Suvadin, Home

Cover Image

तत्काल मन्त्रीमण्डल पुनर्गठनको सम्भावना कति ?

अब सरकारका कुन मन्त्री फेरिन्छन र नयाँ कसले मौका पाउलान ? भन्ने चाँसो राजनीतिक वृत्तमा मात्रै नभइ नेकपाका नेता, कार्यकर्ता र आम सर्वसाधारणमा समेत बढेको छ । त्यति मात्रै होईन नेकपा पार्टीभित्रै मन्त्रीका लागि आकांक्षीहरुको मनमा ढुकढुकी चलेको छ ।

Author's Commentary

हालसम्मकाे कार्यकालमा असफलताको ट्याग लागेका आफुनिकट केही मन्त्रीहरूलाई विदाई गर्ने र नयाँ ल्याउने सोचाइमा प्रचण्ड पुगेका उनी निकट नेताहरू बताउँछन्  । 

Sb Saud |

काठमाडौं, असार ५ - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पछिल्लो अभिव्यक्ति सार्वजनिक भएसँगै अब सरकारका कुन मन्त्री फेरिन्छन र नयाँ कसले मौका पाउलान ? भन्ने चाँसो राजनीतिक वृत्तमा मात्रै नभइ नेकपाका नेता, कार्यकर्ता र आम सर्वसाधारणमा समेत बढेको छ । त्यति मात्रै होईन नेकपा पार्टीभित्रै मन्त्रीका लागि आकांक्षीहरुको मनमा ढुकढुकी चलेको छ ।   

उसो त प्रचण्डले गत असोज २० गते सरकारको गियर बदल्ने भन्ने अभिव्यक्तिले धेरै मन्त्रीहरु नआत्तिएका होईनन् । त्यसपछि करिब ९ महिनाको अन्तरालमा अहिले प्रचण्डले फेरी मन्त्रीण्डल पुनःगठन हुन्छ भनेपछि केहि मन्त्री आत्तिन पुगेका छन् ।

केहि उच्च तहका नेताले आफ्ना लागि मौकाका रुपमा हेरेका छन् । त्यसो त गत मंसिर २९ गतेदेखि २ सातासम्म बसेको नेकपाको सचिवालय बैठकमा अधिकांश नेताले मन्त्रीमण्डल पुनःगठन गर्न नेतृत्वसँग माग गरेका पनि थिए ।

त्यति बेला भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल लगायत नेकपाभित्र प्रभाव जमाएका अन्य धेरै नेताहरूले वर्तमान सरकारमा मन्त्री फेरिन आवश्यक रहेको आशय व्यक्त गरेका थिए ।  यता  अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकीकरणको काम पूरा भएपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने आश्वासन दिएका थिए । 

यसैबीच भोली नेकपाको सचिवालय बैठक बोलाईएको छ । बैठकमा पार्टी एकताको टुङगो लगाउने बताईरहँदा प्रचण्ड स्वयमले यसअघि बताएको मन्त्रीमण्डल पुनः गठनको विषयले प्राथमिकता पाउने र सरकारका मन्त्री फेरिने आँकलन गर्न सकिन्छ ।

प्रचण्डले भनेका थिए,-'पार्टी एकताले पुर्णता पाएसँगै मन्त्रीमण्डल परिवर्तन हुनेछ।' सरकारको नेतृत्व पनि आलोपालो गर्ने भद्र सहमति भएको दोहोर्याईरहने प्रचण्डको मन्त्रीमण्डल पुनर्गठन गर्ने भन्ने अभिव्यक्तिलाइ अर्थपुर्ण मानिएको छ । 

प्रधानमन्त्री मौन

प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुने बताईरहँदा प्रधानमन्त्री  केपी शर्मा ओलीले यसबारे केहि बताएका छैनन् । आज पोखरामा पनि पत्रकारसँग कुरा गर्दै प्रचण्डले सरकारका मन्त्री फेरिने बताएपनि यसबारे प्रधानमन्त्रीले सोचेर आवश्यक निर्णय लिने समेत बताए ।

उनले मन्त्रीमण्डल पुनर्गठनबारे आफूहरुबीच पछिल्लो समय छलफल भईहरेको बताए । तर, मन्त्रीमण्डल पुनर्गठनको क्षेत्राधिकार प्रधानमन्त्रीमै रहेको उनको भनाई थियो ।

हालसम्मकाे कार्यकालमा असफलताको ट्याग लागेका आफुनिकट केही मन्त्रीहरूलाई विदाई गर्ने र नयाँ ल्याउने सोचाइमा प्रचण्ड पुगेका उनी निकट नेताहरू बताउँछन्  । 


 

 


 

More form the Internet

loading...