Suvadin, Home

पारिवारिक निजी वनः सम्भावनै-सम्भावनाको खानी

पारिवारिक निजी वन विशुद्ध रुपमा परिवारको गर्जो टार्ने, परिवारको आवश्यकता परिपूर्ति गर्ने र जसरी आफ्नो खेतबारीमा अन्य कृषिजन्य बाली धान, गहुँ, मकै, फलफूल लगायतका सामग्री उपभोग गरिन्छ, त्यसैगरी आफैँले रोपेको रुखहरु उपभोग गर्न सकिने गरी निजी वन व्यवस्था हुनुपर्छ।
पारिवारिक सामुदायिक वन।

कुलप्रसाद चापागाई


निजी वन भन्नाले सामान्यतया व्यक्तिको आफ्नो स्वामित्वमा रहेको जग्गामा भएको वनलाई बुझिन् । वर्षौंदेखि पारिवारिक आवश्यकता पूरा गर्नका लागि हुर्काइएको वा संरक्षण गरिएको वनलाई नेपालमा पारिवारिक निजी वनका रुपमा चिनिन्छ।

जीवनयापनको महत्वपूर्ण हिस्साका रुपमा रहेका यस्ता वनको व्यवसायीकरण अहिलेसम्म गर्न सकिएको छैन। कतिपय पारिवारिक निजी वन किसानले भने उद्यममार्फत पारिवारिक निजीमार्फत आर्थिक सम्बृद्धिसमेत हासिल गरेका छन्। 

नेपालमा हाल कुल वनको ११ प्रतिशत पारिवारिक निजी वन रहेको तथ्यांक छ। नेपालमा पारिवारिक निजी वन लगाउने प्रचलन पछिल्लो समय बढ्दै गइरहेको छ।

तर पनि कतिपय अवस्थामा आफुले हुर्काएको वन आफैँले उपभोग गर्न नपाइने कठिनाइले किसानहरुको पारिवारिक निजी वन प्रति धेरै रुची जान नसकेको प्रष्टै देख्न सकिन्छ। 

नेपालमा विशेषगरी निजी वन हुर्काउँदा जग्गाको स्वामित्वमा विवाद आउने, वन पैदावारको बेचबिखन र ओसार पसारको स्पष्ट कानूनी व्यवस्था नहुँदा किसानहरुलाई समस्या थपिएको छ।

रोजगारीको सिलसिलामा विदेशका गएका व्यक्तिको जमिनमा हुर्किएका रुखसमेत बेचबिखन र उपयोगका लागि त्यति सहज छैन। वन कार्यालयको झन्झटिलो प्रकृयाका कारण आफ्नो बारीको रुख विरुवा उपभोग गर्न पनि अकल्पनीय कानुनी झन्झट र ढिलासुस्ती सामना गरिरहनु परेको छ। 

यस्तै विविध समस्याका कारण आर्थिक विकासको प्रचुर सम्भावना बोकेको निजी वन विकास कार्यक्रमलाईसमेत अपेक्षित रुपमा अगाडि बढाउन सकिएको छैन।

दैनिक जीवन चलाउनकै लागि वनजन्य सामग्री प्रयोगमा ल्याउन भइरहेका कठिनाईका कारण पनि निजी वन क्षेत्र र यसको प्रवद्र्धनमा सबैको ध्यान जान नसकेको हो। 

पारिवारिक निजी वन विशुद्ध रुपमा परिवारको गर्जो टार्ने, परिवारको आवश्यकता परिपूर्ति गर्ने र जसरी आफ्नो खेतबारीमा अन्य कृषिजन्य बाली धान, गहुँ, मकै, फलफूल लगायतका सामग्री उपभोग गरिन्छ, त्यसैगरी आफैँले रोपेको रुखहरु उपभोग गर्न सकिने गरी निजी वन व्यवस्था हुनुपर्छ। जसले गर्दा आममानिसले सजिलै नीजि वन हुर्काउन पाउँछन्।

नेपालमा सानासाना क्षेत्रमा करिब १० लाखभन्दा बढी पारिवारिक निजी वनहरू रहेको तथ्यांक छ। 

अवसरहरु 

पारिवारिक निजी वनले निजी वन किसानको आर्थिक बृद्धिमा प्रचुर सम्भावना बोकेको छ। निजी वनमार्फत किसानहरुले आफ्नो दैनिक आवश्यकता पूरा गर्नका लागि वनको उपयोग गर्न सक्छन्।

छिटो बृद्धि हुने रुख बिरुवा लगाएर छोटो समयमा नै धेरै आम्दानीसमेत लिन सकिने हुँदा आर्थिक स्रोतका लागि वन उपयोगी बन्न सक्छ।  

नेपालमा वन क्षेत्रको सेवाबाट टाढा रहेका ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायको दैनिक जीवनयापनका लागि अत्यावश्यक घाँस, दाउरा, काठ आदिका लागि वनको उपयोग हुने गरेको छ।

रोजगारीको सिलसिलामा विदेशका गएका व्यक्तिको जमिनमा हुर्किएका रुखसमेत बेचबिखन र उपयोगका लागि त्यति सहज छैन। वन कार्यालयको झन्झटिलो प्रकृयाका कारण आफ्नो बारीको रुख विरुवा उपभोग गर्न पनि अकल्पनीय कानुनी झन्झट र ढिलासुस्ती सामना गरिरहनु परेको छ। 

यसका लागि पारिवारिक निजी वनले विशेष भूमिका निर्वाह गर्ने देखिन्छ। वन उद्यमले वातावरणीय सेवा जस्ता अत्यावश्यक वस्तु एवम् सेवा उपलब्ध गराउने, हरियाली प्रवर्द्धन गर्ने लगायतका सहयोगसमेत पुर्याउने देखिन्छ। 

किसानहरुलाई काठ, दाउरा मात्र होइन, त्यस विभिन्न कृषि औजारका सामग्रीहरु निर्माण गर्न समेत निजी वनले सहयोग पुर्याउँछ। यसका साथै निजी वन किसानहरुका लागि राम्रो रोजगारीको सिर्जना गराउने माध्यम पनि बन्न सक्छ।

नेपालमा पारिवारिक निजी वन दिन-प्रतिदिन बढ्दो अवस्थामा रहेको छ। पछिल्लो समय रोजगारीको अभावमा वैदेशिक रोजगारमा जानेहरुको संख्या बढ्दो क्रममा रहेको छ।

यस्तो अवस्थामा निजी वनको विकास र विस्तारमा सहजता प्रदान गरी युवाहरुलाई वन उद्यममा अग्रसर बनाउने हो भने समग्र देशको नै आर्थिक अवस्थामा बृद्धि हन जान्छ। 

निजी वनको विकास गर्न सके नेपालबाट अन्य देशमासमेत काठ निर्यात गर्न सकिने देखिन्छ। कृषि उत्पादन गर्दा चाहिने श्रमिकको अभाव भएकाले कतिपय ठाउँमा प्राकृतिक रूपमा नै रूखहरू उम्रिएका छन्।

यसरी निजी जमिनमा हुर्किएका रुखहरुको प्रयोगले काठ आयात रोक्ने र निर्यातमा सहयोग पुर्याउन सक्छ भन्ने कुरामा दुइमत छैन। 

चुनौतीहरु

नेपालमा पारिवारिक निजी वन हुर्काउने उपयुक्त कानूनी व्यवस्था नभएकाले पनि यसको विकास हुन सकेको छैन। सबैभन्दा पहिले निजी वन र यसको प्रयोग बारे किसानहरुका लागि सुहाउने किसिमको कानुनी व्यवस्था हुन जरुरी देखिन्छ।

वन तथा भूसंरक्षण मन्त्रालयबाट नै पारिवारिक निजी वनका लागि सहयोगको आवश्यकता जरुरी छ।

यसका लागि सरकारले मन्त्रालयको तल्लो निकाय गाउँपालिका वा नगरपालिकाबाट नै पारिवारिक निजी वन किसानका लागि परिचयपत्रको व्यवस्था मिलाउन सके पारिवारिक निजी वन किसानहरु बढ्न सक्ने र समग्र वन क्षेत्रको विस्तार हुन सक्ने देखिन्छ। 

नेपालका अधिकांश कृषकहरु शिक्षित छैनन्। नेपालका अधिकांश ग्रामीण भूभागमा बाँझो जमिन पर्याप्त मात्रामा छन्। किसानहरुको व्यक्तिगत निजी जमिनमा कुन रुख विरुवा लगाउने हो भने पनि किसानहरुलाई जानकारी छैन। माटो सुहाँउदो रुख विरुवा लगाउन सके मनग्यै आर्थिक आम्दानी हुनसक्छ। 

कतिपय किसानहरुलाई निजी वनको बारेमा ज्ञान नहुँदा त्यसको सदुपयोग गर्न सकिरहेका छैनन्। प्राविधिक ज्ञानको अभावमा लगत रुखबिरुवा लगाउँदा आम्दानीको सट्टा थप घाटा व्यहोर्नुपरेका उदाहरण पनि प्रशस्तै छन्।

आफ्नो बारीको रुख काट्दा जिल्ला वन कार्यालयले पक्राउ गरेको उदाहरण पनि प्रशस्तै छन्। जसले गर्दा किसानलाई वन विकासमा अप्ठ्यारो महसुस भएको हो। 

यसबाहेक किसानहरुलाई कुन बिरुवा लगाउँदा छिटो बृद्धि हुन्छ र धेरै आम्दानी गर्न सकिन्छ भन्ने ज्ञान नहुँदा पनि समस्या भइरहेको छ।

राज्यबाट नै निजी वन हुर्काउन किसानहरुका लागि उपयुक्त बिरुवाको व्यवस्था गरिदिने प्राकृतिक विपत्तिबाट हुने विनाशका लागि विमा को व्यवस्था गरिदिने हो भने पारिवारिक निजी वनको अझ विकास हुने देखिन्छ। 

अबको बाटो

पारिवारीक निजी वन लगाउन र यसलाई उद्यमको रुपमा विकास गर्नका लागि सरकारले नै किसानहरुलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ।

यसका लागि सरकारले नीजि वन किसानहरुका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, किसानका लागि नीजि वनको विमाको व्यवस्था गरिदिनुपर्ने देखिन्छ। जसले गर्दाे नीजि वन उद्यममा किसानहरुको आकर्षण बढ्ने देखिन्छ।

स्थानीय उद्यमलाई प्राथमिकतामा राखेर किसानको आफ्नो बारीका रुख बिरुवाबाट बनाइएका फर्निचर तथा अन्य काठजन्य उत्पादनको बजारीकरणका लागिसमेत सरकारले पुलको काम गर्नुपर्छ।

पछिल्लो समयमा विश्वभरि निजी पारिवारिक वन लगाउने र त्यसको क्षेत्र विस्तार गर्ने क्रम बढेको छ। नेपालले पनि यसलाई अवसरका रुपमा उपभोग गर्न सक्नुपर्छ। 

(चापागार्इ पारिवारिक निजी वन संघका केन्द्रीय कोषाध्यक्ष हुन्)


 

More form the Internet

loading...