगै बसौँ भनेको पटक्कै मान्दिनन् ।”

सपनाले भाइबहिनीतिर हेरेर आशा मिश्रित स्वरमा भनी, “यिनीहरू मेरा मुटुका धड्कन हुन् । यिनीहरूले मलाई राम्ररी चिनेका छन् । तपाईंको जाली कुरामा विश्वास गर्दैनन्, बुझ्नुभो रु तपाईँ त के स्वय म भगवान् आएर मलाई दोषी भने पनि यिनीहरू पत्याउदैनन् । ”

समाजले केही मानेगुनेका । लगभग आफ्नो खुट्टामा उभ्भिन सक्ने भएका शिक्षित सपनाका भाइबहिनी सपनाको कुरामा होइन महेशकै कुरामा विश्वास गर्छन् । सजना सपनालाई औँला ठडाउँदै भन्छे— “दिदी, तिमीलाई पोइ नै चाहिएको भए उहिल्यै पोइल गएकी भए हुन्थ्यो । हामी कुल्ली काम गरेर खान्थ्यौँ तर हाम्रो इज्जतमा त दाग लाग्दैनथ्यो । भन, यो समाजलाई कसरी मुख देखाउने रु”

सविन कुरा थप्छ, “दिदी तिमीले त हामीलाई ज्यूँदै मार्यौ । तिमीजस्ती पतिङ्गरले बाँच्नुभन्दा मर्नु ठिक छस जाऊ मर ।” महेशकाजी सपनाको घरमा आगो सल्काएर त्यहाँबाट हिँड्छन् ।

सपना भाइबहिनीका शब्दहरूले क्षतविक्षत हुन्छे । आफैँले आफैँलाई भुत्ल्याउँछे, आफैँलाई कोतर्छे । मानौँ पागलझैँ हुन्छे सपना । उसलाई झुन्डिएर मोरौ कि हाम फालेर मोरौझैँ हुन्छ । उसको मस्तिष्कले काम गर्न नै छोडेपछि भुइँमै डङ्ग्रङ्ङ पछारिँन्छे । सविन र सजना भोलि बदनाम हुनु साटो आज नै जिम्मा दिने सल्लाह गर्छन् । अचेत अवस्थामा नै सपनालाई घिच्याउँदै, मुन्ट्याउँदै लछार्दैपछार्दै महेशको घरमा पुर्याउँछन् । सपनालाई जिम्मा लिन दिव्यासँग आग्रह गर्छन् । सबै छिमेकीहरू आश्चर्यमा पर्दै सपनालाई हेर्दछन् ।

महेशकी श्रीमती दिव्यालाई सपनाको त्यो दुर्गति देखेपछि सहिनसक्नुहुन्छ । सपनाको बारेमा सबै सुनेपछि सपनालाई अङ्कमाल गर्दै भन्छिन् उनी, “देख्यौ सपना यही हो यो स्वार्थी दुनियाँ । मैले विवाह गरभन्दा मानिनौ । तिमीले यी सापहरूलाई पाल्न आफ्नो यौवन मार्यौ । वासनामा भुलेर बाबुले कतव्र्य छोड्यो । तिमीले कर्तव्य निर्वाह गर्यौ । कैयौँ आसक्त मनलाई चकनाचुर पार्दै अनगिन्ती पीडा सह्यौ । यिनीहरूलाई पाल्यौपोस्यौ र हुर्कायौ । भन के पायौ तिमीले रु”

दिव्या बोलेपछि सपनाको केही होश खुलेझैँ हुन्छ । दिव्या, सजना र सविनतिर हेर्दै पुनः कुरो थप्छिन्— “ए नालीका कीराहरू, समाजले नै सीता भनेर पुजेकी सपनालाई तिमीहरूले बेश्याको आक्षेप लगायौ रु धिक्कार छ तिमीहरूजस्ता भाइबहिनीलाई, तिमीहरूलाई लक्ष्यमा पुर्याउनको लागि सपनाले कति त्याग गरिन् थाहा छ रु सम्पूर्ण आदर्शले पूर्ण राकेशको प्रेमलाई लत्याइदिइन् । सपना केवल तिमीहरूको लागि बाँचेकी थिइन् । तिमीहरूले स्त्रीलम्पट त्यो पापी महेशको बात लगायौ होइन— यस देवीलाई रु तिमीहरूको लागि अब सपना मरिन् ।”

दिव्याको कुरा सुनेर सबै छिमेकीहरूको आँखाबाट आँसु झर्यो । सजना, सविनले पनि चित खाए । सबै छिमेकीहरू एकआपसमा कुरा गरे— “यो कलिमा एउटी आमा आफ्नो स्वार्थको लागि दुई महिनाको बच्चा छोडेर पोइल जान्छे । विचरी सपनाले त भाइबहिनीको लागि डाक्टरजस्तोको प्रेम पनि लत्याएकिरहिछन् । त्यस्ती हीराको टुक्राजस्ती दिदीको पनि इलाम बजारभरि तमासा देखाए ।”

दिव्याले सपनालाई काठमाडौँ ल्याउनको लागि बसपार्कतर्फ लागिन् । आफ्नो बचपनको प्यारो साथी राकेश अँझै अविवाहित छ भन्ने सुनेर सपनाको मुटु भक्कानियो । तीस/पैँतीस वर्षकी सपनालाई आफ्नो चालीस वर्षको फुपूको छोरासँग मिलाउन पाएकोमा दिव्या अति खुसी भइन् ।

सजना र सविनले सपनाको अगाडिपश्चात्ताप गरेर रुन नपाउँदै सपना सबैको आँखाबाट ओझेल भइन् । हो ओझेल...

ललिता ‘दोषी’
बुद्धनगर काठमाडौ‌


 

More form the Internet

loading...