Suvadin, Home

Cover Image

सरकारको सपना - आक्रमणको युग ?

अब सरकार सरकार रहेन् । दसैं खर्च माग्‍न हरेक वर्ष काठमाडौं आउने राउटेलाई प्रधानमन्त्रीले भेट त दिएनन् नै रित्तो हात फर्काए । चैतको हुरीले घरबार बिहीन भएकाहरु खुला आकाशमुनी दसैंको दियो बाल्न बाध्य छन् । बाढी र पहिरोपीडितका कुरा सुनिदिने कोही छैन । सरकार घोषणामा व्यस्त छ, कार्यकर्ता आक्रमणमा व्यस्त छन् । यो व्यस्त मुलुकमा जनता अस्तव्यस्त छन् । सरकार ढिलो भयो तर समय घर्किसकेको छैन । त्यसकारण अझ अवसर छ सदुपयोग गर । 

करिब दुई साताअघि कांग्रेसको राष्ट्रिय जागरणको अन्तिम दिन नेपालगञ्‍जमा नेकपा कार्यकर्ताद्वारा आक्रमण भयो । आक्रमणका क्रममा बाँकेकी कांग्रेस जिल्ला सभापति किरण कोइरालाको हात भाँचियो । कांग्रेसले त्यसको विरोध गर्‍यो । नेकपा सांसदमा संसदमा बोल्दै उक्त आक्रमणको कांग्रेसले विरोध गरे प्रतिविरोध गर्ने चेतावनी दिए । 

त्यस्तै असोज १२ गते शनिबार भ्रष्टाचार विरोधी अभियानमा सक्रिय ज्ञानेन्द्र शाहीमाथि आक्रमण भयो । चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यहाँ पगेका शाहीमाथि पनि सांघातिक आक्रमण भयो । उनी घाइते भएर अहिले ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । धन्‍न जोगिए । 

आतबार असोज १३ गते तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास गर्न त्यहाँ पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य मिनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भयो । उनीहरुले आक्रमणका लागि बाटो नजिकैका रुख ढलाए र बाटो अवरोध गरे । हतियार, बियरका बोतल, लाठी र ढुंगासहित नेता रिजालको अघि अभिए । उताबाट कांग्रेसका कार्यकर्ताहरुको हुल आएपछि उनीहरुले धन्‍न प्रहार गरेनन् र अप्रिय घटना हुन पाएन । 

ती तीनवटै प्रतिनिधि घटनामा आक्रमण गर्ने सत्तारुढ दल नेकपाका कार्यकर्ता भएको प्रहरीले पुष्टि गरिसकेको छ । त्यसैगरी नेकपाले आफ्नै पार्टीका नेता कार्यकर्तामाथि पनि आक्रमण गरिरहेका छन् । अछाममा सपथ ग्रहण कार्यक्रममा आइतबार भएको झडपमा नेकपाकै कार्यकर्ता घाइते भए । त्यस्तै शनिबार ओखलढुंगामा भएको नेकपाबीचको झडपमा त्यहाँका वडाध्यक्ष घाइते भए । उनको उपचार जारी छ । 

यस किसिमको आक्रमण हुन नदिन प्रहरी-प्रशासनले भूमिका निर्वाह गर्न नसकेकोसमेत देखिएको छ। जतिबेला शाहीमाथि आक्रमण भइरहेको थियो, त्यतिबेला नजिकैका प्रहरीले हस्तक्षेप गरेन । त्यस्तै आइतबार डा रिजालमाथि आक्रमण हुने सूचना पाएको र खबर गर्दा पनि प्रहरी त्यहाँ पुगेन । यसर हेर्दा सरकार, प्रहरी प्रशासनकै संरक्षणमा यस्ता किसिमका आक्रमण भइरहेका छन् । अर्कोतिर आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेर कारबाहीसमेत गर्न सकेको छैन । 

यी केही पछिल्ला प्रतिनिधि उदाहरण हुन् । हुन पार्टीका अध्यक्षले नै विपक्षीमाथि अरिंगालजस्तै आक्रमण गर्न उर्दी जारी गरेका थिए । कार्यकर्ताले पालना गरिरहेका छन् । सत्तारुढ दलले यस विषयमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । सत्तारुढ दलले आक्रमणकारीहरुलाई मौन समर्थन र सहयोग गरिरहेका त छैनन् भन्‍ने स्वभाविक प्रश्‍न उठेका छन् । 

दुई तिहाइको सरकारको एक तिहाइ समय गुज्रिसकेको छ । तर, सत्तारुढ दल भने दिसामुक्त मुलुक घोषणा गर्न व्यस्त छ । अनि कार्यकर्ताहरु जनताका पिरमर्का बुझेर नेतालाई ब्रिफिङ गर्ने र समस्या समाधान गर्ने बाटोमा लाग्‍नुको साटो उल्टै अपराधिक आक्रमणमा उत्रिएका छन् । सरकार र सत्तारुढ दलको यो व्यवहारले मुलुक उनीहरुले भनेजस्तै साँच्चिकै खतरामा छैन भन्‍ने अर्को प्रश्‍न पनि जन्माएको छ । 

सरकार र सत्तारुढ दलका नेताहरुले मुलुक र व्यवस्था खतरामा परेको अभिव्यक्ति दिइरहेका छन् । उनीहरुले विप्लव र राजावादी तत्वहरुलाई खतराको निशानामा राखेका छन् । तर, वास्तविक खतरा अहिले सत्तारुढ दलकै नेता-कार्यकर्ताहरुबाट खतरा उत्पन्‍न भएको छ । चौतर्फी आक्रमण, बोल्न‍ बन्देज, आलोचना गर्दाको परिणाम जीवनै चुकाउनु पर्ने पीरलगायतका कुराले पनि सरकार र सत्तारुढ दलबाटै बढी खतरा उत्‍पन्‍न भइरहेको छ ।    

एक भनाई छ,  ‘म तपाईंका विचारसँग सहमत छैन तर तपाईंको बोल्ने अधिकारका निम्ति म लडिरहनेछु।’ परिस्थिति विपरीत ढंगले विकास भइरहेको छ- ‘तपाईं मेरा विचारसँग सहमत हुनैपर्छ, मसँग असहमत विचार राख्नुभयो, त्यसविरुद्ध म आक्रमण गरिरहनेछु।’  लोकतान्त्रिक मुलुक भइरहेको यस्तो अभ्यासको विकासले मुलुको गन्तव्यलाई अन्योलातिर धकेलिरहेको छ ।

सरकारसँग जनता र विपक्षीबाट आउने आलोचना ग्रहण गर्ने विशाल छाती हुनुपर्छ । आफूलाई चित्त नबुझ्ने कुरा प्रस्तुत हुँदा मर्यादित ढंगले त्यसको विरोध गर्न सकिन्छ । आफूमाथि लागेका आरोपबारे जवाफ फर्काउने अनेक माध्यम छन् । त्यसमा पनि सामाजिक सञ्जालले हरेक व्यक्तिलाई स्पष्टीकरण दिने सार्वजनिक मञ्च उपलब्ध भएको छ । जसरी एक सर्वसाधारणले आफूलाई लागेका विषयमा बोल्ने मौका सूचना प्रविधिले दिएको छ, त्यसैगरी सत्तामा भएका शक्तिशाली व्यक्तिले अन्य माध्यमबाहेक सामाजिक सञ्जाललाई समेत उपयोग गर्न सक्ने अवस्था छ। सूचना प्रविधिले संवादका नयाँनयाँ आयाम खुलाएको भए पनि शारीरिक आक्रमण गर्ने बर्बर व्यवहारसमेत यथावत् रूपमा प्रयोग हुन थालेको छ। 

प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले चुनावका बेला भनेका थिए– ‘कम्युनिस्ट शासनमा न रुन पाइन्छ न हाँस्न।’ धेरैलाई त्यो अभिव्यक्ति निर्वाचनका बेला प्रकट भएको एउटा रमाइलो अभिव्यक्ति मात्र हो भन्ने परेको हो। तर सत्तारूढ नेकपा कार्यकर्तामा अधिनायकवादी चरित्र हाबी हुँदा लाग्छ शेरबहादुरले दिव्यवाणी नै पो बोलेनन् ? 

प्रधानमन्त्री केपीशर्मा ओलीप्रति जनताको ठूलो अपेक्षा थियो । उनले गरेका भाषणकै आधारमा उनलाई मनपराउने लाखौं थिए । उनको सपना र योजना सुन्दा उनले सत्ताको बागडोर सम्हालेपछि कायापलट हुन्छ भन्‍ने अपेक्षा नराख्‍ने सायद कमै थिए । तर, उनले सुरु गरेको समृद्धिको युग आक्रमणको युगमा प्रवेश गरेको छ । प्रधानमन्त्रीकै पार्टीका महासचिवले सरकारी जग्गा हडपेको खुलासा हुन्छ, छानबिन गर्ने हिम्मत छैन  । मन्त्री जहाज किन्छन्, अर्बौं घोटाला हुन्छ । भ्रष्टाचार, बलात्का र हत्याका श्रृ्ंखलाको लेखाजोखा गरी साध्य छैन । जनता त्रसित छन् भयभित छन् ।

कांग्रेस नेता गगन थापाले भनेका छन्, "अस्ति प्रेसमाथि आक्रमण हुँदा पत्रकारको विषय भनेर नबोल्ने, हिजो ज्ञानेन्द्र शाहीमाथि आक्रमण हुँदा राजावादी भनेर नबोल्ने, आज मिनेन्द्र रिजालमाथि आक्रमण हुँदा कांग्रेसी भनेर नबोल्नेले याद गर्नुहोला-जर्मन विद्वान् निमोलेरले भनेझैं भोली तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही हुनेछैन।" 

यसकारण अब सरकार सरकार रहेन् । दसैं खर्च माग्‍न हरेक वर्ष काठमाडौं आउने राउटेलाई प्रधानमन्त्रीले भेट त दिएनन् नै रित्तो हात फर्काए । चैतको हुरीले घरबार बिहीन भएकाहरु खुला आकाशमुनी दसैंको दियो बाल्न बाध्य छन् । बाढी र पहिरोपीडितका कुरा सुनिदिने कोही छैन । सरकार घोषणामा व्यस्त छ, कार्यकर्ता आक्रमणमा व्यस्त छन् । यो व्यस्त मुलुकमा जनता अस्तव्यस्त छन् । सरकार ढिलो भयो तर समय घर्किसकेको छैन । त्यसकारण अझ अवसर छ सदुपयोग गर । 


 

More form the Internet

loading...