Suvadin, Home

बालमैत्री शासन, बाल अधिकारको सम्मान!

यौनिक हिंसाको कानूनी उपचारका लागि बन्द इजलासको स्थापना र बालबालिकालाई यातनामूक्त सिद्धान्तहरुको व्यवस्थालाई सकारात्मक रुपमा लिँदै बाल संगठन, बालगृह, बाल बगैँचा, बाल संसद जस्ता विषयमा उचित बहस गरिनु जरुरी छ।
अनुज्ञा रेग्मी।

अनुज्ञा रेग्मी


'सबै बालबालिकाले पढ्न पाउनुपर्छ भनी आवाज उठाउँदा मलाई तालिवानहरुले गोली हाने आखिर शिक्षा त उनीहरुका छोराछोरीका लागि पनि आवश्यक थियो।'

-मलाला युसुफजाई, नोबेल शान्ति पुरस्कार विजेता, पाकिस्तानी सामाजिक अभियन्ता

सामान्य शाब्दिक अर्थमा बालक शब्दले कलिला निर्दोष, अञ्जान, नासमझ केटाकेटी भन्ने अर्थ जनाउँछ। मानव विकासको चक्रमा आमाको गर्भबाट पृथ्वीमा आउँदादेखि पन्ध्र वर्ष उमेर समूहसम्मका समग्र बालबालिकालाई बालक शब्दले समेटेको छ।

नेपालको मूल कानून संविधानले प्रदान गरेका आधारभूत अधिकारदेखि लिएर समाज स्वीकार्य नैसर्गिक हक–अधिकारको यथोचित सम्मान हुने कानूनी प्रक्रियालाई नै बालमैत्री शासन भनिन्छ।

बालकले जन्मिन पाउने, नाम र राष्ट्रियताको अधिकार, शिक्षा, स्वास्थ्य र मनोरञ्जनको अधिकारको सुनिश्चितता र त्यसको कानूनी सम्मान एवम् व्यावहारिक उपयोगिताको सुनिश्चितताले यसलाई अझ स्पष्ट संकेत गर्न सक्छ।

बाललिकाको भविष्यको जीवनप्रति उचित मार्ग निर्देशन, यौन हिंसा र शोषणबाट मुक्ति, द्वन्द्वमा बालबालिकाको प्रयोग नगरिने अवस्था पनि महत्वपूर्ण पक्षहरु हुन्।

आजका बालबालिका भोलिका राष्ट्रका कर्णधार हुने हुँदा उनीहरुको उचित लालनपालन, पोषण र स्वास्थ्य, खेलकूद, मनोरञ्जनलाई विशेष ध्यान दिन सकेमा मात्र शारीरिक, मानसिक र बाैद्धिक विकास सम्भव हुन्छ।

सुसंस्कृत बालक मात्र भोलि सुयोग्य नागरिक हुने हुँदा हेर्दा र सुन्दा सामान्यभन्दा सामान्य लाग्ने दैनिक जीवन जिउने पद्धतिको कानूनी सम्मानले भोलिको सुनौलो भविष्यप्रति संकेत गर्ने हुनाले हरेक राष्ट्रहरुले आ–आफ्नो शासन व्यवस्थामा बालबालिकाहरुका सबैजसो अधिकार र हक सनिश्चित हुने गरी नियम कानून र संविधान तयार गरी तिनीहरुबाटै समाज डोर्याउने पद्धतिलाई नै समग्रमा बाल अधिकारको सम्मान भएको स्थिति मान्न सकिन्छ।

विकसित मुलुकहरुमा बालबालिकाहरुको पूर्ण दायित्व राज्यले लिएको हुन्छ। उनीहरुको शिक्षा, स्वास्थ्य, खानपान, रहनसहन, मनोरञ्जन र आत्म सम्मानमा विशेष ख्याल राखिएको पाइन्छ।

हाम्रोजस्तो विकासोन्मुख राज्यले पनि राज्यको मूल कानूनमै शिक्षा र स्वास्थ्यसम्बन्धी विभिन्न धारा उपधारा र नीति निर्माण गरी बालमैत्री शासनको प्रत्याभूति दिने गरेको देखिन्छ।

देशको दीगो विकास र भावी नेतृत्व निर्माणका लागि आधार स्तम्भका रुपमा रहेका नानीहरुको मनोभावनालाई कदर गर्दै मुलुक सञ्चालनका लागि राजनेता जन्माउन बालमैत्री शासन र बाल अधिकारको सम्मान जरुरी छ।

व्यक्तिको पालन पोषण, संरक्षण व्यक्तित्व विकासको प्रक्रिया भोलिको समग्र राष्ट्रिय विकाससँग जोडिने हुँदा जन्मनुको पूर्व अवस्थादेखि बालिग नागरिकको रुपमा परिचय पाउनु अर्थात् नेपाली नागरिकताको प्रमाण पत्र पाउने उमेरसम्म पुग्ने अवस्थासम्ममा अभिभावक, परिवार, समाज तथा राष्ट्रबाट स्वतन्त्र र निर्भय जीवन बाँच्न पाउने अवस्था र दीर्घकालीन व्यक्तित्व विकासको सुनिश्चततालाई बालमैत्री शासन मान्न सकिन्छ। बालबालिकाको मर्यादा, मूल्यमान्यता अनुसार देशको शासन सञ्चालन गर्नुलाई बाल अधिकारको सम्मान भनिन्छ।

देशको दीगो विकास र भावी नेतृत्व निर्माणका लागि आधार स्तम्भका रुपमा रहेका नानीहरुको मनोभावनालाई कदर गर्दै मुलुक सञ्चालनका लागि राजनेता जन्माउन बालमैत्री शासन र बाल अधिकारको सम्मान जरुरी छ।

वर्तमान अवस्थामा हाम्रो देशमा बालबालिका केन्द्रित थुप्रै मुद्दाहरुमा यथोचित ध्यान पुर्याउन सकेको देखिँदैन। अहिले पनि सडक पेटीमा दुर्व्यसनमा लागेका र उचित पालनपोषण र संरक्षण प्राप्त गर्न असमर्थ सडक बालबालिकाहरु देखिन्छन्।

यिनीहरुलाई उचित संरक्षण गर्नु जरुरी छ। मानव हत्या, लुट, हिंसा, द्वन्द्व, युद्धमा समेत बालबालिकाको प्रत्यक्ष अप्रत्यक्ष प्रयोग भइरहेको चहर्याउँदो अवस्थामा समेत सुधार गर्नु जरुरी छ।

यौनिक हिंसाको कानूनी उपचारका लागि बन्द इजलासको स्थापना र बालबालिकालाई यातनामूक्त सिद्धान्तहरुको व्यवस्थालाई सकारात्मक रुपमा लिँदै बाल संगठन, बालगृह, बाल बगैँचा, बाल संसद जस्ता विषयमा उचित बहस गरिनु जरुरी छ।

यहाँनिर पाकिस्तानी बालिका मलालाको प्रसंग उठाउन सान्दर्भिक हुने छ। खासगरी बालिका शिक्षाका लागि आवाज उठाउँदा तालिवानीद्वारा गोली हानिएकी मलाला आज विश्व प्रख्यात महिलाको श्रेणीमा हुनुलाई पनि राज्य एवम् मानवीय विविध संगठनहरुले लिएको पहलकदमी तथा बालमैत्री निर्णयकै रुपमा लिन सकिन्छ।

अतः समाजको आँखा नपरेका कैयन् बालबालिकाहरु हुन् वा गुगल व्वार्इका उपनामले चर्चित बालक आदित्य दाहाल हुन् सबैका लागि बालमैत्री शासन तथा बाल अधिकारको सम्मान जरुरी छ।

थाहा छैन —मेरो देश जहाँ १२ वर्षकी किशोरी आमा बन्न विवश छिन्। १० वर्षको सन्थाल भाइ इँटा बनाउने भट्टामा बाल श्रमिक भएर पसिना बगाइरहेछ।

यसैगरी, मेरै छिमेकी रामकुमार भाइ सुइ! सुई!! ढ्याप!!! पार्दै काँकरभिट्टा—काठमाडाैं जाने हायस माइक्रोमा खलासी हुन बाध्य छ। कहिले आउँला यिनीहरुका घर आँगनमा उज्याला दिनहरु?  प्रश्न अझै अनुत्तरित नै छ।

कक्षा १२ (मानविकी)
देवी माध्यमिक विद्यालय, बिर्तामोड–५ झापा


 

More form the Internet

loading...