Suvadin, Home

काम खोज्ने र काम गर्नेहरुका लागि सुझाव
उद्यमशीलताकाे विकास गराैं, स्वदेशमै छन् प्रशस्त सम्भावना

यसले धेरै रोजगारी सिर्जना गर्ने, शीपको विकास गर्ने, सामाजिक र पारिवारिक सद्भाव बढ्ने र विकृति कम हुने, स्थानीयस्तरको आर्थिक प्रभाव विस्तार हुने र अप्रत्यक्ष रोजगारी सृजना हुने जस्ता काम हुने थियो। तर, यतातिर राज्यको प्रयास भएपनि नतिजा खासै नदेखिनु र समाजमा युवाको आकर्षण यस्ता काममाभन्दा विदेशिन रहर गर्नुको कारण किन कम हुन सकेन होला? 
लेखक रामचन्द्र उप्रेती तथा झापाकाे मेचीनगरस्थित एनएमसी डेरीमा कार्यरत कर्मचारीहरु।

रामचन्द्र उप्रेती


नेपालीहरु स्वदेशमा काम नपाएर दैनिक १५ सयभन्दा बढी जहाज चडेर कामको खोजीमा विदेश जान्छन्। गुडेर र हिँडेर भारतको भूमिमा कामको खातिर पुग्नेको गन्ती हुने गरेको छैन।

नेपालले बर्षेनि ६ खर्ब जति रकम विप्रेषणको रुपमा भित्र्याउने गरेको छ। यस्तो रकमको बृद्धिदर घटेकोमा धेरैलाई चिन्ता र चासो हुने गरेको छ।

नेपालबाट भारतमा कति रकम विप्रेषणको रुपमा बर्षेनि जान्छ भन्ने यकिन तथ्याङ्क नभए पनि करिव नेपालले तेश्रो मुलुकबाट भित्र्याएको रकमको आधाभन्दा बढी रकम नेपालबाट भारततर्फ विप्रेषणकै रुपमा जाने गरेको तथ्याङ्क छ भन्ने गरिन्छ। यो सानो रकम होइन।

किन यस्तो भइरहेको छ? यसबारेमा धेरैको ध्यान गएको छैन। 

नेपालको ५१ प्रतिशत जनसंख्या बसोबास गर्ने तराई र ५० लाखभन्दा धेरै मानिस बसोबास गर्ने उपत्यकामा सीमापारीबाट आएर फुटपाथमा स्वतन्त्र व्यपार गर्ने, घरघर पुगेर तरकारीदेखि अनेक उपभोग्य सामान बिक्री गर्ने, निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने, विभिन्न व्यवसायमा काम गर्ने अदक्ष, अर्धदक्ष, दक्ष जनशक्तिले नेपालमा सेवा दिइरहेका छन्।

यिनीहरुले आफ्नो कामबाट पाउने ज्याला र व्यवसायबाट पाउने नाफाबाट बचाएको पैसा नै भारतमा जाने गर्छ। नेपालमै यो खालको जनशक्ति तयार गर्ने हो भने यो पैसा नेपालबाट बाहिर जाने थिएन।

यसले धेरै रोजगारी सिर्जना गर्ने, शीपको विकास गर्ने, सामाजिक र पारिवारिक सद्भाव बढ्ने र विकृति कम हुने, स्थानीयस्तरको आर्थिक प्रभाव विस्तार हुने र अप्रत्यक्ष रोजगारी सृजना हुने जस्ता काम हुने थियो।

तर, यतातिर राज्यको प्रयास भएपनि नतिजा खासै नदेखिनु र समाजमा युवाको आकर्षण यस्ता काममाभन्दा विदेशिन रहर गर्नुको कारण किन कम हुन सकेन होला? 

काममा शीपको अभावः नेपालमा गरिविको रेखामुनिको जनसंख्या घटेर २३ प्रतिशत मुनि भएको अनुमान छ। यसमा वैदेशिक रोजगारीबाट हुने आम्दानीले गरीव घटाउन सकेको देखिएको छ।

स्थानीय उत्पादनको संस्कृति हुर्किन नसक्दा व्यक्तिमा शीपको विकास र उद्यमशीलताको क्षमता फस्टाउन सकेन।

तर, वैदेशिक रोजगारीबाट भएको आम्दानीले बचत, लगानी र उत्पादनको संस्कृति स्थापना गर्न सकेन। तीव्र उपभोगवादी संस्कृतिको विस्तार भयो। स्थानीय उत्पादनको संस्कृति हुर्किन नसक्दा व्यक्तिमा शीपको विकास र उद्यमशीलताको क्षमता फस्टाउन सकेन।

त्यसैले यहाँ कामको श्रृजना पर्याप्त भएन, भएका स्थानमा पनि शीपको अभावमा बाहिरियाले अवसर लिए। त्यसैले अवस्था कस्तो छ भने समाजमा हरेक दिन काम खोज्ने मानिसको संख्या थपिँदो छ, तर काम गर्ने र गर्न जान्ने मानिस हत्तपत्त भेटिँदैन।

किनभने हरेक कामका लागि आधारभूत शीप जरुरी हुन्छ तर त्यो शिपको विकास हुने गरि न युवा धैर्यताकासाथ काम गर्छन् न काम लगाउनेले काम दिन सक्छन् ।

कस्ता युवा छन् श्रमबजारमा?

हरेक वर्ष चारपाँचलाख युवा श्रम बजारमा आउँछन् । उनीहरुको रोजाई जागिर हो उद्यमशिलता वा स्वरोजगार व्यवसाय होइन । किनभने उद्यमशीलता वा स्वरोजगार व्यवसायका लागि धैर्यता, लगनशिलता, जोखिम लिने क्षमता, विश्लेषणको क्षमता, पूँजीको जोहो, उचित जनसम्पर्क आदिको आवश्यकता पर्छ।

तर, जागिर खानेले लाए-अराएको काम गरे पुग्छ र प्रतिफल महिना दिनमै आउँछ। दुर्भाग्य के हो भने सबैलाई जागिर जुर्दैन अर्थात सबैमा जागिर खाने क्वालिटी पनि छैन।

त्यसैले सबैको सजिलो रोजाई हो वैदेशिक रोजगारी। आकर्षक विज्ञापन, दलालका मीठा कुरा, बिदेश घुम्ने जहाज चढने युवाको रहरले यतातिर तुरुन्तै आकर्षण गरिहाल्छ। 

जागिर खान नसके विदेश जान उक्साउछन्। यो अभिभावकको गल्ती हो।

अभिभावकको रोजाई पनि जागिरः नेपाली समाजमा धेरै अभिभावक आफ्ना सन्तानले जागिर खाएको हेर्न चाहन्छन् र जागिरका लागि दवाव दिन्छन्। जागिर खान नसके विदेश जान उक्साउछन्। यो अभिभावकको गल्ती हो।

अभिभावकले आफ्ना सन्तानलाई छिटो पैसा आउने जागिर (महिनामै तलव पाउने)भन्दा सानोतिनो लगानी गरेर उद्यमशीलता रोज्न प्रेरित गर्नुपर्छ। व्यवसाय गर्न चाहिने शीप सिक्ने गरी जागिर खान सकिन्छ तर लक्ष जागिर होइन आफ्नो स्वतन्त्र व्यवसाय हो भन्ने मान्यता राख्नुपर्छ।

छोटो अवधि (२-३वर्ष)को जागिर खाएर काम सिक्ने र उस्तैउस्तै व्यवसाय गर्ने प्राय सबै मानिस सफल भएका छन्। 

जागिरमा भन्दा साना व्यवसायमा बढी आम्दानी

काठमाण्डौंबाट आएकी एक पाहुना सहकारीकर्मी एवम् सञ्चारकर्मी इन्दिरा पन्तले इलामबाट चारआलि आइपुगेपछि बाटामा भुईँ कटहर खाने इच्छा गरिन्, र छानेर एउटा कटहर काट्न लगाउदै उनीसँग कुराकानी शुरु गरिन्।

उनी भारतको जलपाईगुडीका बासिन्दा रहेछन्। विगत १० वर्षदेखि यहिकाम यही स्थानमा बसेर गर्ने गरेको र महिनामा नेपाली ३० हजार जति बचाएर घर पठाउने गर्दा रहेछन्।

यस्तै सोधनी मैले काठमाण्डौंको मिनभवन क्याम्पस अगाडि बसेर फल काटेर २० रूपैयाँको भाग लगाएर बेच्नेलाई सोधेको थिएँ। उनी गोरखा जिल्लाबाट काठमाण्डौं पढ्न आएका रहेछन्।

शुरुमा जागिर खान खुबै प्रयास गरेछन्। जागिर नपाएपछि काठमाण्डौंमा टिक्न यो व्यवसाय शुरु गरेछन्। अहिले यसमा जागिरबाटभन्दा राम्रो कमाई भएकाले सन्तुष्ट रहेछन्।

श्रम बजारमा आउने अधिकांश युवा शीपविहीन हुन्छन्। साधारण कला पनि छैन।

तर, सानो काम गर्दैछु भन्ने हिनताबोधबाट मुक्त नभएको पाएँ। तर, यता चारआलीमा भुईँ कटहर काटेर बेच्नेमा यस्तो कुनै भाव थिएन। उनी आफ्नो काम प्रति गर्व गर्दा रहेछन्। 

काम सिक्ने धैर्यता नै छैन

श्रम बजारमा आउने अधिकांश युवा शीपविहीन हुन्छन्। साधारण कला पनि छैन। कला र शीपविहीन युवालाई जागिर दिएर काममा राम्रो नतिजा निकाल्न सकिँदैन।

त्यसैले उनीहरुलाई काम अनुसारको शीप र कला सिकाउनु पर्छ। यस्तो शीप र कला काम गर्दै-गर्दा सिक्ने हो। तर, सिक्ने चासो छ भने मात्रै। म एक-दुई अनुभूत गरेका साधारण लाग्ने कुरा यहाँ उदाहरणको रुपमा प्रस्तुत गर्न चाहन्छुः एउटा कार्यक्रममा साउन्ड सिस्टम अप्रेट गर्ने युवाले मौन धारणको समयमा राष्ट्रिय गीतको धुन बजाए। उनलाई आयोजकले रोके।

पछि राष्ट्रिय गान बजाउने समयमा त्यही लगभग आधा बजेको गीतबाट शुरु गरिदिए। अधुरो भएकाले आयोजकले फेरी दोहोर्याउन लगाए। मैले ती युवाको अनुहार हेरिरहें। उनलाई न ग्लानी थियो न पश्चताप। उनी त खित्खित् हाँस्दै पो थिए।

त्यस्तै एउटा भोजमा क्याटरिन सेवा दिन बसेका युवाले थालमा खाना लगााइदिँदा अन्तै हेरिरहेका थिए। खाना अलिकति पोखियो पनि। उनलाई कुनै पछुतो भएको जस्तो लागेन।

उनी मस्किँदै अर्कै साथिसँग कुरा गर्दै थिए। हेर्दा अति साधारण लाग्ने यस्ता व्यवहारले उनीहरुले दिने सर्भिसको गुणस्तरको मापन गर्छ। यस्ता गल्ती वापत उनीहरुले कुनै चेतावनीसम्म पाउँदैनन्।

कसरी सुध्रिन्छ क्वालिटी?

सायद यो स्तरका युवा धैर्यका साथ कुनै काम गरिरहेका हुँदैनन्। एउटै काममा धेरै समय टिक्दैटिक्दैनन्। यस्ता युवाले सजिलै काम पाउँदैनन्, तर सजिलै पाएको काम गुमाउँछन्।

अनि बाबुआमालाई दोष, भाग्यलाई दोष, नेतालाई दोष र देशलाई दोष दिएर जीवन बर्बाद गर्छन्। यस्ता युवाले चाँडोचाँडो काम परिवर्तन गर्ने हुनाले कुनै काम राम्ररी गर्न सक्दैनन्।

काममा शीप र कला चाहिन्छ। काममा शीप आर्जन गर्न कामको प्रकृति र सिक्नेको क्षमता अनुसार न्युनतम् तीन महिनादेखि ४-५ वर्षसम्म लाग्न सक्छ। तर शीप सिक्ने लगन र धैर्य धेरैमा हुँदैन।

शीप पनि नहुने, कला पनि नहुने तर जागिर चाहिनेहरुको जमात धेरै भयो भने अवसरको खालि ठाउँ बाहिरकाले ओगट्नु स्वाभाविक हुन्छ। भएको त्यस्तै हो।

काम र शीपको आधारभुत तालिम चाहिन्छः जागिर खान होस् वा स्वतन्त्र व्यवसाय गर्न काम अनुसारको आधारभूत ज्ञान, शीप र कला चाहिन्छ। यो कुराको भेउ नपाएका अभिभावक र रोजगारीमा आउने मानिस लगभग कतै सफल हुँदैनन्।

त्यसैले यस्ता कुराको बारेमा अभिभावकले घरबाट शिक्षा दिन शुरु गर्नुपर्छ। स्कूल कलेजहरु प्रमाणपत्र मात्रै बेच्ने निकाय जस्ता भएका छन्। विद्यार्थिलाई पास भए पुग्यो। अझ स्कूल कलेज नै छाड्नेको त कुरै भएन।

श्रम बजारलाई चाहिएको जस्तो जनशक्ति न शैक्षिक संस्थाले दिए न अभिभावकले। त्यसैले श्रम बजारमा जानु पूर्व वा स्वतन्त्र साना व्यवसाय शुरु गर्नु पूर्व यसका बारेमा आधारभूत ज्ञान, शीप र कला हुनुपर्छ। यसका लागि मानसिक तयारी गर्न सके र कामबाट सिक्न सके जीवनमा असफल हुनुपर्दैन।

विदेशमा काम गर्न जानेले दैनिक ८ घण्टा पूरा काम गर्नुपर्छ। शुरुमा १ लाखभन्दा बढी लगानी गर्नुपर्छ।

कामलाई सम्मान गर्ने संस्कारको विकास गरौं

कामको सम्मान समाजमा नहुने भएकाले यहाँ समाजले हेप्ने काम गर्नुभन्दा बरु विदेश जानु उत्तम विकल्प ठान्ने गर्दा श्रम बजारमा उपलव्ध अवसरमा पनि अरुको बोलवाला हुने गरेको हो।

विशेषगरी, निर्माण क्षेत्रमा सीमावर्ती भारतबाट आएर यहाँ काम गर्ने मानिसले जम्मा ५ घण्टा जति काम गरेर सरदर दैनिक छ-सात सय ज्याला लान्छन्। सीमापारीबाट दैनिक ज्यालामा काम गर्ने गरि आउनेहरु ९ः३० तिर आउने र १० बजेबाट काम शुरु गर्छन्।

५ बजे काम छाडेर निस्किसकेका हुन्छन्। यो सात घण्टामा लगभग ५ घण्टा मात्रै काम हुन्छ। अरु समय खाना, खाजा र आराममा बित्ने गर्छ। विदेशमा काम गर्न जानेले दैनिक ८ घण्टा पूरा काम गर्नुपर्छ। शुरुमा १ लाखभन्दा बढी लगानी गर्नुपर्छ।

परिवार र गाउँघरबाट टाढा बसेर कमाई गर्ने पैसा शुरुमा आकर्षक जस्तै देखिए पनि वास्तवमा यहाँको श्रम बजारमा ८ घण्टा काम गर्ने र काम गर्नेको सम्मान हुने अवस्था भएमा यहाँ नै धेरै कामका अवसर छन्।

त्यसैले कामको सम्मान गरौं। काम गर्ने सानो होइन काम नगर्ने सानो हो। विदेशमा जस्तो पनि काम गर्ने तर देशमा काम गर्न लाज मान्ने चलन हामी आफैले बदलौं।

काम गर्ने तर नतिजाको मतलव नगर्ने प्रवृत्तिको अन्त्य गरौंः हरेक काम गर्ने मानिसले बुझ्नै पर्ने कुरा के हो भने आफूले अर्थात मैले गरेको कामले के नतिजा दियो भनेर हेर्नैपर्छ।

नतिजा राम्रो अर्थात परिणाममुखी हुनैपर्छ। काम गर्ने तर कामको नतिजाको मतलव नगर्नेले कहिल्यै राम्रो काम गर्न सक्छैनन् र रोजगार दातालाई सन्तुष्ट पार्न सक्दैनन्। त्यसैले जागिरमा रहँदा होस् वा स्वतन्त्र व्यवसाय गर्दा होस् आफ्नो कामका बारेमा आधारभूत ज्ञान, शीप र कला हुनुपर्छ।

आफूले गरेको कामले रोजगारदातालाई होस् वा ग्राहक अथवा उपभोक्तालाई कस्तो प्रभाव पर्न गयो? के राम्रो प्रभाव परेको छ? भनेर सधै प्रश्न गर्ने र सन्तुष्ट बनाउने गरि काम गरे कहिल्यै असफल हुनु पर्दैन।


 

More form the Internet

loading...