Suvadin, Home
Nepal life 1.248M

ओल्के पर्व: हातमा मिछिट्टी अनि ओल्को

ओल्के संक्रान्तिमा विशेष गरि दुई कुराहरु बढी महत्व राख्छन् । एक त मिछिट्टी लगाउने चलन र अर्को भनेको ओल्को लिने दिने चलन। मिछिट्टीले हाम्रो आधुनिक समाजमा प्रयोग हुने मेहेन्दीलाई संकेत गर्छ भन्ने ओल्को लिनेदिने क्रममा गाउँका गरिववर्गहरुले पिडालुका कलिला पात (गाभा) वा खुलेका पात वा सालका पातहरुलाई गाभाको रुप दिएर, हुनेखानेहरुका घर दैलो धाउने र उनीहरुबाट खानेकुराहरु लिएर आउने गरिन्छ। यसैलाई ओल्को दिने वा ओल्को माग्ने चलनका रुपमा हेरिन्छ। 
अाेल्के पर्व।

हामी सुदूरपश्चिम विकासका दृष्टिकोणले पछाडी परेका भए पनि सांस्कृतिक सम्पन्नताको कमी भने हामी कहाँ छैन। हामी सुदूरपश्चिमेली प्राय: वर्षभरी कुनै न कुनै चाड पर्व मनार्इ रहेका हुने गर्छौं। समयको बदलावसँगै हामीले मान्ने गरेका चाडपर्वहरूमा केही फेरबदल आएका भए पनि हाम्रो गौरवशाली संस्कृतिलाई भने हामीले भुल्न सक्दैनौं। हाम्रा प्रत्येक महिनामा अष्ठमी, एकादशी र पूर्णिमा (पन्यू) जस्ता ब्रत र उपवासका दिनहरू पर्ने गर्छन। तिनै अष्ठमी, एकादशी र पूर्णिमालाई पनि विशेष अवसरमा महत्वका साथ मनाउने गरिन्छ। जस्तै कुनै एकादशीलाई ठूली एकादशीका रुपमा मनाइन्छ भने कुनै अष्ठमीलाई गौराष्ठमी, जन्माष्ठमी, महा अष्ठमी, आदिका रुपमा मनाउने गरिन्छ। त्यसैगरी दशमीलाई (बडा) दशैंका रुपमा र द्वितीया तिथिलाई दुत्ते (भाइटिका) भनेर मनाउने चलन छ। यसरी हामीकहाँ प्रत्येक तिथिलाई अनेक चाडको रुपमा मनाउने गरेको पाइन्छ। हामीले मनाउने गरेका हरेक चाडपर्वको आफ्नो बेग्लै नाम र पहिचान छ र तिनीहरूलाई मनाउने बेग्ला बेग्लै किसिम छन् ।

यसका अलाबा प्रत्येक महिनाको पहिलो दिनलाई संक्रान्तिको रुपमा र अन्तिम दिनलाई मसान्तीका रुपमा चिनिने गरिन्छ। प्रत्येक महिनाको सुरुको दिनलाई प्रायः उत्सवकै रुपमा हेरिने भए पनि केही विशेष महिनाका संक्रान्तिलाई भने विशेष उत्सवका रुपमा मनाउने गरिन्छ। त्यसका उदाहरणका रुपमा हामीले वैशाख १ गते लाई विसौं संक्रान्तिका रुपमा मनाउनु, साउन १ गतेका दिनलाई हरेल्यै संक्रान्तिका रुपमा मनाउनु, भदौ १ गतेलाई ओल्के संक्रान्तिका रुपमा मनाउनु, माघ १ गतेलाई माघे संक्रान्तिका रुपमा मनाउनु आदिलाई लिन सकिन्छ ।

त्यसैगरी महिनाको अन्तिम दिनलाई मसान्ती भनेर भन्ने गरिन्छ। संक्रान्ति र मसान्ती दुबै दिनमा घरबाट बाहिर जानुहुँदैन भन्ने चलन पनि हामीकहाँ विद्यमान रहेको पाइन्छ। त्यसैले अति जरुरी नहुँदासम्म मसान्ती र संक्रान्तिका दुई दिनमा घरबाट बाहिर नजाने चलन छ। हुन त यो मान्यता समयसँगै मानिसले विर्सिदै जाँदैछन्। तर, पनि यी कुराहरु हाम्रा चलनहरु हुन् भन्नेकुरा चाहि हामीले भुल्नु हुँदैन। यस्ता चलनलाई निरन्तरता दिनुलाई अन्धविश्वासी हुनु भनेर अथ्र्याउनु भन्दा पनि संक्रान्तिको उत्सवमा घरका मान्छे घरमै रहुन भन्ने धेयले चलाएको चलन भनेर अथ्र्याउनु बढी तार्किक हुन सक्छ। किनभने उत्सबको मुखमा घरका सदस्य घर छाडेर बाहिर जानुले पक्कै पनि परिवारमा नैराश्यको माहोल छाउँछ। अनि त्यस्तो बेलामा जस्तो सुकै खुसीयालीले पनि मनलाई खुसी पार्न सक्दैन। त्यसैगरी संक्रन्तिले महिनाको सुरुवात जनाउने हुनाले पनि यो दिनलाई राम्रोसँग बिताउनाले महिनाभरि नै सुखपूर्ण तवरले बिताउन सकिन्छ भन्ने जन विश्वास रहिआएको छ।

संक्रान्तीहरु मध्येकै एक महत्वपूर्ण संक्रान्तिका रुपमा मनाइने भाद्र महिनाको संक्रान्ति अर्थात ओल्के संक्रान्तिको यस भेगमा ठूलो महत्व रहेको पाइन्छ। ओल्के संक्रान्ति सुदूरपश्चिमेलीको लागि अभूतपूर्व सांस्कृतिक महत्वले ओतप्रोत चाडको रुपमा लिइन्छ। भदौ महिनाको पहिलो दिनलाई विशेष गरी ओल्के संक्रान्तीका नामले चिनिन्छ। कतिपय ठाउँमा यसलाई गाभे संक्रान्ति पनि भनिन्छ। पिडालुका नयाँ पातहरुलाई गाभा भनिन्छ। यो दिनमा गाभाको तिहुन खाने चलन भएकोले यसलाई गाभे संक्रान्ति भनिएको हो। विशेष गरी ओल्के संक्रान्तिले पर्वहरुको आगमनको संकेत गर्छ। सुदूरपश्चिमेली चाडपर्वको सिलसिला ओल्केबाट प्रारम्भ हुने भएकोले ओल्के संक्रान्तिलाई पर्वहरुको सुरुवातको संकेत गर्ने चाडको रुपमा लिइन्छ। वर्षायामको रोपाइँको सिलसिलाको समाप्ती पछि सुरुहुने चाड पर्वको क्रम सुरु भएको संकेत गर्ने यो चाडले प्रत्येक सुदूरपश्चिमेलीहरु माझ खुसीको माहोल थप्ने गर्छ। ओल्के लगत्तै गौरा, तीज, जन्माष्ठमि, बुढिपोल्ली संक्रान्ति, दशैं–तिहार, विभिन्न स्थानीय देवी–देवताको जाँत, आदि सुरु हुने भएकोले सुदूरपश्चिमेली संस्कृतिमा ओल्केको विशेष महत्व छ। यो चाडबाडको क्रम वैशाख १ गतेसम्म अर्था विसौं संक्रान्तिसम्म निरन्तर चलिरहने गर्छ।

 

ओल्के संक्रान्तिले चाडबाड सुरु भएको संकेत गरे जस्तै विसौं संक्रान्तिले चाडबाडको सिलसिला अन्त्य भएको संकेत गर्ने गर्छ। वैशाख १ गते पछि केही समयका लागि विशेष चाड केही पनि नपर्ने भएकोले वैशाख संक्रान्तिलाई चाडवाडको अन्त्य भएको संकेतकका रुपमा हेरिएको हुनसक्छ। यसैकुरालाई हाम्रो समुदायमा चलेको ‘बाँचे भनि दशैं खानु, मरुला भनि विसौं खानु’ भन्ने उक्तिले पनि संकेत गरेको पाइन्छ।

ओल्के संक्रान्तिमा विशेष गरि दुई कुराहरु बढी महत्व राख्छन् । एक त मिछिट्टी लगाउने चलन र अर्को भनेको ओल्को लिने दिने चलन। मिछिट्टीले हाम्रो आधुनिक समाजमा प्रयोग हुने मेहेन्दीलाई संकेत गर्छ भन्ने ओल्को लिनेदिने क्रममा गाउँका गरिववर्गहरुले पिडालुका कलिला पात (गाभा) वा खुलेका पात वा सालका पातहरुलाई गाभाको रुप दिएर, हुनेखानेहरुका घर दैलो धाउने र उनीहरुबाट खानेकुराहरु लिएर आउने गरिन्छ। यसैलाई ओल्को दिने वा ओल्को माग्ने चलनका रुपमा हेरिन्छ। 

मिछिट्टी भन्नाले वन जंगलमा उम्रने एक झार हो। यो घंगारु, ऐसेलु, किर्मडा, आदिका बोटहरमा झ्याड्डिएर उम्रने एउटा बोट हो। मिछिट्टी लाउनु भन्नाले यो बोटको जरा, दाडिमका बोक्रा, भंगिरी (तिउरी) का कलिला पात र मुनासँग मिलाएर हातमा लगाउनु भन्ने बुझिन्छ।

मिछिट्टी लगाउने तयारी श्रावण महिनाको सुरुवात देखि नै हुने गर्छ। श्रावणको सुरुवातसँगै वन–जंगलमा घाँस–दाउरा गर्ने र गाईगोरु चराउन जानेहरुले यसको संकलन गर्ने गर्छन्। मिछिट्टीका जराहरुलाई घरमा ल्याएर खाल्डो खनेर गाडेर राख्ने गरिन्छ।

यसरी महिना भर संकलन गरेर राखेको मिछिट्टीका जरालाई श्रावण महिनाको अन्तिम दिन निकाल्ने गरिन्छ। त्यसमा लागेको माटोलाई सफा गरेर पानीमा पखालिन्छ। अनि त्यसलाई हल्का–हल्का कुटेर त्यसका बोक्रा छुट्ट्याउने काम गरिन्छ। यसरी बोक्रा छुट्ट्याएको मिछिट्टीलाई सिलौटामा मसिनो गरि पिसिन्छ। जति मसिनो भयो त्यति नै राम्रो लाग्छ भनेर भन्ने गरिन्छ। त्यसैमा अलिकति दारिमको बोक्रा र भंगेरीका कलिला पात र मुनाहरुलाई पनि पिसेर मिसाउने काम गरिन्छ। घरका केटाकेटीहरु दिउँसै खोलाको किनारातिर इन्ना (एक प्रकारको ठूलो पात भएको बोट) को पात ल्याउने गर्छन्। घरमा इन्नोका पात ल्याउने मानिस नभए अरुसँग मगाउने गरिन्छ। तर पात ल्याउनु अनिवार्य मानिन्छ। अनि त्यसरी ल्याएका पातलाई घाममा ओइल्याएर नरम बनाएर राख्ने काम गरिन्छ। त्यसपछि साँझ परेपछि सबैले खाना खाइसकेपछि सबै एकै ठाउँमा बसेर मिछिट्टी लगाउने गरिन्छ। यसरी लगाउँदा कुनै प्रकारको बुट्टाहरु बनाउने गरिँदैन। पुरै हत्केला छोप्ने गरी र औंलाका टुप्पाहरु समेत छोप्ने गरि लगाउने गरिन्छ। यसरी मिछिट्टी लगाइएको हातलाई मुट्ठी पारेर बाहिरबाट इन्नाका पातरूले हातलाई छोपिन्छ। इन्नाका पातको बाहिरबाट फर्सिका पातले छोप्ने गरिन्छ। फर्सिको पातहरुले छोप्दा राती बुढीले मिछिट्टी चाट्न पाउँदैन भन्ने विश्वास गरिन्छ। यसरी लगाइएको मिछिट्टी भोलिपल्ट निकालेर हातमा तेल लगाउने गरिन्छ। तेल लगाउनाले मिछिट्टीको रंग गाढा हुन्छ भन्ने विश्वास गर्ने गरिन्छ। त्यसैगरी मिछिट्टी पखाल्नको लागि विहान सबेरै उठ्ने गर्छन्। मिछिट्टी महिला, पुरुष, केटाकेटी, आदि सबैले लगाउने गर्छन्। यसरी लगाएको मिछिट्टी महिनौं सम्म रहने गर्छ।

 

अहिले यसै मिछिट्टी लगाउनुलाई मेहेंदी लगाउने चलनले प्रतिस्थापित गरेको पाइन्छ। हातमा अनेक बुट्टाहरुको साथ मेहेन्दी लगाउने क्रम श्रावण महिनाको सुरुवातसँगै सुरु हुने गर्छ। यसलाई कतिपयले हाम्रो चलन हो भनेर समेत भन्ने गरेको पाइन्छ तर यो भारतीय संस्कृति हो जो टेलिभिजनमा देखाइने सिरियलकामार्फत् हाम्रो समाजमा भित्रिएको पाइन्छ। त्यसैगरी श्रावण महिनामा हरियो सारी लगाउने र हरियो चुरा लगाउने समेत गरिन्छ जो हाम्रो संस्कृति नभएर भारतीय संस्कृतिको अन्ध अनुकरण मात्र हो।

 

त्यसैले त यो कहिलेदेखि सुरु भयो भन्ने कुराको चुरो कसैले पत्ता लगाउन सकेको छैन। यी गतिविधिलाई हाम्रो मौलिक संस्कृतिमाथिको अतिक्रमण भनेर मान्न सकिन्छ। विस्तारै हामी हाम्रो संस्कृतिलाई भुल्दै अरुको संस्कृतिलाई आफ्नो संस्कृतिको रुपमा चिनाउँदै जाँदैछौं जसले दीर्घकालमा गएर हाम्रो मौलिक पहिचान पूर्ण रुपमा मेटाउने निश्चित प्रायः छ।

 त्यसैगरी,ओल्केका दिनमा हाम्रा गाउँघरमा भएका गरिव वर्गहरुले हुनेखानेहरुका घरमा पीडालुका कलिला पात जसलाई गाभा भनेर भन्ने गरिन्छ, त्यो लगेर जाने र बदलामा चामल, पीठो अथवा अन्न खानेकुराहरु ल्याउने गर्छन्। त्यसैगरी परिवारभित्रै पनि कान्छो खलकले जेठो खलकका जेष्ठ सदस्यका लागि घरमा भएको दही, दूध, वारीमा फलेका तरकारी वा मिठो खाने कुराहरु लैजाने चलन छ। यसैलाई ओल्को दिनु भनेर भनिन्छ।

त्यसैगरी ओल्केको दिनमा विहानै नुहाइ धुवाइ गरी व्राम्हणहरुलाई सिदा दक्षिणा दिने चलन पनि छ। र, आफ्नो घरमा मिठो खाना पकाएर खाने चलन पनि छ। लाउन (पुरी), बाबर (सेल), डुब्का (मासको दालबाट बनाइने एक प्रकारको दाल), फाँडो, आदि परिकार पकाएर यो चाड खुसीयाली पूर्वक मनाउने गरिन्छ।

यसरी आफ्नो मौलिक पहिचान बोकेको चाड ओल्केले गाउँघरमा भाइचाराको भावना बढाउनुका साथसाथै आपसी मेलमिलापमा समेत जोड दिन्छ। आफ्नो घरमा भएको मिठो कुराहरु बाँडेर खानुपर्छ भन्ने भावनालाई समेत यो चाडले बल पुगाएको पाइन्छ। यो चाडको निरन्तरताले हामीलाई एकताबद्ध भएर समाजमा सुख र शान्ती बाँड्ने पवित्र कार्यमा मद्दत पुर्याउँछ। त्यसैगरी मिछिट्टी जस्तो हाम्रो गाउँघरमा पाइने बनस्पतीको प्रयोगले हाम्रा प्राकृतिक श्रोतहरुको बहुउपयोगितातर्फ संकेत गर्छ। यदी मेहेन्दी लगाउनुको सट्टा हाम्रो मिछिट्टी लगाउने चलनलाई प्रोत्साहन गरेमा मिछिट्टी पाइने हाम्रा पाखा पखेराका मानिसका लागि आयआर्जनको एउटा नयाँ श्रोत थपिने देखिन्छ। मेहेन्दीको जस्तै व्यावसायीक बिक्रीवितरण सुरु गरेमा गाउँघरमा मूल्यहीन अवस्थामा रहेका यी झारहरु बहुमुल्य भएर जानेछन्। र, यसले स्थानीयको जीवनस्तरमा थोरै भए पनि सुधार ल्याउने छ।

एकातिर संस्कृतिको संरक्षण त हुन्छ नै अर्कोतिर आर्थिक रुपमा समेत हाम्रा गाउँघरमा मानिसहरु सम्पन्न हुँदै जान्छन्। तर, यो सब सम्भव पार्नको लागि हाम्रो युवापुस्ता अघि सर्नु जरुरी छ। हाम्रा सबै नयाँ पुस्ताले यो चलनका बारेमा जान्नु जरुरी छ र विदेशी संस्कृतिमा भुलेर देशलाई सांस्कृतिक दासत्वमा जाक्ने काम समेत रोक्नु जरुरी छ। अन्यथा हामी हाम्रो मौलिक पहिचानको खोजीमा रुमल्लिने छौं र भोलिका पुस्तालाई देखाउनको लागि हामीस“ग केही बाँकी रहने छैन।

 


 

More form the Internet

loading...