Suvadin, Home

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र सरकारको ‘उत्ताउलोपन’ 

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ यही असोज महिनाको अन्तिममा नेपाल भ्रमणमा आउने तय भएको छ । तर, औपचारिक घोषणा नहुँदै सरकारका कतिपय मन्त्री तथा उच्च अधिकारीहरुले नै मिति सार्वजनिक गर्दै हिंडेपछि त्यसलाई कुटनीतिक क्षेत्रले गम्भीर रुपमा लिएको पाइएको छ । उनीहरुले यो शैलीलाई ‘उत्ताउलोपन’ को समेत संज्ञा दिन थालेका छन्।

यस्तो घोषणा भ्रमणको केही दिनअघि दुबै देशका परराष्ट्र मामिला हेर्ने मन्त्रालयले एकै पटक सार्वजनिक गर्ने चलन हुन्छ । तर, नेपालमा केही मन्त्रीहरुले नै घोषणा गर्दै हिंडेकोलाई कूटनीतिक क्षेत्रमा अनौठो मानिएको छ ।

अहिले अमेरिकामा रहेका चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले भने,“चीनले यसरी पहिला नै हल्ला गर्दै हिँडेको मन पराउँदैन । तर, नेपालमा अहिले परराष्ट्र मन्त्रालय बोलेको छैन । तर अरु नै मन्त्रीहरु बोल्दै हिँडेको देख्दा सरकारको उत्ताउलोपन देखिएको छ । यस्तो कुरामा गम्भीर हुनुपर्छ ।”

चीनका तत्कालीन प्रधानमन्त्री वेन जियाबाओ १४ जनवरी २०१२ मा नेपाल भ्रमणमा आउँदा नेपालको राजनीतिक नेतृत्वले यसैगरी अपरिपक्वता देखाएर पहिले नै भ्रमण तालिका सार्वजनिक गर्दा उनको भ्रमण नै झन्डै ५ घण्टा हेरफेर गर्नुपरेको पूर्वराजदूत आचार्यले बताए ।

उनको भनाइ थियो, “चीनका राष्ट्रपतिको नेपाल भ्रमण भनेको सुरक्षाका दृष्टिकोणले पनि निकै महत्वपूर्ण विषय हो । मन्त्रीहरु नै यसरी हल्ला गर्दै हिँड्नु राम्रो कुरा होइन । उहाँ नेपाल आउनु भनेको छरछिमेकमा मात्रै होइन अमेरिकासम्म तरंग उत्पन्न हुने कुरा हो । त्यसैले यस्तो कुरामा संवेदनशील हुनुपर्छ । धेरै उत्ताउलो हुनुहुँदैन ।”

उनले पुरानो सन्दर्भ स्मरण गर्दै भने, “सुरक्षाको मामिला भनेको निकै गम्भीर विषय हो । सन् २००१ को जनवरी ५ देखि ७ सम्म मंगोलियाका राष्ट्रपति नटसगीन बागाबन्दीले नेपाल भ्रमण गर्ने तय भएको थियो । भ्रमणको बारेमा तत्कालीन राजा वीरेन्द्रलाई ब्रिफिङ गर्न प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, परराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोला र राजदूतका रुपमा म राजदरबार गएका थियौं । प्रजातन्त्र आइसकेपछिको त्यत्रो ‘टावरिङ पर्सनालिटी’ प्रधानमन्त्री भएर पनि गिरिजाबाबुलाई भ्रमणको केहीदिन अघिसम्म पनि सुरक्षाको बारेमा जानकारी रहेनछ । उहाँले नै ‘सेक्युरिटी’ ? भनेर राजासमक्ष प्रश्न उठाउनुभयो । त्यतिबेला केही बेर कोही पनि बोलेन । केहीबेरमा राजा वीरेन्द्रले ‘त्यो हामी मिलाउँला’ भन्नुभएको थियो । सुरक्षाको मामिला यति गम्भीर हुन्छ । त्यसैले हल्ला गर्दै हिंड्ने कुरा होइन ।”

उनको थप भनाइ थियो, “मंगोलियाको राष्ट्रपतिका लागि सुरक्षाको खासै ‘थ्रेट’ थिएन र पनि त्यति गम्भीरता देखाइएको थियो । चीनको राष्ट्रपतिको भ्रमण भनेको संवेदनशील हो । सबैजना गम्भीर भएर सोहीअनुसार एजेण्डा तय गरेर भ्रमण सफल बनाउन लाग्नु राम्रो हुन्छ ।”  


प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईलाले भनिहाल्ने गरी अहिले नै केही भइनसकेको जनाए । उनले अहिलेसम्म कुनै मिति घोषणा नगरिएको बताए । 

परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने चीनका राष्ट्रपति आउने कुरा अहिलेसम्मको अवस्थामा निश्चित रहेको जनाएका छन् ।  उनले एजेण्डाको बारेमा अझै छलफल भइरहेको र अन्तिम टुंगो चाँडै लाग्नेसमेत जनाए ।  चीनका राष्ट्रपति सी यही असोज २४ देखि २६ सम्म (अक्टोबर ११ देखि १३) सम्म भारतको भ्रमणमा जाने र त्यसपछि लगत्तै नेपालको दुईदिने भ्रमणमा आउने तय भएको हो । 

नेपालको भ्रमण चिनियाँ राष्ट्रपतिको तहबाट २३ वर्षपछि पहिलोपटक भएकोले यसलाई चीन स्वयंले निकै महत्व दिएको स्रोतहरुले बताएका छन् ।  नेपालमा पनि यस भ्रमणलाई लिएर उच्च सरकारी तहबाट निकै महत्व दिइए पनि कतिपय मन्त्रीहरुले भने तरिका नजानेर उट्पट्याङ शैलीमा बोल्दै हिँडेको कूटनीतिज्ञको प्रतिक्रिया छ ।

यसबीचमा चीनका राष्ट्रपति सीको भ्रमणका क्रममा बस्ने होटल, जाने विभिन्न स्थल, विमानस्थललगायतका विषयमा चीनको  मेम्बर अफ द स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी) र अन्य सुरक्षा तथा गुप्तचर निकायले निरीक्षण गरेको बुझिएको छ ।  यसैगरी काठमाडौंमा हुन सक्ने तिब्बती गतिविधिलाई समेत चीनले निकै चासो दिएको पाइएको छ ।  यसअघि सन् २०१६ को अक्टोबर १६ (२०७३ असोज ३०) का दिन चीनका राष्ट्रपति सी नेपाल आउने लगभग तय भएकोमा त्यतिबेलाको राजनीतिक अस्थिरताका कारण उनले सो भ्रमण रद्ध गरेका थिए । 

अहिले सीले भारतको भ्रमण गर्न लागेको कारण चाहिं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर सम्मेलनका लागि हो । यसअघि २०१८को अप्रिल महिनामा चीनको हुवेइ प्रान्तको राजधानी वुहानमा पहिलो शिखर सम्मेलन भएकोमा यसपालि भारतको तमिलनाडुको ममलापुरममा दोस्रो शिखर सम्मेलन हुन लागको हो । 

राष्ट्रपति सीको भ्रमणलाई नै केन्द्रमा राखेर  यही सेप्टेम्बर ८ देखि १० तारेखसम्म चीनका विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए ।

यही असोज ३ गते संविधान दिवसका दिन चीनका राष्ट्रपति सीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक शुभकामना सन्देश पठाएर नेपालसँगको सम्बन्धको  विकासलाई चीनले  उच्च महत्व दिएको र यसका लागि काम गर्न आफू तयार रहेको जनाएका  थिए । उनले गएको अप्रिल महिनामा राष्ट्रपति भण्डारीद्वारा गरिएको चीन भ्रमणको स्मरण समेत गरेका थिए ।

त्यसैगरी सोही दिन चीनका प्रधानमन्त्री ली केक्युइङले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको पत्रमा दुई देशबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्तमा आधारित भएको जनाएका छन् । उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को चर्चा गर्दै चीन र नेपालको आपसी सहयोगलाई विभिन्न क्षेत्रमा अगाडि बढाउन आफू तयार भएको उल्लेख गरेका छन् । 
 


 

More form the Internet

loading...