सरकारको थाप्लोमा थपिँदो ऋणको भार, यसरी मुलुक कसरी लाग्ला पार

काठमाडौं । वर्षेनी नेपाल सरकारको थाप्लोमा ऋणको भारी थपिँदो छ । अहिले नेपाल सरकारलाई १० खर्ब ६६ अर्ब रुपैयाँको ऋण छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार सरकारको ऋण दायित्व निरन्तर बढ्दै गइरहेको छ ।
साउन मसान्तसम्म नेपाल सरकारले ६ खर्ब १३ अर्ब २२ करोड रुपैयाँ वैदेशिक ऋण तिर्न बाँकी छ । यस्तै सरकारलाई आन्तरिक ऋण पनि उस्तै छ ।
सरकारले आन्तरिक तर्फ पनि ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ ।
साउन महिनामा मात्रै सरकारले ३ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको वैदेशिक ऋण लिएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारको तिर्न बाँकी ऋण तुलना गर्दा आन्तरिक ऋण ४२ दशमलव ५ र वैदेशिक ऋण ५७ दशमलव ५ प्रतिशत हुन आउँछ ।
पछिल्लो समय डलरको भाउ बढेसँगै नेपाललाई ऋणको भार झन थपिदो क्रममा रहेको अर्थविद्हरू बताउँछन् ।
मन्त्रालयका अनुसार असार मसान्तसम्म सरकारको ऋण आन्तरिकतर्फ ४ खर्ब ५३ अर्ब २३ करोड रुपैयाँ र वैदेशिक ऋण ५ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो । गएको वर्ष सरकारले ९३ अर्ब २९ करोड रुपैयाँ वैदेशिक ऋण र ९६ अर्ब ३८ करोड रुपैयाँ आन्तरिक गरी कुल १ खर्ब ८९ अर्ब ६७ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना अर्थात साउनमा २ अर्ब ६० करोड रुपैयाँ वैदेशिक अनुदार र २ अर्ब ५७ करोड वैदेशिक ऋण गरी ५ अर्ब १७ करोड रुपैयाँ शोधभर्ना रकम प्राप्त गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार २०७६ सालको असार मसान्तसम्म नेपाल सरकारको आन्तरिक तथा बाह्य ऋण अघिल्लो वर्षको तुलनामा १४ दशमलव ३ प्रतिशतले बढेर १० खर्ब ४७ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो ।
यस्तै गएको वर्ष सरकारले ५४ अर्ब ३५ करोड रुपैयाँ ऋण तिरेको छ । सरकारले आन्तरिकतर्फ ३४ अर्ब ४ करोड र वैदेशिकतर्फ २० अर्ब ४ करोड रुपैयाँ ऋण तिरेको मन्त्रालयले जनाएको छ ।