Suvadin, Home

संविधान संशोधन नमान्ने भए कमल थापाले सरकार छोडे हुन्छ

यो संविधान बिरोधी भन्ने, एक दिन संसदमा छलफल गर्न दिन्छु भन्ने, यो के मजाक गरिरहेको एमालेले? नेपाली कांग्रेसलाई संसदीय व्यवस्थाको पाठ सिकाउन खोजेको हो? पर्दैन सिकाउन नेपाली कांग्रेसलाई। माओवादी, न एमाले यिनीहरूले हामीलाई संसदीय व्यवस्था र लोकतन्त्रको पाठ सिकाइरहन पर्दैन। हजुरबुबाको पालादेखि लडाइँ लडेर आएका हौं। हामीलाई सिकाउन जरुरी छैन एमालेले। उखान टुक्का चलाएर हुँदैन ओलीजीले। देश चल्दैन उखान टुक्काले। जे मन लाग्छ त्यो बोल्न पाइँदैन।

हिजोआज देशको परिस्थिति अत्यन्तै नााजुक परिस्थितिबाट गुज्रिएको छ। कहिलेकाहीँ म झसंग हुन्छु, कहीँ हामी गलत बाटोमा त हिँड्दै छैनौं? हामीले नेपाली नागरिकलाई एक ठाउँमा जोड्न सकेनौं भने देश कसरी देश बन्छ? हिमाल, पहाड, तराई–मधेस यो सबै हाम्रो हो भन्ने सोचको विकास नभए अगाडि बढ्न सकिँदैन। देशमा जातीय द्वन्द्व हुनसक्छ। काठमाडौंबाट मधेसलाई हेर्ने दृष्टिकोण भिन्न छ, सोचै भिन्नै छ, सबै पार्टीका नेताहरूको। मधेस नेपालमा छैन भन्ने सोच नेताहरूमा छ, सबै पार्टीका नेतामा छ। मधेस नेपालमा छ, मधेसी नेपाली हुन्, मधेसीको राष्ट्रियतामा शंका नगर्नुस्। संघीयता जस्तो बने पनि नेपालमै बन्ने हो। हामीले यो कुरा बुझ्न सक्यौं भने गन्तव्यमा पुग्न सक्छौं। हामीलाई के लागेको छ भने एकातिर संघीयतामा गइसक्यौं, अर्कातिर यसपछि केही पनि गर्न पाइँदैन भन्छौं। भारतमा १२ वटा प्रदेशबाट सुरु भयो, आज २९ वटा प्रदेश पुगिसक्यो। नेपालमा सात वटा प्रदेशबाट सुरू भयो, भोलि कतिवटा प्रदेश भएर अन्त्य हुन्छ भन्न सकिँदैन। मानिसको इच्छा आकांक्षा हामीले सम्बोधन गर्नुपर्ने हुन्छ। 

हो, त्यसैगरी संघीयता आउँछ। संघीयता ठिक बेठिक भन्ने कुरा अब छलफलमा नजाऔं। संघीयता आवश्यक थियो। थिएन भन्ने कुरामा पनि नजानुस्। मन परोस्, नपरोस् तर अब संघीयता देशमा आयो। हाम्रो तपाईंहरुको जिम्मेवारी भनेको संघीयतालाई कसरी व्यवस्थित गरेर जाने भन्ने हो। त्यो व्यवस्थापन गर्ने कसको पालामा हुन्छ, छोरीको पालामा हुन्छ कि नातिनातिनाको पाला हामीले स्वीकार्न सक्नुपर्छ। संघीयता अब यो देशबाट जाँदैन। संविधान लेख्न पाएको छैन, हामीले नै सही गरेको हो, सही गरेको भोलिपल्टदेखि संघीयता पनि चाहिँदैन भन्छौं। राजतन्त्र पनि चाहिन्छ भन्छौं। अनि कसरी देश अगाडि बढ्छ? 

जे आएको छ त्यसमा अगाडि बढ्यो भने समस्या समाधान हुनसक्छ। अहिले एमालेले संविधान संशोधन विधेयक संसदमा छलफलै गर्न दिन्न भनिरहेको छ। नागरिकता, भाषा, राष्ट्रसभामा प्रतिनिधित्व र सीमांकनको कुरा छ। एमाले छलफलै गर्न दिन्न भन्छ, मधेसी मोर्चा पास भएन भने स्वीकार्दैनौं भन्छ। यी दुईटै दल अराजक, अलोकतान्त्रिक र संसदीय व्यवस्थाविरुद्धका पार्टी हुन् भन्ने कुरामा शंका छैन। संसदीय व्यवस्थामा सरकारले एजेन्डा लैजाने हो, त्यो फेल हुन्छ पास हुन्छ, तर, सरकारको दायित्व पास गराउनु हो। कमल थापाले सरकारमा बसेर यो लान पाउँदैन भन्न मिल्छ? यदि भन्नुहुन्छ भने उहाँले आजै सरकार छोडेर गए हुन्छ। सरकार भनेको सरकार हो, एजेन्डालाई पास गर्नुपर्ने दायित्व सरकारमा बसेका दलको हो, फेल भए स्वीकार्नुपर्छ मधेसी दलले पनि। 

एमाले भन्छ, यो विधेयक संविधान बिरोधी हो। एक दिन संसदमा छलफल गर्न दिन्छु पनि भन्छ। द्वैध चरित्र किन गर्ने? के कारणले गर्ने? संशोधन प्रस्ताव छलफल गइसकेको छ, फेल हुन्छ पास हुन्छ हामी स्वीकार्छौं, नेपाली कांग्रेस यसपालाई पास गर्नेतिर जान्छ। फेल भए पनि चिन्ता गर्न आवश्यक छैन। फेरि लडाइँ हुन्छ। तर, यो संविधान बिरोधी भन्ने, एक दिन संसदमा छलफल गर्न दिन्छु भन्ने, यो के मजाक गरिरहेको एमालेले? नेपाली कांग्रेसलाई संसदीय व्यवस्थाको पाठ सिकाउन खोजेको हो? पर्दैन सिकाउन नेपाली कांग्रेसलाई। माओवादी, न एमाले यिनीहरूले हामीलाई संसदीय व्यवस्था र लोकतन्त्रको पाठ सिकाइरहन पर्दैन। हजुरबुबाको पालादेखि लडाइँ लडेर आएका हौं। हामीलाई सिकाउन जरुरी छैन एमालेले। उखान टुक्का चलाएर हुँदैन ओलीजीले। देश चल्दैन उखान टुक्काले। जे मन लाग्छ त्यो बोल्न पाइँदैन। 

नागरिकताको विषयमा हामी स्पष्ट हुनुपर्छ। अंगीकृत नागरिक यो देशका नागरिक हुन् तर संवेदनशील पदमा अंगीकृत नागरिक जान सक्दैनन्। हामीले भन्न सक्नुपर्छ, मधेसी मोर्चाले भन्न सक्नुपर्छ। उहाँहरू वैवाहिक वंशजको कुरा गर्नुहुन्छ, त्यो हुन सक्दैन। अंगीकृत नागरिक अंगीकृतै हुन्। उनीहरू हरेक ठाउँमा जान सक्दैनन्, पाइँदैन, हुँदैन भन्दिन सक्नुपर्छ। भाषाको कुरा टुंगिसकेको छ हिन्दी नेपालमा ०.२७ बोलिन्छ। मधेसको कुरा गर्दा मैथिली, थारु, भोजपुरी हुनसक्छ, तर हिन्दी मातृभाषा हुन सक्दैन। प्रतिनिधित्वको सवाल लोकतन्त्रमा जनसंख्यालाई आधा मान्न नसक्ने भए लोकतन्त्र गुमाइदिए हुन्छ। हटाइदिए हुन्छ, भूगोलमात्रले हुँदैन। भूगोलमात्रले हुने भए हामीले संविधान संशोधन गर्नैपर्ने थिएन। हामीले जनसंख्यालाई आधार मान्छौं भनेर संशोधन गरिसक्यौं। साथीहरूको दिमागमा मधेस भन्नेवित्तिकै दुई नम्बर प्रदेशमात्र आउँछ। मधेसीको अनुहार मात्र आउँछ। मधेसमा डाक्टर शेखर कोइराला, पुष्कर आचार्यहरू पनि छन् भन्ने बुझ्न सक्नुपर्छ। एकतिहाइ पहाडे समुदाय पनि मधेसमा बस्छन् भन्ने कुरा बुझ्न सक्नुपर्छ। राष्ट्रसभामा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ, ६ नम्बर प्रदेशमा १० लाख जनसंख्या छ, तीन नम्बरमा ५५ लाख छ, अनि राष्ट्रसभामा प्रतिनिधित्व आठ–आठवटा हुनसक्छ? त्यो गलत हो। 

सीमांकनको विषय अत्यन्त जटिल भएर गएको छ। ‘इमोसनल अट्याचमेन्ट’ले गर्दा यो समस्या आएको हो। यसलाई बेलैमा समाधान नगरे देशमा जटिल परिस्थिति आउँछ। भोटिङ गरौं, पास भए हुन्छ, फेल भए अर्को दुई वर्षमा फेरि गर्दा भइगयो नि! एउटा भन्छ म पास हुनै दिन्न, अर्को भन्छ पास नभई हुँदैन। मान्दै मान्दिनँ भन्छ, यो कस्तो लोकतन्त्र हो? नेपाली कांग्रेस स्पष्ट छ, फेल पास जे हुन्छ, स्वीकारेर अगाडि जानुबाहेक हामीसँग विकल्प छैन। 

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुँदैछ। मधेसी मोर्चालाई चुनावमा भाग लिन लगाएर अगाडि लान सक्यो भने देश अगाडि बढ्छ। हैन भने मधेसमा चुनाव नगरी जाने हो भने देशमा अकल्पनीय घटना हुनसक्छ। स्थानीय निर्वाचन अत्यन्तै महत्वपूर्ण हो, मधेसी मोर्चाले पनि यो बुझ्नुपर्छ। उनीहरू मध्यमार्गी फोर्स हुन्, मध्यमार्गी फोर्स खुम्चियो भने त्यहाँ जुन खाली ठाउँ रहन्छ, उग्रवादीहरूले भर्छन्। एमालेले जति उग्र राष्ट्रवादको कुरा गर्छ, मधेसीले त्यति नै उग्र मधेसवादको कुरा गर्छन्। त्यसले जातीय द्वन्द्व निम्तिन सक्छ। एकचोटी जातीय द्वन्द्व निम्तिसकेपछि देश बिखण्डनको प्रक्रियामा जान सक्छ। त्यसकारण हिमाल, पहाड, तराई हामी सबै नेपाली हौं भन्ने सोच विकासित गर्यौं भने देश अगाडि बढ्छ।

(कोइरालाले शुक्रबार राजधानीको एक कार्यक्रममा दिएको विचारको सम्पादित अंश)
 


 

More form the Internet

loading...