Suvadin, Home

Cover Image

 अलमलियको कांग्रेस र लामो प्रतिक्षापछि प्रतिपक्षको राष्ट्रिय जागरण

निर्वाचनसकिएको करिब डेढ वर्षपछि पनि कांग्रेसको मनस्थिति हेर्दा र सार्वजनिक अभिव्यक्ति सुन्दा कांग्रेस विश्वकप फाइनलमा पराजित भएको टोलीजस्तो देखिन्छ । खेलकुदको क्षेत्रमा सबै पराजित टोलीलाई लाग्छ– उनीहरूको क्षमताको प्रदर्शन अब केवल अर्को विश्वकपमा हुनेछ, जहाँ उनीहरू विश्वकप हात पार्न पुन: भिड्नेछन् । कांग्रेसका नेताहरूको मनोदशा पनि त्यस्तै देखियो । उनीहरूलाई लागिरह्यो– अर्को निर्वाचनपूर्व आफ्नो क्षमता देखाउने ठाउँ अब छैन । यो बेला कांग्रेसभित्र आन्तरिक जागरणको खाँचो छ ।

मुलुकमा दुई तिहाइको सरकार छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अल्पमतमा छ । सरकार मनोमानी ढंगले अघि बढिरहँदा पनि प्रतिपक्षी अलमलमा परेर मौनजस्तै छ । अलमलमा पर्नुमा वैचारिक अस्थिरता र गुटबन्दी मुख्य कारण हुन् ।

लोतकन्त्रको गतिशिलताका लागि प्रतिपक्ष अविभाज्य अंग हो । सिद्धान्त र व्यवहारत: प्रतिपक्ष अल्पमतमै हुन्छ । प्रतिपक्षको मूल कार्य ‘सरकारको नीति तथा कार्यक्रम नै ब्रह्मान्ड होइन’ भनेर प्रमाणित गर्नु हो । वैकल्पिक विचारलाई सदनभित्र र बाहिर जीवन्त राख्नु हो । वैकल्पिक राजनीतिको निरन्तर खोजी गर्नु नै प्रतिपक्षको मूल कार्यभार हो ।

एकातर्फ, सदनभित्र गुणस्तरीय बहसलाई संस्थागत गर्ने कार्यमा प्रतिपक्ष लाग्ने विश्वास गरिन्छ । फरक मत र वैकल्पिक चिन्तनबिना सदनमा कुनै विचारले आफ्नो विशिष्टता प्रमाणित गर्न सक्दैन । कुनै विचार जीवन्त रहन पनि सक्दैन । अर्कोतर्फ, सरकारको कार्यशैलीलाई निरन्तर मूल्यांकन गर्ने थिति बसाउँदै प्रतिपक्षले लोकतान्त्रिक पद्धति बलियो बनाउने विश्वास गरिन्छ । यसो गरिरहँदा प्रतिपक्षको मूल: ध्येय अल्पसंख्यकको राजनीतिक अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ हुन्छ । किनकि, प्रतिपक्ष आफैँ अल्पमतमा हुन्छ ।

विद्यमान सदनमा नेपाली कांग्रेस र अन्य साना दलका गतिविधि हेर्दा यी दलहरूले प्रतिपक्षको भूमिका रत्तिभर प्रभावकारी बनाएका छैनन् । प्रतिपक्ष आफैँ अलमलिएको अवस्थामा छ । निष्काम नै उसको दिनचर्या बनेको छ । जीवनको उद्देश्य फेला नपारेको युवाजस्तो शिथिल र दिग्भ्रमित देखिन्छ, प्रतिपक्ष । प्रतिपक्ष आफ्नो आधारभूत भूमिकाबाट च्यूत हुँदा सरकार विस्तारै निरंकुशतन्त्रतर्फ लम्कने हो । सामाजिक सन्जाललाई नियन्त्रण गर्न ल्याइएको व्यवस्था त्यही यात्राको पछिल्लो दृष्टान्त हो ।

संसदीय प्रक्रिया बलियो बनाउने कार्यसँगै प्रतिपक्षले आफ्नो भूमिका बलियो बनाउने हो । संसद्को प्रकृति एकात्मकता होइन । संसद् कुनै हिसाबले अखण्डको धरोहर पनि होइन । संसद् मूलत: प्रतिनिधिसभा हो, जसको आधारभूत चरित्र नै विभिन्न स्वार्थ र विचारको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ । सामाजिक स्वार्थको आधारमा विचारको टकराव भएको खण्डमा संसद्मा जहिले पनि मतमतान्तर हुन्छ । वैकल्पिक सोच र चिन्तनले ठाउँ पाउँछ । प्रतिनिधिसभामा प्रायश: बहुमतको स्वार्थ रक्षा गर्ने र अल्पमतको अधिकार सुनिश्चित गर्नेबीच भिन्नता हुन्छ । आधुनिक प्रतिनिधिसभामा यस्तो दृश्य दलीय नीति र कार्यशैलीबाट प्रकट हुने विश्वास गरिन्छ । आधारभूत रूपमा सरकारमा भएको दलले जे–जस्तो स्वार्थको रक्षा गर्छ, प्रतिपक्षमा भएका दलहरूले त्यस्तै किसिमको विचारको प्रतिनिधित्व गर्दैनन् भन्ने बुझाइले काम गरिरहेको हुन्छ ।

तर पहिलो वर्षमा कांग्रेस आफ्नो आधारभूत कर्तव्यबाट च्यूत रह्यो । कांग्रेस कर्तव्यच्यूत रहनुमा उसको वैचारिक अलमलले काम गरेको छ । गत निर्वाचनमा पराजित भएपछि यसका नेताहरूले आफू प्रतिपक्षी दलका नेता भएको वास्तविकतालाई लामो समय आत्मसात् गर्न सकेनन् । उनीहरूले राजनीतिलाई राजनीति होइन, केवल चुनावी खेलको रूपमा लिए ।

निर्वाचनसकिएको करिब डेढ वर्षपछि पनि कांग्रेसको मनस्थिति हेर्दा र सार्वजनिक अभिव्यक्ति सुन्दा कांग्रेस विश्वकप फाइनलमा पराजित भएको टोलीजस्तो देखिन्छ । कांग्रेसी नेताहरूले आफूलाई त्यसरी नै प्रस्तुत गरे । खेलकुदको क्षेत्रमा सबै पराजित टोलीलाई लाग्छ– उनीहरूको क्षमताको प्रदर्शन अब केवल अर्को विश्वकपमा हुनेछ, जहाँ उनीहरू विश्वकप हात पार्न पुन: भिड्नेछन् । कांग्रेसका नेताहरूको मनोदशा पनि त्यस्तै देखियो । उनीहरूलाई लागिरह्यो– अर्को निर्वाचनपूर्व आफ्नो क्षमता देखाउने ठाउँ अब छैन । आखिर अर्को निर्वाचनले मात्र उनीहरूलाई प्रतिपक्षबाट सरकारमा रूपान्तरित हुने मौका दिनेछ ।

बहुमतको विपक्षमा सशक्त विचार राख्दा प्रतिपक्षले भिन्न विचार मात्र राख्दैन । अल्पसंख्यकको चासोलाई ठाउँ दिन्छ । उनीहरूको अधिकार रक्षालाई आफ्नो आधारभूत कार्य सम्झन्छ । यसो गरिरहँदा प्रतिपक्षले राजनीतिक अल्पसंख्यकको अधिकारको पक्षमा बोल्छ ।

सूचनामाथि अल्पसंख्यकको अधिकार, मूलत: प्रक्रियागत अधिकार सुनिश्चित गर्न लागिपर्छ । संसद्मा अल्पसंख्यकको अधिकार र बहुसंख्यकको स्वार्थबीच बहस भइरहँदा त्यसले नेपालजस्तो विविधतायुक्त समाजमा समावेशी लोकतन्त्र संस्थागत गर्न मद्दत गर्छ । अल्पसंख्यकको आवाजले संसद्मा निरन्तर स्थान पाउँदा राष्ट्रिय तहमा खास किसिमको लोकतान्त्रिक पद्धति स्थापित हुन्छ । यस्तो कार्यले संवैधानिक परम्परामा संघीय संसद् सुहाउँदो तवरमा रूपान्तरण गर्न सघाउँछ । तर प्रतिपक्षले यी कुनै पनि कार्य गरिरहेका छैनन् ।

तर, कांग्रेस एकाएक जुर्मुरायो । कांग्रेस मुख्यालयमा पत्रकार सम्मेलनबाट प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले राष्ट्रिय जागरण गर्ने कार्यतालिका सार्वजनिक गरे । पार्टीका पूर्वमहामन्त्रीको निधनले १३ दिन पर धकेलियो पहिलो चरणको जागरण अभियान । 

विडम्बना, सरकार अलोकप्रिय हुँदा पनि प्रतिपक्षी कांग्रेसतर्फ नागरिकको विश्वास देखिएको छैन । कसैप्रति वितृष्णा मात्र आफूप्रतिको आकर्षण हुन सक्दैन । अझ पार्टीभित्र संस्थापनइतर समूह आक्रामक, सभापति स्वयं रक्षात्मक अवस्थामा छन् । पार्टीभित्रै रक्षात्मक अवस्थामा रहेको कमाण्डरको नेतृत्वमा कुन मनोबलका साथ अघि बढ्ला जागरण ? चासो र चिन्ता छ कांग्रेसजनको ।

पसिना गह्नाउने, आफ्नो श्रममा बाँच्ने स्वाभिमानी किसानभन्दा अत्तर बास्ना आउने, घरमा चाकडी बजाउने, तस्करी, दलाली र भ्रष्टाचारीको घेरामा रमाइरहने प्रवृत्तिले कांग्रेसको जनतासँगको संवाद टुटेको छ । जागरण अभियान जनतासँग टुटेको सम्बन्ध जोड्न उपयोगी हुनसक्छ तर त्यसका लागि आफैँभित्र नयाँ जागरण ल्याउन कांग्रेस तयार हुनुपर्छ ।

सत्ताप्रति नागरिकमा उत्पन्न अविश्वासलाई आफूसँग विश्वासमा बदल्न सक्ने नेतृत्व अहिले कांग्रेसलाई चाहिएको छ । सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला कसैप्रति जनताले आशाको नजरले हेरिरहेका छैनन् । कांग्रेसले आफूलाई रूपान्तरण नगर्ने हो भने जनताको विश्वास प्राप्त गर्नसक्दैन । 

कांग्रेसले जनतासामु जाँदा गुटभन्दा माथि उठेर जनतामा जागरणको चेत फैलाउन सक्नुपर्छ । नाता र दाताभन्दा पर रहेर कांग्रेसले तल्लो तहसम्म भएको विवाद मिलाइसक्न‍ुपर्छ । संसार बदल्छु भन्नेहरू आफैँ बदलिएका उदाहरण संसारभर छन् । पछिल्लो घरेलु उदाहरण तत्कालीन माओवादी नै छ । एक दशक परिवर्तनको नारा दिएर जंगलबाट शहर पसेसँगै देश र समाजको मुहार होइन, आफ्नै जीवनशैली मात्र फेर्दा अन्ततः माओवादी आन्दोलनले उत्पन्न गरेको राप र ताप एकाएक स्खलित भयो । 

जागरणमा मुख्य एजेण्डा के हुने र कसरी जाने भन्‍ने तय गरिसक्नुपर्छ । संसदीय प्रक्रियालाई संस्थागत नगर्दा र सार्वजनिक वृत्तलाई आलोचनात्मक बनाउने कार्यमा योगदान नपुर्‍याउँदा कांग्रेस भूमिका गौण बन्दै जाँदा जनता निराश भएका हुन् । 

 सरकारले एकात्मक व्यवस्थालाई प्रश्रयी दिइरहँदा संघीयतासम्बन्धी प्रत्येक सवाललाई समातेर मात्रै बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने ठाउँ छ । तर सरकारजस्तै प्रतिपक्षी पनि समृद्धिको दिवास्वप्नमा डुबेको र संघीयताविरोधी रहेकाले प्रतिपक्षीय राजनीतिसमेत बहुमतको स्वार्थ-रक्षामा कटिबद्ध छ । अल्पमत निरन्तर मारमा परिरहँदा लोकतान्त्रिक व्यवस्था कमजोर भइरहेको छ । नेपाली जनगणले यस्तो अवस्था भोगिरहेको बेला कांग्रेसको जागरणले राजनीतिप्रतिको वितृष्णालाई विश्वासमा परिणत गर्न सक्नुपर्छ ।


 

More form the Internet

loading...