Suvadin, Home

ढिलोगरी भैंसी चर्चा

आँखाभरि आँसु पारेर गोविन्द सरले कुटे भनेको त, बुढाले तलाई हैने तेरो व्यहोरालाई कुटेका सरले, व्यहोरा हेरिकन अझै थप्नु पर्ने तलाई पो भने। खैर, विषय र प्रस्तुति सेवा निवृत भइसकेका आदरणीय गुरु गोविन्द गौतमको खोइरो खन्नु होइन। यहाँ कुरो अर्कै छ।

व्यंग्यः

सन्तोष चिमरिया


त्यस्तै २-३ कतिमा हो पढ्थे । गोविन्द सरले अघिल्लो दिन गाइको बारेमा पढाएका रहेछन्। म लास्टको सिटमा बसेर गोजीका गुच्चा नजानिँदो पाराले गन्दै थिए। कताकति, गाई, राष्ट्रिय जनावर, दूध पोषिलो, गोवर मलिलो आदि-इत्यादि भनेको एक कानले सुन्दै र अर्कोले उडाउदै गन्तीमा तल्लीन थिए।

दिनै गोठालो सकेर स्कुल आउने विद्यार्थीले गाईको बारेमा के नै जान्न बाँकी हुन्थ्यो र ! तर रहेछ। गोठाले ज्ञान र किताबी ज्ञानमा भएको फरकको महसुस मलाई गोविन्द सरले आफ्नो क्यु एन्ड क्यु घडी उछिट्टिने गरि तीर्थे भन्ने साथीलाई हानेपछि थाहा पाए। तर, त्यही प्रश्न एकैपटक उछिट्टिएर म भएकै बेञ्चमा खस्यो।

'सन्ते ! लु भन चौपायाका खुट्टा कति वटा हुन्छन् ?'

लु मार्यो ....।

यो चौपाया भनेको के हो फेरि? खुट्टा भनेको बुझे, चौपाया भन्या बुझिन। खुट्टा भनेपछि आफ्ना जस्तै दुईवटा होलान भनेर 'दुईव.....' मात्रै के भनेको थिए, बुढाले घडी बिग्रेको झोकमा अर्को थप्पड हानी हाले।

'गधा! दोपाया र चौपाया भन्या थाहा छैन, दोपाया भनेको मानिस र चौपाया भनेको पशु।'

अहिले जस्तो भए शिक्षकले विद्यार्थी कुटे भनेर राष्ट्रिय दैनिकको फ्रन्ट पेजमा न्यूज बन्थ्यो होला। फेसबुकमा सुन्निएको आँखो लिएर म पनि भाइरल हुन्थे होला। तर, हाम्रा पालाँ शिक्षकले विद्यार्थी कुट्नु भनेको दाल-भात खानु जस्तै थियो।

जुगको चेतनाअनुसार बुढाले कुटे कुट्नलाई, तर पनि मेरो केही गुनासो छैन। साँझ घरमा बाले आँखो के भो भने सोधपुछ गरे।

आँखाभरि आँसु पारेर गोविन्द सरले कुटे भनेको त, बुढाले तलाई हैने तेरो व्यहोरालाई कुटेका सरले, व्यहोरा हेरिकन अझै थप्नु पर्ने तलाई पो भने। खैर, विषय र प्रस्तुति सेवा निवृत भइसकेका आदरणीय गुरु गोविन्द गौतमको खोइरो खन्नु होइन। यहाँ कुरो अर्कै छ।

कुरो के हो भनेर भन्देखिनलाई,अलि अस्ती संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको २ नम्बर प्रदेशमा अविवाहित दोपायाले हैनो चौपाया नपाए विहा नगर्ने घोषणा गर्यो। लैनो चौपायाको जोहो हुन नसकेपछि दोपायाको विवाह रद्द भयो।

उप्रान्त, गोविन्द सरले घोटाउनु घोटाएर दोपाया र चौपायाको लामै लिस्ट मैले मुखाग्र पारेको थिए। अहिल सेवा निवृत भएका गोविन्द सरलाई एकपटक पुरक प्रश्न सोध्न मन लागेको छ।

सर दुई वटा खुट्टा भएको, सिङ र पुच्छर दुवै नभएको, जग्गेमा बेहुलीको बद्ला भैंसी माग्ने दुलाहा र दुलाहाहरुलाई कुन लिस्टमा राखौं? दोपाया मानिस कि चौपाया पशुको लिस्टमा सर ?'


 

More form the Internet

loading...