डा. गोविन्द केसीको आमरण अनशनको १३औं दिन
मलाई माफ गर डाक्टर केसी ‘एक छाक भोको बस्न सक्दिन’
प्रिय ‘पागल’,
मलाई माफ गर।
आज तिम्रो निर्जल निराहार उपवासको अनन्त १३औं शृङ्खलाको १३औं दिन। मैले हिजोसम्म पहिलो सत्याग्रहदेखि जे जसरी साथ दिए जति गरे तर आजबाट गर्न सकिन अत्यन्तै दुःखी छु।
मेरो बाध्यता मेरो घर परिवार र मेरो व्यवहार हो। मैले मेरो लागि सोचे, आफ्नो लागि सोचे तर देशको लागि सोच्ने बेला मलाई मेरो स्वार्थले बन्धक बनायो। म आफैसँग क्षुब्द छु।
आफूले आफैलाई प्रताडित गर्दै आफ्नो स्वार्थको गन्तव्यमा हिँडे तसर्थ पुनः सत्याग्रही र सत्याग्रह्को साथ र समर्थन गर्ने सबै सबैसँग भावुक बन्दै क्षमा चाह्न्छु।
मेरो साथ र समर्थन आगामी दिनमा जारी रहनेछ, डाक्टर केसी सत्य, न्याय र निष्ठामा रहुन्जेल मेरो सहयात्रा रोकिने छैन, छेकिने छैन अविरल अविचल र अविश्राम रहनेछ।
मलाई पनि सत्य, निष्ठा र न्यायको भोक छ तर केही गर्न खोज्दा व्यक्तिगत र पारिवारिक अनि व्यवहारिक पक्षले पाइला रोकिदिन्छ यस पटक पनि यस्तै भयो। मैले चाहेर पनि मन्जिल नपुगुन्जेल साथ दिन असमर्थ भए।
यो स्वार्थी जगतमा म बिना स्वार्थ बस्न सकिन। मलाई दशैले रोक्छ, तिहारले रोक्छ इद र उधौली उभौलीले रोक्छ विभिन्न बहाना बाजीले रोक्छ मलाई सुकर्म गर्न सधैँसधैँ साइतले रोक्छ, देश र दुनियाँको लागि काम गर्न मैले साइत निकाल्न सकिन।
मलाई मेरो नियत र नियति प्रति खेद छ। ए ‘महापागल’, म हिजो तिम्रो समीप दिन भर थिए तर आँखा जुधाएर म जान्छु भनेर विदा माग्ने हिम्मत गर्न सकिन, मलाई त्यो आँट पलाएन म भागेर हिँडे। म भगुवान हुँ, म कायर हु म स्वार्थी हुँ।
मलाई मेरो स्वार्थले असल मानव बन्न सधैं बाधा व्यवधान खडा गरि रह्यो। म चुके मलाई ठूलो पश्चताप छ। सत्य र निष्ठाको दुरुह बाटो हिँड्न् मलाई फुर्सद चाहिन्छ, साइत चाहिन्छ, सबै कुराको अनुकूलता र मेलो मेसो मिल्नुपर्छ। घर रिझाउनु पर्छ, श्रीमती छोराछोरीको अनुहार हेर्नुपर्छ, हात मुख जोर्ने अप्ठ्यारोलाई सहजतामा बदल्नु पर्छ तब मात्र म केही समय दिन सक्छु।
हामी आम नेपालीको यो जिउदो र आलो परिस्थिति हो। तिमी पो जोगी जिन्दगीमा छौ र स्वार्थलाई तिलान्जली दिएर अरुका लागि मर्न राजी छौ। मलाई माफ गर डाक्टर म आफ्नो लागि समेत एक छाक भोको बस्न सक्दिन अरुको लागि पीडा खपेर एक दिन बाच्न सक्दिन। मलाई स्वार्थले जेलेको छ।
यो स्वार्थी जगतमा म बिना स्वार्थ बस्न सकिन। मलाई दशैले रोक्छ, तिहारले रोक्छ इद र उधौली उभौलीले रोक्छ विभिन्न बहाना बाजीले रोक्छ मलाई सुकर्म गर्न सधैँसधैँ साइतले रोक्छ, देश र दुनियाँको लागि काम गर्न मैले साइत निकाल्न सकिन।
बरु म जाँड रक्सी खान, जुवा तास खेल्न, अनैतिक र असामाजिक काम गर्न, अरुलाई दुःख दिन समय निकाल्छु तर देश र जनताको लागि काम गर्नेको पक्षमा बोल्न समय निकाल्न सक्दिन।
अरुलाई सराप्न र निन्दा आलोचना गर्न मेरो मुख दुख्दैन तर सत्यको खाँतिर बोल्न मेरो मुखलाई तकलीफ हुन्छ। तै पनि म आफूलाई मानव र असल मानव अनि अरुलाई अमानव र अमान्छे देख्छु। सत्य न्याय र निष्ठाको लडाइँ लागि भोलि बोलौँला, भोलि समर्थन गरौँला भनेर म चुपचाप बस्छु।
मलाई आफ्नो र आफ्नाको पीडा मात्र दुख्छ अरुको पीडा र मर्मले छुँदैन, दुख्दैन। म आम नेपाली प्रवृति र पात्र। मलाई मेरो यो परिस्थिति र परिवेशसँग गम्भीर विभिन्नता छ तर मलाई माफ गर डाक्टर म अरुका लागि त के आफ्ना लागि समेत एक दिन भोको र चोखो रहन सक्दिन।
संजिव कार्की
याे पनि पढनुहाेस्
पागल बस्तीबाट ‘पागल’ डाक्टर गोविन्द केसीलाई खुल्ला पत्र
डाक्टर केसीको जीवन रक्षाका लागि आवाज घन्काऔँ