Suvadin, Home

जाँदा जहाजमा, आउँदा बाकसमा

अहिले नेपालमा कयौं घरहरु बिरक्तिएका छन्। आखिर यसको सिलसिला कैलेसम्म चलिरहने? यसको उत्तर जनताले कोसँग सोध्ने ? वर्षेनी लाखौं उर्जावान युवा युवतीलाई विदेश जानलाई होइन स्वदेशमै केही गर्न प्रेरित गरौं। त्यस पछि न त सस्तो र कठिन कामको लागि जहाजमा नै जानुपर्छ न त बाकसमा नै फर्किनु पर्छ।
प्रतिकार्यात्मक तस्बिर।

–रञ्जित लामा


केही वर्ष अगाडिको कुरा हो म पशुपति क्षेत्रको आर्यघाटमा शवदाहको पारीपट्टी बागमती किनारमा बसेर लासहरू जलेको हेरिरहेको थिएँ। 

मनमनै गुन्दै थिएँ, ‘भोलि मेरो अस्तित्व पनि यसरी नै धुँवा र खरानी हुँदै विलीन हुनेछ। तर, म आफ्नो आफन्तबाट टाढा रहेर आफ्ना महत्वकांक्षा पूरा गर्न काठमाडौंको गल्ली–गल्ली भौतारिदै छु। म किन यस्ता रहर बोकर दुःख गर्दैछु ? आफ्नै ठाउँमा सानोतिनो व्यापार व्यवसाय गरेर बसेको भए पनि त हुने थियो। आखिर मरेर लाने त केही पनि रहेन छ।’

यस्तै सोच्दै थिएँ, अचानक एउटा शव वहान आयो। त्यो शव बहानबाट एउटा ६-७ फिट लामो बाकस निकालियो। चर्काे रुवाबासीसँगै भिडभाड बढ्यो। 

हुन त त्यहाँ अरू पनि शव थिए, अरु पनि मलामी थिए। रुवासी त चलेकै थियो तर, मलाई अरुले भन्दा यो बाकसतर्फ ध्यान केन्द्रित गर्यो। म हतारहतार गरेर त्यहाँ गएँ। भिडमा छिरेर वाकसको छेउमै गएँ। बाकस खोलिएको थिएन। त्यसैले वाकस खोलेको हेर्न अनि पुरुष कि महिला, कहाँबाट, कसरी आदि प्रश्न मनमा खेलाउँदै नजिकैको एउटा फलामे बेञ्चमा बसेर अवलोकन गरिरहेको थिएँ। त्यहाँ एउटा ट्याक्सी आइपुग्यो, ट्याक्सीबाट एउटा ४-५ वर्षको बालक २०-२२ वर्षकी महिला अनि ६०-६५ वर्षकी वृद्धा आमा। उपस्थित त्यहाँका केही व्यक्ति पनि उनीहरुतिर साहरा दिन लम्किए। 

बाकस देखेर वृद्ध आमा जोरजोरले रुन थालिन्। एक छिनमा उनलाई सास फेर्न गाह्रो भयो। हत्तपत्त उनले पोल्टोतिर हात हालिन् तर, केहि पनि निकालिनन् बरु उल्टै लखतरान परेर लामोलामो सास लिँदै अर्ध मूर्छित भइन्। अनि एउटी महिलाले उनको पोल्टोबाट केही झिकेर उनको मुखमा लगाई दिएपछि श्वासप्रश्वास केही सन्तुलित भयो। तर, शरीर सिथिल नै थियो, विचरी! आमा दमको रोगी रहिछिन्। छेउछाउमा कुरा गरिरहेका महिलाका अनुसार ती वृद्धा आमाको बुढेसकालको साहरा भनेकै त्यहि एक्लो छोरो रहेछन्।

फटाफट प्रश्नमाथि प्रश्न गर्न थाल्यो। त्यी महिलाको मुखमा हेरेर भन्दै थियो, ‘आन्टी त्यो बाकसमा के छ? हाम्रो बाबालाई ल्या’को छ भन्थे नि.. तर, हाम्रो बाबा त आउनु भा’छैन। त्यो बाकस हाम्रो बाबाले पठाउनु भाको हो?’ 

 

 

उता, २२ वर्षकी कलिलो उमेरकी महिला। उनी ती मृत व्यक्तिकी श्रीमती रहिछिन्। उनी बाकसतिर लम्किदै थिइन्। अनुहार फुङ्ग उडेको थियो। आँखामा डर त्रास। जो खबर उनले सुनेकी थिइन त्यो सत्य हुनै सक्दैन भन्दै, ‘यिनीहरु सबैले मलाई ढाट्दै छन्, त्यो वाकसभित्र मेरो श्रीमान्को होइन अरु कसैको लास हुनुपर्छ। मेरो श्रीमान्लाई कुनै किसिमको रोग पनि थिएन, कमजोर नि थिएनन्, कसरी मर्न सक्नुहुन्छ मेरो श्रीमान् ? मलाई पहिला हेर्न दिनोस् अनि मात्र म पत्याउछु।’  भन्दै घरीघरी बाकसतिर सबैलाई घिसार्न खोज्छिन्। उनको आँखाबाट आँसु झर्ने क्रम रोकिएको थिएन। ओठमुख त्यसै सुक्दै थियो। नजिकै एउटा ४÷५ वर्षको बालक थियो जसलाई एउटा महिलाले सुमसुम्याउँदै थिइन् भने अरु व्यक्तिहरु टिठालु आँखाले हेर्दै थिए। अघि डराएको जस्तो केही नबुझेर अन्योलमा रहेको बालक एकाएक बोल्न थाल्यो। 

फटाफट प्रश्नमाथि प्रश्न गर्न थाल्यो। त्यी महिलाको मुखमा हेरेर भन्दै थियो, ‘आन्टी त्यो बाकसमा के छ? हाम्रो बाबालाई ल्या’को छ भन्थे नि.. तर, हाम्रो बाबा त आउनु भा’छैन। त्यो बाकस हाम्रो बाबाले पठाउनु भाको हो?’ 

ती महिलालाई त्यो बालकले सोधेको प्रश्नले आँखा रसाउन थाल्यो। उत्तर थिएन। त्यसैले उनी टाउको मात्र हल्लाएर हो, होइन भन्दै उत्तर दिँदै थिइन्। बच्चा फेरि कुरा गर्न थाल्छ। ‘आन्टी हजुरलाई थाहा छ? हाम्रो बाबा (हातको इसारा गर्दै) शु इई...... गर्ने मा.... थि आकाशमा उड्ने प्लेन हुन्छ नि, हो त्यसमा चढेर धेरै टाढा जानुभा’छ। त्यहाँ धेरै पैसा पाइन्छ अले! अनि मम्मीलाई, मलाई, हजुर आमालाई राम्रोराम्रो कपडा ल्याइदिने अले! मलाई त मुबाइल पनि ल्यादिने हो। आन्टी त्यो बाकसमा हेलम्न के–के पठाउनु भा’छ बाबाले?’ ती महिलाले आफूलाई थाम्न नसकेर त्यो बालकलाई घर्याप्प अंगालो मारेर टाउकोमा सुमसुम्याउँदै आँशु झार्छिन फेरि आफ्नो आँशु पुछ्दै सम्हालिएर बस्छिन। 

त्यही बेला उता बाकस खोल्न सुरु हुन्छ। बालकले पनि देख्छ र फेरि भन्छ–‘आन्टी बाकस खोल्न लागे (हात तान्दै) आन्टी जाउँ हेरौं बाबाले के–के पथाउनु भा’को छ।’ ती महिलाले उसलाई रोक्छिन बालकले अलमल्ल परेर महिलाको मुहारमा हेर्छ अनि बाकसतिर एकोहोरो हेरिरहन्छ। एकैछिनमा बाकसबाट शव निकालिन्छ। बालकले त्यो दृश्य देख्न साथ आश्चर्य मान्दै आन्टीलाई कोट्याउँदै त्यसतिर इशारा गर्दै भन्छ, ‘आन्टी बाबा त प्लेनमा आउनु पर्ने होइन र किन बाकसमा सुतेर आउनु भा’को?” ती महिलाले आँखाबाट आँशु झार्दै मुख छोपेर घुक्कघुक्क रुनु बाहेक अरु केही भन्न सकिनन्। 

यता, वृद्धा आमा छोराको लास देखेर अर्ध मूर्छित भइन् भने २२ वर्षीय श्रीमती आफ्नो श्रीमान्को लास देखर पशुपति नै थर्कमान पारेर रुदै बेहोस भइन। दाँत बाँधिए, कसैले दाँत खोले, कसैले पानी छ्यापे, कसैले पानी खुवाए, कसैले उनीहरुको शिथिल शरीरलाई साहारा दिँदै समाति रहे। 

अवोध बालक केही बुझ्न नसकेर एकोहोरो प्रश्न मात्र गरिरहन्थ्यो, ‘आन्टी बाबालाई के भएको हो? बाबा निदाउनु भा’को हो? किन आमा र हजुरआमा अनि हजुरहरू रुनु भा’को?’ उसको प्रश्नको उत्तर कसैले पनि दिदैनन्। सबै रुँदै आआफ्नो काम गरिरहेका थिए। शव चितामाथि राखियो, शवमाथि दाउरा। फेरि बालकले प्रश्न गर्यो, ‘आन्टी यस्तो किन गरेका, मेरो बाबाको अनुहारमाथि पनि किन दाउरा राखेको? मेरो बाबालाई दुख्दैन? यस्तो गर्दा पनि बाबा किन नउठ्नु भा’को?’

ती महिलाले फेरि अंगालो मारेर रोइन। केही छिनमै दाहसंस्कारको काम सुरु भयो। पण्डितद्वारा के–के रीत परु्याइएपछि बालकको हातमा मसाल दिइयो। एकजना आफन्तले हो या पण्डित कसले हो डोर्याएर चिता वरिवरी घुमाउँदै भन्यो, ‘ल बाबु आगो लगाऊ!’ बालकले झर्किदै तीखो आवाजमा, ‘नाई! मेरो बाबालाई पोल्छ म लगाउदिन!’ भन्दै मसाल त्यहि फालेर चिताबाट तलतिर दगुर्यो। यतिबेला जो अहिलेसम्म मन थामेर बसेका थिए सबै रोए। न मेरो नाता पर्ने न चिनेजानेको तर, मै पनि आँशु रोक्न सकिनँ। अर्कै लासका मलामी पनि यो बाकलाई देखेर आँशु झार्न बाध्य भए। 

असार १५ को बेला आफ्नो खेत जोत्न छाडेर साहुको खेत जोत्न हिँडेको किसान झैं देश निर्माणको विशाल अभियानमा जुट्नु पर्ने बलिष्ट पाखुरा आज विदेशिएका छन्।

 

 

यस्तो हृदय विदारक दृश्य मैले कहिल्यै पनि देखेको थिइन। २५ वर्षको लख्खा जवान यो उमेरमा आफ्नो देशभित्र आयआर्जनको केही उपाय नलागेपछि घरखर्च चलाउन, वृद्धाआमाको दवाई खर्च, श्रीमतीको राम्रो लाउने मीठो खाने रहर पूरा गर्न, छोराको सुन्दर भविष्यको कल्पना गरेर धेरै पैसा कमाउने रहरले जहाज चढेर विदेश गएको मान्छे बाकसमा प्याकिङ्ग भएर स्वदेश फर्किएको थियो। 

असार १५ को बेला आफ्नो खेत जोत्न छाडेर साहुको खेत जोत्न हिँडेको किसान झैं देश निर्माणको विशाल अभियानमा जुट्नु पर्ने बलिष्ट पाखुरा आज विदेशिएका छन्।

एउटा सानो बालक अब डाक्टर, इञ्जिनियर र पाइलट हुने सपना छाडेर, १८ वर्ष उमेर पुगेपछि पासपोर्ट बनाउछु, अनि विदेश गएर पैसा कमाउँछु भन्ने सपना देख्छ। एउटा युवा विदेश गएर आफ्नो घरको गरिबी हटाएर वृद्ध आमा, जवान श्रीमती र लालावालाको इच्छा पूरा गरिदिने र एक पटक विदेश घुम्ने मनको रहर धित मर्ने गरी पूरा गर्ने लालसा राख्छ। 

सरकार हरेक वर्ष विदेशबाट भित्रिरहेको रेमिटयान्स बढ्दै गएकोमा आफू सफल र सार्थक भएकोमा मख्ख पर्छ। बेरोजगारी समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको डिङ्ग हाँक्छ। देशमा रोजगारीको सिर्जना गर्नुभन्दा पनि बेरोजगार युवालाई मलेसिया र खाडी लगायत अन्य देशमा धेरै भन्दा धेरै कसरी पठाउने भन्ने कुरामा सरकार इन्ट्रेष्टेड छ। यो कुरा सरकारको  फ्रि भिसा र फ्रि प्लेन टिकटको नियमले पुष्टि गर्छ। फ्रि भिसा र फ्रि प्लेन टिकट सुन्दा राम्रो छ। तर, गाउँमा मलामी र जन्ती नपाउने वातावरण बनाउदै छ, सरकार।

युवालार्ई विदेश पठाएर रेमिट्यान्स भित्र्याउनमा सरकार जति इन्ट्रेष्टेड छ, उनीहरुको सुरक्षा र सुबिधाको ग्यारेण्टी गर्ने सन्दर्भमा सरकार उत्तिनै उदासिन देखिन्छ। हजारौं युवायुवती विदेशमा झुटा मुद्दामा थुनिनु, काम गरेको तलब समेत नपाएर रित्तो हात फर्कनु र हजाराैं संख्यामा चेलिबेटीहरु विदेशी भूमिमा बलात्कृत भएर बाँच्नु परिरहेको बिडम्वनाले पनि वर्तमान सरकारले आफ्ना नागरिकहरुको सुरक्षाप्रति पटक्कै चासो नदिएको प्रष्ट हुन्छ। विश्वसामु सगरमाथा र बुद्धका नामले चिनिने देश अहिले सबैभन्दा सस्तो मजदुर जन्माउने देश भनेर चिन्न थालेका छन्। तर, सरकार रेमिट्यान्स भित्रिएकोमा चर्चा गर्दै मख्ख छन्। 

विदेशी भूमिबाट रेमिट्यान्स मात्र हैन उम्दा युवायुवतीको लास पनि भित्रिरहेकोप्रति किन सरकारको त्यतातिर ध्यान जाँदैन? बारम्बार विदेशबाट लास आउने क्रम रोकिएकै छैन। तर, पनि सरकारको टालटुले नीति, बैदेशिक रोजगार सम्बन्धी फितलो ऐन कानून, नागरिकको सुरक्षा र सुबिधा बहाल गर्न अपर्याप्त छ भन्ने जान्दाजान्दै पनि यसतर्फ प्रभाबकारी कदम नचाल्नुले सरकारको आफ्नो नागरिकको सुरक्षाप्रति सम्बेदनशील नरहेको थप प्रष्ट हुन्छ।

माथि उल्लेख गरिएको कथामा जस्तै अहिले नेपालमा कयौं घरहरु बिरक्तिएका छन्। आखिर यसको सिलसिला कैलेसम्म चलिरहने? यसको उत्तर जनताले कोसँग सोध्ने ? वर्षेनी लाखौं उर्जावान युवा युवतीलाई विदेश जानलाई होइन स्वदेशमै केही गर्न प्रेरित गरौं। त्यस पछि न त सस्तो र कठिन कामको लागि जहाजमा नै जानुपर्छ न त बाकसमा नै फर्किनु पर्छ।


 

More form the Internet

loading...