Suvadin, Home

Cover Image

देशभर बम आतंक : त्रासमा जनता, कहाँ गयो इन्टलिजेन्‍स र सर्भिलेन्स ?

आइतबारदेखि संघीय राजधानी काठमाडौंसँगै देशभर बम आतंक फैलिएको छ । आइतबार दिउँसो संघीय राजधानी सञ्‍चालन गर्ने सिंहदरबारबाट करिब २०० मिटर पर बम विस्फोट भयो र एक जनाको ज्यान गयो भने एक जना घाइते भए । 

त्यसैगरी सुकेधारामा भएको विस्फोटमा परी तीन जनाको ज्यान गयो भने चार जना अझै घाइते छन् । आइतबार नै राजधानीमा नै सात स्थानमा बम फेला पर्‍यो । जसमा तीन स्थानको विस्फोट भयो भने तीन स्थानमा भेटिएको बम नेपाली सेनाको टोलीले निस्क्रिय पार्‍यो । 

सोमबार सरकारले प्रतिबन्ध लगाएको दल नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा गराइएका बम विस्फोटमा विप्लव समूहकै संलग्‍नता भएको प्रहरीले पुष्टि गरेको छ । विस्फोटमा ज्यान गुमाउने सबै विप्लव समूहकै कार्यकर्ता भएको प्रहरीले जनाएको छ । 

सोमबार पनि देशभर बम आतंक फैलिएको छ । यसअघि पनि नख्‍खुमा भएको एनसेल कार्यालय अगाडि गराइएको बम विस्फोटमा पनि विप्लव समूहकै संलग्‍नता रहेको पाइएको थियो । 

सरकारको प्रतिबन्दपछि आक्रामक रुपमा प्रस्तुत भएको विप्लव समूह भोजपुरमा एक जना कार्यकर्ता तिर्थराज घिमिरेको प्रहरी इन्‍काउन्टरमा ज्यान गएपछि निकै आक्रामक रुपमा प्रस्तुत भएको देखिन्छ । 

भोजपुरमा आफ्ना कार्यकर्ता घिमिरेको प्रहरीको गोली लागेर ज्यान गएपछि त्यसको बदला फर्काउने बन्दै विप्लवले विज्ञप्ती जारी गरेका थिए । विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकर्ताको हत्या गरेको आरोप लगाउँदै जेठ १० र ११ गते भण्डाफोर कार्यक्रम, १२ गते मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको थियो । 

पूर्वनिर्धारित विपल्वको कार्यक्रम भए पनि सुरक्षा निकायले यसलाई बेवास्ता गरेको देखिन्छ । 

यसअघि जेठ ९ गते नै प्रहरी प्रधान कार्यालयले विप्लव समूहले आक्रमण गर्नसक्ने भन्दै ‘अलर्ट’ रहन मातहतका निकायलाई निर्देशन दिएको थियो । विप्लव समूहका केही गतिविधि शंकास्पद रहेको सूचना प्राप्त भएपछि यस्तो निर्देशन दिइएको कार्यालयले जारी गरेको निर्देशनमा भनिएको थियो । जेठ ७ गते नेकपाको मेची ब्यूरोले एक विज्ञप्ति जारी गर्दै सादा पोशाकमा खटिएका र सुराकी गर्दै हिँड्नेलाई आफ्ना गतिविधी बन्द गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले जेठ ९ गते सर्तक रहन मातहतका निकायलाई आन्तरिक सर्कुलर जारी गरेको थियो ।

यी सबै घटनाका प्रकृति हेर्दा सुरक्षा निकायलाई विस्फोट र आक्रमणको पूर्वसूचना भए पनि बेवास्ता गरेको र विशेष निगरानी नगरेको पुष्टि हुन्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो, विशेष इन्टलिजेन्स निकायलगायतका सुरक्षा संयन्त्र हुँदा पनि सिंहदरबारको नजिकै विस्फोट हुनुले हाम्रो सुरक्षा संयन्त्र कति बलियो छ भन्‍ने पुष्टि गर्छ । 

जहिल्यै पनि बम विस्फोट भएपछि पुग्‍ने नेपाल प्रहरीलगायतको  सुरक्षा सूचना हुँदा पनि पहिले किन पुग्न सकेन् । किन निगरानीमा राख्न सकेन र किन पहिचान गर्न सकेन शंकास्पद स्थान ? अहिले यी प्रश्नहरु सुरक्षा निकायमाथि खनिएका छन् । 

राज्यको ढुकुटी तलब सुविधा लिने यति ठूलो सुरक्षा संयन्त्र हुँदा पनि संघीय राजधानीमा नै यति ठूलो विस्फोटको घटना हुनु सामान्य होइन । राजधानीका सडकहरु सर्भिलेन्स क्यामराहरु छन् । रातदिन सडकमा ड्‍युटी गरिरहेका प्रहरी छन् । तर, यी सबैको आँखा छल्दै सिंहदरबार नजिकै र राजधानीका विभिन्‍न ठाउँमा भएका यस्ता विस्फोटले त्रासको अवस्था सिर्जना गरेको छ । 

यति ठूलो विस्फोटका घटना र मानिसहरुको ज्यान जाँदा पनि सरकारले औपचारिक रुपमा मुख खोलेको छैन । विभिन्‍न विवादिन विषयमा अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिने र समृद्ध मुलुकको नारा घोकाएर सुरक्षाको ग्यारेन्टी गर्ने प्रधानमन्त्रीले यस्ता अवस्थामा अन्तर्राष्ट्रिय अभ्यास के रहेछ भनेर जान्‍न चाहेनन् वा मतलब गरेनन् । विदेशमा यस्तो अवस्था सिर्जना भए आकस्मिक रुपमा प्रधानमन्त्री अथवा राष्ट्र प्रमुखका देशबासीका नाममा सम्बोधन गर्दै फितलो सुरक्षा संयन्त्रमा राज्यलाई राख्ने सुरक्षा निकायका प्रमुखलाई बर्खास्त गरिन्थ्यो । यस विषयमा भर्खरै श्रीलंकामा भएको विस्फोटको उदाहरण ह‍ेर्न सक्छौं । 

तर, विस्फोटको एक दिन बितिसक्दा पनि सरकाले औपचारिक रुपमा कुनै धारणा सार्वजनिक गरेको छैन । न त सरकारको इन्टलिजेन्सले काम गर्‍यो न त सर्भिलेन्सले नै । यस्तो अवस्थाको सुरक्षा व्यवस्थामा जनता कसरी आश्वस्त हुन सक्छन् भन्‍ने विषयमा सरकारले जवाफ दिन जरुरी छ । यस्तो बेहालको सुरक्षामा जनता सुरक्षित हुन सक्दैनन् । 

विप्लव समूहले पनि हिंसाको बाटो छोडेर वार्ताका माध्यमबाट समस्याको समाधान खोज्‍नुपर्छ । 
 


 

More form the Internet

loading...