Suvadin, Home

अरबको कोठीमा पन्ध्र दिन नेपाली चेली

नेपाली चेलीहरु घरायसी कामधन्धा गर्न खाडी मुलुक छिर्नु भनेको मुम्बईका कोठरीतिर बेचिएर जीवन बर्बाद गर्नु सरह हो। आफ्नो आबरु बचाउन ज्यानकै बाजी राखेकी यी नानीको दुःखदायी कथा सबैका लागि चेतना हो। त्यसैले, बुझ्न जरुरी छ– धनदौलतको बढी मोह र दलालका मोहनीमय कुरा नेपाली अबोध नारीका लागि अति खतरा हुन्। जसको फलले विदेशमा आँसुबाहेक अन्य कुरा हात नलाग्न सक्छ।

एसपी लुइँटेल


साउदी अरेबियाको राजधानी रियादको मुटु, बत्थामा चार वर्षअघि नेपाली कार्गो सेवा र इन्टरनेट क्याफे खोलेर नेपालीहरूको सशुल्क सेवा गरेका थिए जेन लामाले। यीसँग मेरो भेट र उठबस साउदीकै दमाममा भयो। त्यसताका यी रियादबाट दमामतिर झरेर आफूले जानेबुझेको पुरानै व्यवसाय समातेका रहेछन्। नेपालमा एमालेको राजनीतिले यी काभ्रेका एमालेकर्मीलाई बारम्बार न्यानो थाङ्नामा सुताएको रहेछ। उनैले भन्थे, ‘स्थानीय निर्वाचनमा गाविसको अध्यक्ष पदमा पुग्नै नदिन आफ्नै पार्टीले ल्याङ हान्यो। पार्टीले पहिला सिधा चाल चल्यो। र, विश्वास दिलायो। अनि, ऐनमौका छोपेर तेर्सो दाउ हान्ने शतरञ्जको घोडा चाल्यो।’

बस्, बेइमान घोडाहरूको कुटिल चालभित्र एउटा इमानदार लामारुपी पिउसोले जाबो गाविसको राजनीति थेग्न सकेन र, कसैकसैले आफ्नो इमानको रङ धमिलो पारिदिए। उनले आफ्नै पार्टीको प्रताडनायुक्त चाल त्यहाँका जनतालाई देखाउन भने मनासिब ठानेनन्। र, उतिखेरै एमालेको चारित्रिक वजनको नापतौल र गुटवादी चिन्तनको तुच्छ तस्बिर मुटुमा राखेर पुगेछन् खाडी खोस्रिन। मन आफ्नै, मत आफ्नै, हात आफ्नै, साथ आफ्नै, गाँस पनि आफ्नै। बरा।

भेटको सिलसिला थियो, मेरा लेखहरू कम्प्युटरमा टाइप गरी नेपाल पठाउनु र आपतमा परेका नेपालीजनको सक्दो सहयोग गर्नु। आफूसँग कम्प्यूटर नभएको र नेपाली अक्षर कुट्ने ज्ञान पनि नभएका बेला कछुवाकै गतिमा भए पनि नेपाली अक्षर कुटेर जेन लामाले मलाई निक्कै ठूलो गुण लगाएका छन्। उनले मलाई लगाएका यिनै गुणले म उनीतिर तानिएँ। एक होनहार एमालेकर्मी जेन लामा एमालेकै कारण खाडी पुग्ने एक अकिञ्चन पात्र थिए। र, उनकै मनमुखबाट निस्केको ‘चमजुम्रे एमाले’को शाब्दिक लाहाछाप र कटुकथाको श्रवणले पनि म उनीतिर तानिएँ। र, लेखपढमा समेत रुची राख्ने यी लामासँग मेरो मित्रता क्रमशः गाढा हुँदै गयो। स्वतन्त्र तरिकाले समाजको सेवा गर्ने मिजास बोकेका यी लामाले एउटा लेख्ने मान्छेका सामु आफ्नो रियाद छँदाको संस्मरण सुनाए। यिनका संस्मरणमा एउटी चेलीको चित्कार गाथा आलोआलै रहेछ। त्यो गाथालाई हृदयबिदारकको संज्ञा दिँदै मित्रताकै आधारमा सविस्तार सुनाए। अनि, त्यस हृदयबिदारक सत्यकथा भित्रकी एक नेपाली नारीको अस्मिता जोगाउने साहसिक कदमको पनि वर्णन गरे।

पश्चिम नेपालको भैरहवाबाट घरधन्धा गर्ने काममा खाडी छिरेकी भूमा गुरुङ रियादकै बत्थामा एक अरबी कोठीभित्र बन्दिनी भइन्। उनले त्यस अरबी गृहमा जम्मा पन्ध्र दिनजति बिताइन्। तर, उनले बिताएका यी पन्ध्र दिन एक कठिन युगभन्दा कम भएनन्। कारण, घरधन्धाको समयपछि घरमा भएका ऐयासि अल्लारेहरूका लागि आफ्नो शरीर सुम्पिदिनु पर्ने, एकपछि अर्को गर्दै। भूमा नयाँ हुनाले उनमा अरबी भाषा–संस्कार आदि केहीको भेउ थिएन। उनी केवल विवशताको डोरोमा उनिएकी थिइन्। तर, विवशतामै चेतना गुमाएर उनी धनदौलत बटुल्ने स्वभावकी पनि थिइनन्। धनदौलतको अल्पकालीन चेतभन्दा पनि आफ्नै अस्मिताको चेत् बढी बोकेकी हुनाले उनले खुबै प्रतिकार गरिछन्। अरबी परिवारको पशुतुल्य छाँट उनको विवेकशील नजरमा सुरूमै परेछ। अल्लारे अरबीहरूमा पनि उनको स्वभावको छनकले केही हिचकिचाहट भने हुन्थ्यो। हरेकलाई हरेकपल्ट उनले प्रतिकार गरिरहिन्।

प्रतिकार, प्रतिवाद र क्रन्दनले कुस्तीका रुप लिन थाले। र, उनका दिवा तथा रात्रिचर्यामा हरेक दिन परिवारका पशुको प्रवेश हुन थाल्या। स–साना नानीहरूको हेरचाह गर्ने भिसामा आएकी भूमाले सुरु दिनदेखि नै काम–बासनाका उग्र भूतप्रेतहरू घरभरि पाइन्। आत्तिँदै, कराउँदै, रुँदै र प्रतिवादमा छटपटिँदै उनले दिन र रात बिताउन थालिन्। ‘अहिले यो नयाँ छे, बानी नपरुन्जेल काम दिन यस्तै हो’ भन्दै ती कामुक प्रेतहरू गालीगलौजका साथ ज्यानै लिने ध्वाँस दिएर ठण्डा हुन्थे। उता ती भुन्भुनिँदै आफ्ना कोठातिर लाग्थे। यता यी भूमा अपरिचित मुलुकबाट भागेरै घर जाने बाटो खोज्थिन्।

प्रशासनिक, प्रहरीशक्ति र धार्मिक कानुन तेज भएको यस मुलुकबाट भाग्ने बाटाहरू प्रायः बन्द थिए। साउदी अरेबियामा अजनबी (अन्जान) आइमाई एक्लै बाटामा लुखुरलुखुर हिँड्नु पनि खतरायुक्त नै हुन्छ। दुई तलामाथिबाट हामफाल्दा ज्यान गुमाउनु पर्ने हो कि वा पुलिसका नजरमा परिने हो पत्तो थिए। कहाँ जानु, कसलाई भेट्नु, के भन्नु, कसरी बिन्ति गर्नु उनलाई केही थाहा थिएन। तर, हरेक दिन बितेपछि आउने रातमा बलात्कार गर्न आउने प्रेतहरूसँग अवश्य कुस्ती खेल्नैपर्छ भन्ने चाहिँ उनलाई थाहा भइसकेको थियो। अनि, कुस्तीमा पराजित हुनु अस्मिता गुमाउनु हो। र, कुस्ती जित्नु ज्यानै हरण गर्ने ध्वाँस खप्नु हो भन्ने पनि उनलाई थाहा थियो। उनका मनभित्र अनेकन द्वन्द्व सृजना हुन थाले। भाग्नु अथवा खपेरै दिन गुजार्नुको अन्तद्र्वन्द्वले जब तेज गति लियो, तब उनले चेतनायुक्त अठोटका साथ झ्याल खोलिन् र कामुक प्रेतहरूको जालबाट फुत्किन र आफ्नो नारी अस्मिता बचाउन झ्यालबाट हाम फालिन्।

हात–हत्केला रक्ताम्मे, एउटा खुट्टो मर्किएको, कुहिना र घुँडाका लुगा च्यात्तिएका, टाउकाको केश छरपस्ट अल्झिएको, ओठमुख सुकेर सेतै भएका, लग्लग् कामिरहेको ज्यान र बोलीनै प्रष्ट निकाल्न नसकेको अवस्था लिएर ‘दाइ–दाइ, बचाउनु–बचाउनु, मार्छन्, सेभ् गर्नु...प्लीज दाइ...’ भन्दै ट्याक्सी ओर्लेर स्वाँ–स्वाँ गर्दै आएकी एउटी नारी देखेर पहिला त जेन लामा अत्तालिए। पुलिस अथवा कुनै साउदी मान्छेले देख्ला कि भनेर हत्तपत्त उनले कार्गो अफिसमाथि भएको इन्टरनेट कोठामा लुकाए र उनका सहकर्मी नुवाकोटका राम लामाले एक रियालको  चिसो पानीले हातमुख र रगत–पसिना धोएर सफा र शान्त हुन आग्रह गरे। जिज्ञासाबाट कुराको चुरो फुक्यो– यौन यन्त्रणाबाट मुक्तिको मार्ग खोज्दै खद्दामा (घरको काम धन्धा गर्ने स्त्री) रुपी एउटी नेपाली चेलीले साउदीको घरबाट भागेर स्वदेश फर्कने अभियानमा  खतराका पाइला चालेकी रहिछन्।

एक पाकिस्तानी ट््याक्सी चालकले चिनेको नेपाली जेन लामा थिए। उनको कार्गो अफिस अघि ल्याएर यी घाइते चेलीलाई पाकिस्तानीले छोड्यो र गयो। आफ्नो आबरु जोगाउन ज्यान फालेर संघर्षमा निस्केकी यी बिराङ्गना चेलीलाई जेनजीले नै सम्हालेर दूतावासमार्फत् नेपाल पठाए। काभ्रेको साँगावासी मित्र जेनले यी नारीको साहसिक कदमलाई असाधारण आँट भएकी बिराङ्गनाको चेत भने। उनी भन्थे, महिलामा संघर्षका झिल्का हुनु त यस्तो पो। साहस र आँटले हो, गर्वको सृजना गर्ने।
    
मित्र जेन लामाको घतलाग्दो अनुभव सुन्दा लाग्यो– स्वदेश होस् वा विदेश, नारी अस्मितामाथि आइपर्ने चुनौतीलाई चेतनाका आँखाले सबभन्दा पहिला नारीले नै देख्न सक्नुपर्छ। नेपाली चेलीहरु घरायसी कामधन्धा गर्न खाडी मुलुक छिर्नु भनेको मुम्बईका कोठरीतिर बेचिएर जीवन बर्बाद गर्नु सरह हो। आफ्नो आबरु बचाउन ज्यानकै बाजी राखेकी यी नानीको दुःखदायी कथा सबैका लागि चेतना हो। त्यसैले, बुझ्न जरुरी छ– धनदौलतको बढी मोह र दलालका मोहनीमय कुरा नेपाली अबोध नारीका लागि अति खतरा हुन्। जसको फलले विदेशमा आँसुबाहेक अन्य कुरा हात नलाग्न सक्छ।


 

More form the Internet

loading...