Suvadin, Home

हराउदै मौलिकता
सुदूरमा गौरा र गरिमा

दसैंतिहार भन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाए खेलाउन पाउने चलन यहाँ रहेको छ। भाद्र शुक्ल पञ्चमीको दिन बिरुडा बिजाएर गौराको शुभारम्भ भएको मानिन्छ भने सप्तमीको दिन गौरा भित्राउने चलन रहेको छ।
गाैरा पर्व।

टेकेन्द्र देउवा



सुदूरपश्चिम लगायत कर्णाली क्षेत्र अहिले गौरामय भएको छ। महान पर्व गौरामा गाईने यस्तै फाँग र रागहरुले त झन् यहाँका गाउँ बस्तीको रौनक नै फेरिदिएको छ। घर चिटिक्क पोतिएका छन्। बाटोघाटो पानी पधेराहरू सफा छन्। गौरा पर्व माईती पोईल आउने जानेहरूको पनि चहल पहल बढाएको छ। गौरा मनाउन परदेशिएकाहरू समेत भित्रिन थालेका छन्।

यसको धार्मिक,सांस्कृतिक महत्व निकै रहेको छ। गौरा पर्वको प्रचारप्रसार गर्न र यसको प्रवद्र्धनमा राज्यले साथ नदिएको गुनासो यस क्षेत्रका बासिन्दाको छ। तर, सबै दोष राज्यलाई दिएर मात्रै उम्किने समय भने यो कदापी होइन।

दसैंतिहार भन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाए खेलाउन पाउने चलन यहाँ रहेको छ। भाद्र शुक्ल पञ्चमीको दिन बिरुडा बिजाएर गौराको शुभारम्भ भएको मानिन्छ भने सप्तमीको दिन गौरा भित्राउने चलन रहेको छ। सुदूरपश्चिमेली र कर्णाली बासीको मौलिक पर्व गौरा एक सातासम्म खेल्ने चलन रहेको छ।  कुश, धान, साउँ, अपामार्ग, तिल लगायत विभिन्न ९ बोटबाट तयार गरिने गौरा पञ्चकन्या तथा व्रताालुले विभिन्न बाजागाजा र फाँग (मांगलिक गित) गाएर टाउँकोमा राखेर नचाउँदै गौरा घरमा भित्रउने चलन छ। गौरा घर बेहुली जस्तै सजाइन्छ गौरा भित्र्याउदा बजागाजाका साथ भित्र्याइन्छ। गौरा भित्राउदाको समय निकै रमाइलो हुन्छ।

 

गौरामा खेलिने, गाईने भाका र लय हराउने छन्। यति मात्रै होइन त्यसैले डोटेली भाषिको पहिचान, संस्कार र संस्कृति समेत हराउने छ। अहिले आएर गौरा पर्व देउडा वर्षको रुपमा  सीमित हुन जानुमा पुरानो र नयाँ पुस्ता त्यतिकै दोषि छन्।

 

 

सप्तसती देवीले दक्षको अग्नी कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकोले हरियो घाँसमा सतिदेवीको वाँस हुन्छ भन्ने मान्यता अनुसार घाँसको समष्टिगत रुप बनाई पूजा गर्ने परम्परा छ। गौरा पर्ब धार्मिक भावनाबाट मात्र प्रेरित नभई आपसी सद्भाव सहअस्तित्वको विकास गरी सामाजिक जीवन जिउन सिकाउने पाठशाला समेत बनेको छ।

गौरा भित्राएको दोस्रो दिन महेश्वरसँग धुमधामसँग बिवाह गरिन्छ। गौराको व्रत बस्ने महिलाले प्रसादको रुपमा घाँटीमा दुवाधागो (मन्त्रेको धागो) बाध्ने गर्दछन्। अन्यलाई विरुडालाई प्रसादको रुपमा दिने गर्दछन्। यस पर्वको प्रमुख प्रसाद विरुडा (क्वाँटी) हो। पञ्चमीका दिन विरुडा भिजाइन्छ षष्ठीका दिन धुने र गोराको समयमा खाने गरिन्छ। र घर बाहिर बसेका सदस्यलाई समेत पठाउने चलन छ। 

डा. आरडी प्रभात चटौत ‘प्रभात’को बृहत डोट्याली सब्दकोषमा उल्यख भएअनुसार हिमालय राज कि छोरी पार्वती बिबाह योग्य भएपछि छोरीको लागि बर खोज्दै हिँडे। छोरीको बिबाह सूर्यसँग गर्दा जलेर मर्ने, चन्द्रमासँग बिवाह गर्दा आयु छोटो, ब्राह्मणसँग बिहे गर्दा ब्रह्ण पूजापाठमा व्यस्त हुने र छोरी भोकले मर्ने, मेहश्वरसँग विवाह गर्दा भाड, धतुरो खाने भनेर अलमलमा परे त्यसपछि छोरीको सल्लाह अनुसार महेश्वरसँग नै विवाह गर्ने निर्णय भयो र यही विवाहको लगनको रुपमा गौरालाई लिइन्छ। यस पर्वमा चैत्, ढुस्का, धुमारी, तुलसीका गीत तथा बिभिन्न देउडा गीत गाएर खेल खेलिन्छ। 

 

 गौराको अन्तिम दिन दुलहीलाई विवाह गरेर अन्माए झै गरी बाजागाजा र फाँग गाउँदै निश्चित ठाउँमा विसर्जन गर्ने गरिन्छ।

 

भारत उत्तराञ्चलको पिथौडागढ, गढवालमा पनि गौरा खेलिन्छ। अचेल सुदूरपश्चिम पहाडी जिल्लाबाट बसाइँ सरेर कैलाली, कञ्चनपुरमा रहेका पहाडी समुदायले समेत साताभर नै गौरा खेल्ने गर्दछन्। गौराको समयमा कामका लागि बाहिर गएका घर फर्किने र गक्ष अनुसारको मीठो मसिनो खाने र नयाँ लुगा लगाउने गर्दछन्।  गौराको अन्तिम दिन दुलहीलाई विवाह गरेर अन्माए झै गरी बाजागाजा र फाँग गाउँदै निश्चित ठाउँमा विसर्जन गर्ने गरिन्छ ।

हराउँदै मौलिकता
गौरा पर्वको आफ्नै गरिमा र महिमा रहेको छ। यो डोटेली भाषीको मौलिक पर्व पनि हो। डोटेली भाषिको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको बढी महत्व रहेको छ। गौरा पर्वमा गाईने गायनमा चैत, ढुस्का र धुमारीमा वीरवीरंगनाका योगदानको चर्चा गरिएको हुन्छ। खास गरेर डोटी राज्यताका राज्य सञ्चालनमा महत्वपूर्ण भूमिका निभाएका ब्यक्तिका जीवन कथा गीतका माध्यमबाट बर्णन गर्ने गरिन्छ। त्यसैगरी यस क्षेत्रका महत्वपूर्ण देवीदेवताका कथा उनीहरूको शक्तिको पनि गौरामा बर्णन गरिन्छ। अजयमेरु कोट त्यससँग सम्बन्धित राज रजौटाका कथा समेत गौरामा लयका माध्यमबाट सुन्न पाइन्छ । त्यसताकाको राजनीतिलाई पनि गौरामा गीतका माध्यमबाट सुनाउने गरिन्छ।

गौरामा गौरा भित्राउदाको सगुन गित, गौरा नचाउँदाको सगुन गित र बिर्सजन गर्दाको सगुन गित समेत लय हालेर गाउने गरिन्छ। त्यसैगरी महाभारतमा कृष्ण र अर्जुनको भूमिका, कौरव पाण्डवको यूद्ध र राम बनबास जानुका कारण समेत लयमा गायन गरिन्छ। तुलसीको पुजन प्रक्रिया र कहिलेदेखि पूजा गर्ने गरियो भन्ने कुराको सन्देश समेत गौराका गीतमा सुनिन्थ्यो। खासमा गौरामा गाईने चैत, ढुस्का, धुमारी गीतमा अजयमेरु कोटका लोकप्रिय राजा नागी मल्ल, कटारी मल्ल, लाल देउवा, करन देउवा, भागेश्वर देवता, मष्ट देवता, तेडी देवता लगायतका बिषयमा शक्ति र बहादुरीका गाथा समेटिएको पाइन्छ।

तर, अहिले गौरापर्वको मौलिकता हराउदै गएको छ। खास गरेर गौरामा चैत, ढुस्का, धुमारी, तुलसी गाथा, राम लिला र श्रीकृष्ण लिला गायन गरिने भएपनि अहिले गौरा रमाईलो पर्वको रुपमा मात्रै सीमित भएको छ। गौरा पर्वमा देउडा खेल्ने र र्याप र पप गीतमा रमाउने बढी छन्। गौरामा गाइने गीतको आफ्नै भाव रहेको छ। 

गौरा कि देउडा पर्व?

गौरा पर्व भन्दै देउडामा कुम जोड्नेको भीड नै हुन्छ। गौरा पर्व सुदूरपश्चिममा मात्रै नभएर यहाँबाट बसाइँ सरेर अन्यत्र गएका डोटेली भाषिले समेत मनाउने गरेका छन्। देश परदेशमा समेत डोटेली भाषिले गौरा खेल्ने गरेका छन्। पर्वलाई महत्वका साथ लिने गरेका छन्। गौरालाई देउडा खेल्ने पर्वको रुपमा मात्रै बुझिदिँदा समस्या भएको छ। गौरामा गाइने गीत देउडा हुन सक्दैनन्। यो नितान्त फरक बिधा र गायन हो। गौरा पर्वलाई देउडा पर्वमा बुझ्यौ भने यसको महत्व नै रहँदैन। महत्व देउडा वा गौरा दुबैको छ तर, खेल्ने समय र परिवेश फरकफरक हुन्छ।
त्यसैले पनि गौरा पर्वको मौलिकतालाई हामीले बचाएर राख्ने हो भने सबैभन्दा पहिले गौरापर्वको बिषयमा बुझ्न जरुरी छ। होइन भने गौरा पर्व देउडा पर्वमा रुपान्तरण हुनेछ।

गौरामा खेलिने, गाईने भाका र लय हराउने छन्। यति मात्रै होइन त्यसैले डोटेली भाषिको पहिचान, संस्कार र संस्कृति समेत हराउने छ। अहिले आएर गौरा पर्व देउडा वर्षको रुपमा  सीमित हुन जानुमा पुरानो र नयाँ पुस्ता त्यतिकै दोषि छन्।

 

गौरा पर्व के हो? यसको महत्व के हो? के कस्ता गीत कस्तो लयमा गाइन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पिढीले वास्तासम्म गर्दैन। पुरानो पिढीले आफूसँग भएका ज्ञानका कुरा आफ्ना सन्ततिमा हस्तान्तरण गर्नु जरुरी रहेको छ।

 

पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमाका यो हो भनेर नयाँ पुस्तालाई भन्न चुकेका छन्। वर्तमान सधै वर्तमान हुँदैन त्यो भोलि इतिहास नै हुन्छ। त्यसकारण आफूसँग भएका सीप, आफ्नो संस्कार संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी हुन्छ। अग्रजले यदि असल चालचलन, संस्कार संस्कृति र प्राप्तिलाई हस्तान्तरण गर्न सकेन भने त्यो पुस्ता आफैमा सीमित हुन्छ। त्यस कारण आफूसँंग भएका ज्ञान ध्यानका कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्नु जरुरी छ। होइन भने मौलिकता हराउनुको दोष अग्रजलाई नै लाग्ने छ। नयाँ पिढी पनि आफ्नो संस्कृति ग्रहण गर्न चाहिरहेका छैनन्। उनीहरुको बुझाइमा संस्कार संस्कृति र परंपरा नै पछौटेपनको कारण हो भन्ने छ।  बाह्य संस्कृति अपनाए वा अरु भन्दा फरक देखिए आधुनिक भइन्छ, भन्ने गलत बुझाइमा नयाँ पिढी रहेको छ। त्यसैले उसले आफ्नो भाषालाई भुल्न खोज्छ पहिरन बदल्छ। जो गौरामा पनि देखिएको छ। गौरा पर्व के हो? यसको महत्व के हो? के कस्ता गीत कस्तो लयमा गाइन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पिढीले वास्तासम्म गर्दैन। पुरानो पिढीले आफूसँग भएका ज्ञानका कुरा आफ्ना सन्ततिमा हस्तान्तरण गर्नु जरुरी रहेको छ। नयाँ पिढीले पनि यो बुझ्नु जरुरी छ कि कुनै पनि ब्यक्तिलाई उसको संस्कृतिले पछाडी पार्दैन। बरु संस्कृति उसको पहिचानसँग जोडिन्छ। परिचयसँग जोडिन्छ। नयाँ पिढीले पनि गौरापर्वलाई गर्वको रुपमा लिन सक्नु पर्छ।  

त्यस कारण पनि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौरा पर्वको सम्वद्र्धन र प्रर्वद्धन गर्नु आवश्यक रहेको छ। गौरा पर्वको प्रचारप्रसारमा व्यापकता दिनुपर्छ। औपचारिकता वा देखासिखीको पर्वको रुपमा मात्रै सीमित नराखेर गौरा पर्वसँग महत्व राख्ने कुराको दस्तावेजीकरण गर्न अग्रसर हुनुपर्छ। होइन भने अहिले गौरा पर्व आफ्नै देउडामा रुपान्तरण भएको छ। एक दिन गौरा पर्व र्याप र पप गीतमा नाच्ने पर्व नहोला भन्न सकिँदैन। तसर्थ संस्कृति जगेर्नातर्फ लाग्न जरुरी छ।
(लेखक देउवा धनगढीमा रहेर पत्रकारिता गर्छन)
 


 

More form the Internet

loading...