Suvadin, Home

Cover Image

हाम्रो सपना र सामाजिक मान्यता

राजनीतिले छुवाछुतको अन्त्य गरेको धेरै भयो। तर, सामाजिक मान्यताको कारण त्यो पूरै हट्न सकेको छैन। राजनीतिले देश चलाउनु पर्छ। राजनीतिले देश चलाउने भनेको राज्यले निर्माण गरेका नियम कानुनको पालना हुनु र त्यसैअनुसार समाज, देश चल्नु हो। राजनीतिले सामाजिक मूल्यमान्यतालाई समयअनुसार परिवर्तन गर्ने तागत राख्नुपर्छ। त्यसको अगुवाई गर्नुपर्छ। यस्ता कुराको फाइदा आममानिसलाई बुझाउन सक्नुपर्छ। तर, राजनीतिले यो भूमिका राम्ररी पूरा गर्न सकेन।

रामचन्द्र उप्रेती


हाम्रो समाजमा आममानिसको सपना के होला? जवाफ त यसरी पनि दिन सकिन्छ सबैको सपना एउटै हुँदैन। तर, धेरै मानिसको सपना जे हुन्छ त्यो आम मानिसको सपना हो। मैले जानेसम्म धेरै मानिसको सपना त्यति ठुलो छैन। बस्नका लागि एउटा ठिक्कको घर होस्। खानलाउन पुग्ने सम्पत्ति होस्। सन्तानका लागि अलिकति धन जम्मा गर्न सकियोस्। समाजमा मानसम्मान रहोस्। 

यिनै साधारण सपना पूरा गर्न मानिस कर्म गर्छन्। कर्म थरिथरिका हुन्छन्। कर्म जे गर्नुहोस्, सपना उस्तै हुन्छ। कर्मले सपना पूरा गर्दै जान्छ। सपना तन्किदै जान्छ। घरबाट ठूलो घर, धेरै घर। सामान्य खानलाउनबाट विलासी जीवन र असीमिति धन जम्मा गर्ने चाहना। समाजमा पाइने आत्मीय मानसम्मानको स्थानमा शक्तिको भोक र शक्तिका लागि पद। 

हाम्रो समाजले सवैका हातहातमा काम होस् भन्ने मान्यतालाई उति महत्व दिँदैन। बदलामा महत्व सम्पतिले पाउने गरेको छ। सायद त्यसैले होला हामी सन्ताललाई सम्पन्न(धनी) भएको हेर्न चाहन्छौं। त्यसैले होला कोही धनी छ भने उसले समाजमा मानसम्मान पाइरहेको हुन्छ। ऊ कसरी धनी भयो भनेर खासै चासो राखिँदैन।

हाम्रो यो खालको सामाजिक मान्यताका कारण जसरी पनि चाँडै धनी हुने कर्म कुकर्म गर्न मानिसलाई प्रेरित गरेको अवस्था छ। हामी के काम गर्छौं? पेशा के हो? कसरी यति धेरै धन आर्जन भयो? यसको बारेमा त्यति खोजी–नीति समाजले नगर्ने र राज्य कमजोर भएकाले उसले पनि खासै केही गर्न नसकेकाले विकृतिको चाङ लाग्दै गयो। 

राज्य किन कमजोर भयोभन्दा राज्यको जिम्वेवारी लिन पुगेका मानिसमा सामान्य जीवनको सट्टा विलासी जीवनप्रतिको आकर्षण, सीमित आम्दानीको सट्टा असीमित आम्दानीमा लिप्त, स्रोतविहीन अकुत सम्पत्ति प्रतिको मोह र सुरक्षित हुन पदको सहारा लिने प्रवृत्ति हावी हुँदै गयो। कर्ता नै चोर भएपछि अरुलाई नियन्त्रण गर्ने न नैतिक बल हुन्छ न साहस। त्यसैले जताततै अराजकतन्त्र मौलाउँदै गयो।

देश राजनीतिले चलाउँछ भन्ने मलाई पनि लाग्थ्यो। तर, देश सामाजिक मान्यताका आधारमा धेरै र थोरै राजनीतिले चलाउँदो रहेछ भन्ने लाग्न थालेको छ। किनभने हाम्रो सामाजिक मान्यतामा काम वा पेशा व्यवसायलाई भन्दा धनसम्पत्तिलाई मान्यता दिएकाले काम जे भएपनि ध्यान पैसा कसरी कमाउने भन्नेमा नै पुगेको देखिन्छ।

जसरी भएपनि पैसा कमाउने र समाजमा सम्मानित एवम् सुरक्षित हुने सामाजिक मान्यताको कारण नै समाज चलेको छ। यस्तो चलनलाई राजनीतिले संरक्षण गरेको कारण वास्तवमा देश राजनीतिले भन्दा सामाजिक मान्यताले चल्दो रहेछ भन्ने लागेको छ। 

जागिरेले सहरमा एक–दुई वटा विल्डिङ बनाउन सकेन भने त्यो हुतिहारा ठहर्छ। तलबले त छोराछोरी सरकारी विद्यालयमा पढाए मात्रै हो दैनिकी धान्न पुग्ने घर कसरी बनोस्। राजनीति गर्ने मानिसको पेशा राजनीति।

छाना, खाना, नाना मात्रै होइन राजनीति गर्ने खर्च र भविश्यको जोहो पनि राजनीति पेशाबाटै गर्नुपर्ने। राजनीतिले पेशा र चन्दाले लगानीको रुप धारण गरेको छ। पेशाकर्मीहरु पेशागत धर्ममा कम र धनको स्रोतमा बढी मन गाडेर कर्म गर्छन्। यो चरित्र समाजमा अझै पुजनीय नै छ। किनभने यसले सामाजिक मान्यता पाएको छ। 

राजनीतिले छुवाछुतको अन्त्य गरेको धेरै भयो। तर, सामाजिक मान्यताको कारण त्यो पूरै हट्न सकेको छैन। राजनीतिले देश चलाउनु पर्छ। राजनीतिले देश चलाउने भनेको राज्यले निर्माण गरेका नियम कानुनको पालना हुनु र त्यसैअनुसार समाज, देश चल्नु हो।

राजनीतिले सामाजिक मूल्यमान्यतालाई समयअनुसार परिवर्तन गर्ने तागत राख्नुपर्छ। त्यसको अगुवाई गर्नुपर्छ। यस्ता कुराको फाइदा आममानिसलाई बुझाउन सक्नुपर्छ। तर, राजनीतिले यो भूमिका राम्ररी पूरा गर्न सकेन।

मानिसलाई धनी हुने छुट राज्यले प्रदान गर्नुपर्छ। तर, धनको स्रोत राज्यलाई थाहा हुनुपर्छ। राज्यलाई कर तिरेको धनमात्रै वैधानिक सम्पत्ति हो र त्यस्तो धनले मात्रै सामाजिक मान्यता पाउनु पर्छ। विकसित सामाजिक मान्यताका आधारमा भन्ने हो भने हाम्रो समाजका अधिकांश धनी मानिसको धन चोरीको धन हो। किनभने त्यो धनको स्रोत प्रष्ट छैन र नियम अनुसारको कर तिरेको छैन।

हाम्रो सामाजिक मान्यतामा चोरीको धनले विलासी जीवन बाँच्नेहरु सम्मानित छन्। अझ मासिक पचास हजारभन्दा कम तलव थाप्ने कतिपय सरकारी कर्मचारीको अर्वको सम्पति हुन्छ। सधैँ समाज सेवा र राजनीति गर्ने ओहदावालको सम्पतिमा कतैबाट प्रश्न उठाइँदैन।

किनभने हाम्रा सामाजिक मान्यता नै त्यसै अनुरुप विकसित भएका छन्। यही कारण धेरैजसो मानिस चोरेर धनी हुने होडमा दौडिएका छन्। पेशा गर्नेहरु सेवाग्राहीसँग अनुचित लाभ लिएर चोरी गर्छन्।

व्यवसाय गर्नेहरु ग्राहकसँग भनेभन्दा बढी मूल्य र कमसल वस्तु एवम् सेवा बेचेर चोरी गर्छन्। यस्तो चोरीले सरासर सामाजिक मान्यता पाउने गरेकाले दण्डनीय छैनन्। यदाकदा मात्रै यस्ता चोरहरु समातिने गर्छन्।

राजनीतिले समाज र देश चलाएको भए यस्ता चोरहरु समातिने थिए। समाजले यस्तालाई दुत्कार्ने थियो। राज्यले समात्ने र समाजले दुत्कार्ने गरेको भए यस्तो कर्म गर्न मानिस हौसिने थिएनन्। 

यस्तो समाजमा केही मानिस सम्पन्न जस्ता देखिन्छन्। धनीमानी कहलिन्छन्। समाजमा अगुवाको पगरी पाउँछन्। सधैँ देश र समाजकै लागि काम गरिरहेको जस्तो पनि देखिन्छ। उनीहरु त भन्छन् नै ‘म सधैँ देश र समाजको सेवा गरिरहेको छु।’

तर, वास्तवमा समाज र देश तिनीहरुकै कारण समस्यामा छ। समाजका बहुसंख्यक मानिसको अहित उनीहरुकै कारणले भइरहेको छ। किनभने उनीहरु देश र समाजको लुटेर आफ्नो बनाउने काम निरन्तर गरिरहेका हुन्छन्। त्यसले सामाजिक मान्यता पाइरहेको हुन्छ। त्यसैले सामाजिक मूल्यमान्यताहरु बलवान हुन्छन्। हाम्रा सपनाहरु पनि सामाजिक मान्यताका आधारमा बन्छन्, हुर्कन्छन् र विकसित हुन्छन्। 

यो लेखको सुरुमै भनियो आममानिसका सपनाहरु धेरै ठुला छैनन्। ती पूरा हुनुपर्छ र पूरा गर्न राज्यले सघाउनु पर्छ। तर, त्यो अवसर सबैका लागि हुनुपर्छ। जसले अरुलाई अवरोध गरेर सपना पूरा हुन बाधा गरिरहेको हुन्छ, उसलाई राज्यको अर्थात राजनीतिको प्रभावकारी हस्तक्षेप हुनुपर्छ।

सपना पूरा गर्ने उपाय जसरी पनि अथवा अरुको चोरेर होइन सवैले कर्म गरेर गर्नुपर्छ। समाज विकसित हुँदै जाँदा सामाजिक मान्यता पनि बदलिदै जान्छन्, जानुपर्छ। समाजका सवैको सपना पूरा हुनुपर्छ।

तबमात्रै हाम्रो समाज सभ्य समाज बन्न सक्छ। सभ्य समाजका लागि उपयुक्त सामाजिक मूल्यमान्यता र प्रभावकारी राज्य आवश्यक हुन्छ। हामी धेरैको सद्भाव, चिन्तन र कर्मले मात्रै त्यो सम्भव छ। चाहना सभ्य, समाज र विकसित देश तर कर्ममा चोरीको फाइदामा रमाउने सामाजिक मूल्यमान्यता र कमजोर राज्य। 

केही नभएको होइन, हुँदैछ । तर, गति निकै सुस्त छ। हामी मागेर न आफू बन्छौँ न देश बन्छ। दुनियाँमा जुन देश विकसित र धनी भए ती आप्mनै मेहनत र कर्मले भए। हाम्रो अहिलेको अवस्था भनेको भएको साधनस्रोतको उपयोग गर्न नसक्ने, ढिकुटीमा भएको नगदको खर्च गर्न नसक्ने, सदुपयोग गर्न नसक्ने तर अरुको सहयोगले देश बनाउने सपना देख्ने।

सृजना गरेर धनी भएकाहरुबाट समाज र देशले केही पाउछ। संयोगले धनी भएकाहरु समाज र देशलाई केही दिन चाहँदैनन्। देश र समाजको लुटेर चोरेर धनी भएकाहरु सधै लुट्न सिकाउँछन्। ती सबै बराबर हुँदै होइनन्। तर, समाज लुटेर चोरेर धनी भएकालाई पो सम्मान गर्छ। त्यसैले समाज बदल्न सामाजिक मान्यता बदलौँ। देश सम्वृद्धिको बाटोमा लाग्छ।


 

More form the Internet

loading...