Suvadin, Home

एजेण्डाहीन मिलनको कपटी आह्वान!

केवल प्रतिष्पर्धी दलहरुको विरुद्ध आफनै पार्टीकै समेत घोषित सिद्धान्त समेतको विरुद्ध कुशासन जनतामा लादिरह्यो। परिस्थिति यस्तो आयो कि कांग्रेसी सर्वसत्तावादले एकथरि जनतालाई बन्दुक बोक्न बाध्य बनायो, एकथरि जनता शान्तिपूर्ण हिसाबले प्रतिरोध गर्न लागिरहे।
प्रतिकात्मक तस्वीर। साभारः कृष्णगाेपाल/कान्तिपुर

तपन बराइली 


कांग्रेस उम्मेदवार मिठो शैलीमा देश बनाउन सबै मिलौं भन्दै हुनुहुन्छ। तर, देश बनाउन मिलौं भनेर देश बनिँदैन। राणा शाहीको रजगजका बेला राणाहरु सबैलाई मिल्न उर्दी गर्थे। उनीहरुको उर्दीको मूल कुरा जनताले शासनमा आँखा गाड्न नपाउने, अधिकारको विषयमा कुरा गर्न नपाउने , लेखपढ गर्नलाई इच्छा देखाउन नपाउने, मुखिया सामन्त र गाउँका ठालुहरुको हुकुम आदेशलाई सरासर पालन गरेर उनीहरुसँग हाँसेर मिल्नुपर्ने उनीहरुको आदेश हुन्थ्यो।

पछि पञ्चायतकालमा पनि निरंकुशताविरुद्ध आवाज नउठाउने गरी सबै नेपालीहरु राजतन्त्रको छत्रछाँयामा मिल्नलाई शाही निरंकुशताले उर्दी जारी गर्थ्यो। पञ्चायत कालमा जनताको मिलनको शर्त थियो उनीहरुले फेरिपनि निरंकुश पञ्चायतविरुद्ध आवाज उठाउन पाउने छैनन्। आज बहुदलीय प्रजातन्त्र आएपछि भने जनताको मतले नेपाली कांग्रेस पटक–पटक सत्ताको अधिकारी भयो।

सर्वसत्तावादी उन्मादमा माले मसाले मण्डले एक हुन् भन्दै देशका परिवर्तनकारी शक्तिहरुलाई अपमान गर्‍यो। त्यसबेला उसले यो मिलनको राग अलापेन। केवल प्रतिष्पर्धी दलहरुको विरुद्ध आफनै पार्टीकै समेत घोषित सिद्धान्त समेतको विरुद्ध कुशासन जनतामा लादिरह्यो। परिस्थिति यस्तो आयो कि कांग्रेसी सर्वसत्तावादले एकथरि जनतालाई बन्दुक बोक्न बाध्य बनायो, एकथरि जनता शान्तिपूर्ण हिसाबले प्रतिरोध गर्न लागिरहे।

यही कांग्रेसी नालायकी र अन्तरकलहले बहुदलीय प्रजातन्त्रलाई फेरि निरंकुशताका सामू अर्पण गर्‍यो। परिस्थितिको लात खाएर कम्युनिस्टहरुसँग सहकार्य मा फेरि कांग्रेस आयो। कम्युनिस्ट आन्दोलनको रापले पैदायसी संवैधानिक राजतन्त्र कवच कांग्रेसले उतार्‍यो। देशमा गणतन्त्र आयो।

देशको गणतान्त्रिक संविधानले नेपाललाई समाजवाद उन्मूख भनी घोषणा गर्‍यो। अब कांग्रेससँग निकट इतिहासको शर्मनाक तथ्यहरु, जनतालाई कम्युनिस्टले जिते लोकतन्त्र संकटमा पर्छ भन्ने हाँस्यास्पद 'जोकहरु' बाहेक कुनै एजेण्डा छैन। अब एजेण्डाविहीन बनेको कांग्रेस फेरि निरंकुश राणाशाहीले, जनविरोधी तानाशाहीले उपयोग गरेको आउटडेटेड 'मिलन'को नारा लिएर जनता झुक्याउँदैछ।

राजनीतिमा मिलन एजेण्डामा हुन्छ। यत्ति कुरा कांग्रेसले बुझेको कुरा हुनै सक्दैन। तर, जनपक्षीय एजेण्डा नहुँदा के विषयमा कांग्रेससँग मिल्ने हो? लोकतान्त्रिक लडाइँमा सँगसँगै भएका र लोकतन्त्रलाई जीवनशैली बनाएका नेपाली कम्युनिस्टलाई अधिनायकवाद लाद्न चाहने भनि आरोपित गरिएको गालीका आधारमा मिल्ने हो? उदारीकरणका नाममा राज्यका महत्वपूर्ण उद्याेगधन्दा कलकारखानालाई बेचेर नेपाली जनतालाई बेरोजगार बनाउने नीतिका आधारमा मिल्ने हो?

सामाजिक सुरक्षा र गाउँमा बजेट विनियोजन गर्दा, विकेन्द्रीत राज्यसञ्चालन प्रणाली अवल्बन गर्दा कम्युनिस्टले कनिका छरेर ढुकुटी सिध्याये भन्ने नीतिका आधारमा मिल्ने हो? पसल जसरी शिक्षा र स्वास्थ्यका संस्थाहरु खोलेर सरकारी लगानीलाई कमजोर बनार्इ नाफाखोरहरुलाई पोस्ने अनियन्त्रित निजीकरण को नारामा मिल्ने हो? समानता र सामाजिक न्याय सहितको समाजवाद हैन केही वर्षमा सिर्फ भोट हाल्न पाउने अधिकार नै अन्तिम अधिकार हो भन्ने कुरामा मिल्ने?

न्यायालय, सुरक्षा निकाय, शिक्षालय लगायतका ठाउँमा निर्लज्ज दलीय हस्तक्षेपको निरन्तरताका लागि मिल्ने हो? केका लागि मिल्ने हो। इतिहासले सिद्ध गरेको छ, शासनको आसनमा बसेर जनताका आकांक्षालाई कुठाराघात गर्ने छली र कप्टीहरु आफ्नो शासकीय महत्वाकांक्षा पूरा गर्न कि त राजकीय सत्ताको दुरुपयोग गर्छन् कि त मिलौं जुटौं भन्ने सुन्दर शब्दका आवरणमा आफ्नो स्वार्थसिद्ध गर्न मिहिनेत गर्छन्। झापा क्षेत्र नम्बर एकमा कांग्रेसको मिलनको नारा यही छलकपटको पूरानो शास्त्रको नयाँ संस्करण हो।

आज राम कार्की र कम्युनिस्ट गठबन्धनले उठाएको मुद्दा  देश नेपाल र यहाँका जनताको निकट भविश्य कस्तो बनाउने भन्ने मुद्दा हो। जनपक्षीय शासन व्यवस्था , कानूनको सर्वोच्चता, राजकीय उद्याेगधन्दा कलकारखानाको विस्तार, शक्ति पृथकीकरण, महंगी नियन्त्रण, गरिबी निवारण , राजनीतिक मात्र हैन आर्थिक सामाजिक क्षेत्रमा समेत लोकतन्त्रको प्रत्याभूति र कम्युनिस्ट आन्दोलनले परिकल्पना गरेको स्वतन्त्र नागरिकहरु बसोबास गर्ने समानता, सामाजिक न्याय र सुरक्षाले भरिपूर्ण समाजवादी राज्य। स्वाभिमानी नेपाल र नेपाली जसले आत्मसम्मानका साथ छिमेक सम्बन्ध बनाएको होस्।

बालबालिकालाई प्रेम र साझा सामाजिक दायित्वका रुपमा हुर्काउने, शिक्षा स्वास्थ्य र रोजगारलाई राज्यको दायित्वको रुपमा जनताको मौलिक अधिकार को रुपमा स्थापित गर्ने। हिजो कांग्रेसको बहुमत प्राप्त सरकारले नवउदारवादको प्रलयकारी नितिमार्फत जनतामा थोपरेको सास्तीबाट नेपाल र नेपालीलाई मुक्त गर्ने। अब यस्ता एजेन्डाहरुमा मिलन सम्भव छ।

स्वर्गको ठेगाना जुन संविधानसभामार्फत बनेको हाम्रो संविधानले स्पष्ट गरेको छ, त्यसलाई खल्तीमा राखेर नर्कको यात्रा गर्ने कांग्रेस र त्यसलाई लागू गर्ने कसम खाएर विराट मानवताको पक्षमा लागेका कम्युनिस्टहरु बीच मिलन कसरी हुन्छ? यसपाली यी एजेण्डाहरु चुनावका एजेण्डा हुन्। राम कार्कीका एजेन्डा हुन्। यी एजेण्डा छोडेर भाइभतिज छिमेकीको नाराले, मिलौं भन्ने कपटी भाषाले जनताको समाजवादी सपना ओझेल पर्ने छैन। जनताले केही बोतल रक्सी र केही चोक्टा मासुमा आफ्नो भविश्य बेच्ने छैन।


 

More form the Internet

loading...