Suvadin, Home

Cover Image

ज्ञानेन्द्रको उपकप्तानी नै जोखिममा

नेपाली क्रिकेट अहिले एकदमै प्रतिस्पर्धात्मक भइसकेको छ। रिप्लेसमेन्ट छैन भन्ने कुरा विगत भइसकेको छ। क्षमतालाई प्रदर्शनमा कन्भर्ट नगर्ने हो भने राष्ट्रिय सिनियर टिममा अँट्न गाह्रो छ अब खेलाडीहरूलाई, यो नै अहिलेको यथार्थ हो। फर्मको नियम सबैमा एउटै हो र त्यो लागू हुनैपर्छ।                          
ब्याटिङ गर्दै ज्ञानेन्द्र।

नेपाली क्रिकेटका अनुभवी ब्याट्सम्यान हुन् ज्ञानेन्द्र मल्ल। राष्ट्रिय टिमका उपकप्तान पनि। कुनै समय नेपाली ब्याटिङ लाइनअपमा जमेका उनको पछिल्ला प्रदर्शनहरू भने फितलो रहँदै आएको छ। महत्वपूर्ण रहेको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले अहिलेसम्म जम्मा अाठ खेल खेलिसकेको छ, जसमा खेलेका ८ खेलमै मल्लले २३ को औसतमा कुल १८६ रन बनाएका छन्।

उनी रन वरियताका हिसाबमा १५ औं स्थानमा छन् भने एभरेजका हिसाबले ३५ औं स्थानमा छन्। पहिलो र दोस्रो नम्बरमा ब्याटिङ गर्ने र टिममा नियमित रहने उपकप्तानको लागि यो न्यून स्कोर हो। जारी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा उनको प्रदर्शन यस्तो छ :

विरुद्ध                   खेल                रन             कुल
स्कटल्याण्ड             २      १८(२४),१६ (२०)   ३४ रन

पपुवा न्युगिनी           २     २३ (२६),३६ (५२)   ५९ रन

नामिबिया                 २    २१ (४०),२२ (४६)    ४३ रन

नेदरल्याण्ड               २     ११ (१२),३९ (५२)   ५० रन
-------------------------------------------------------------------
                             जम्मा रन : १८६  | औसत : २३.२५

 

नेपाली क्रिकेटमा नियमित खेलाडीहरूका रुपमा चिनिने गर्छन् कप्तान पारस खड्का,उपकप्तान ज्ञानेन्द्र मल्ल, ब्याट्सम्यान विनोद भन्डारी, शरद भेसावकर, बलरहरू सोमपाल कामी, वसन्त रेग्मी र शक्ति गौचन। नेपाली क्रिकेटमा बलरहरूप्रति गुनासो रहने गरेको छैन। यतिबेला ब्याटिङ पक्षको स्क्यानमा ज्ञानेन्द्रसँगै अर्का ब्याट्सम्यान विनोद भन्डारी पनि परेका छन्।विनोद भण्डारीलाई पिएनजी र स्कटल्याण्डविरूद्ध टिममा राखिएन तर पछिल्ला ४ खेलमा उनी नियमित थिए। जारी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा उनको प्रदर्शन यस्तो छ :

विरुद्ध              खेल                रन              कुल
  
नामिबिया           २     ४० (४९),१२ (१३)     ५२ रन 

नेदरल्याण्ड         २     ९ (१९),१७ (१४)       २६ रन 
-------------------------------------------------------------------
                       जम्मा रन : ७८ रन | औसत: १९.५ 


प्रदर्शनको कठघरामा राजेश पुलामी मगर :

राजेश पुलामी मगर यु१९ विश्वकप २०१२ खेलेका खेलाडी हुन्। उनले सो प्रतियोगितामा ५ खेलमा ६२ रन बनाए। क्रिकेट जानकारका अनुसार उनी राम्रा खेलाडी नै हुन्। तर, तथ्य के हो भने क्षमतालाई स्कोरमा कन्भर्ट गर्नुपर्छ, गर्न सक्नुपर्छ| उनकै ब्याचका खेलाडीहरू हासिम अन्सारी, फैजलुर खान,सौरभ खनालहरूले सोही कारणले राष्ट्रिय टिममा ब्रेक थ्रु पाउन सकेका छैनन्। राजेशले सिनियर तर्फबाट कुल १६ खेल खेलिसकेका छन् जसमा ७ टि-२०,६ टि२० आई र तीन फस्ट क्लास क्रिकेट (वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप) छन्। सबै १६ खेलको रन जोड्दा उनले ७.२३ औसतमा ११६ रन बनाएका छन्। क्षमतालाई आधार नबनाई प्रदर्शन हेर्ने हो भने राजेशले खेलमा सुधार ल्याउने बेला आइसकेको छ।

सिनियर लेभलमा जम्न नसकेका नरेश बुढाएर: 

उमेर समूहबाट ग्रुम गरिएका ब्याट्सम्यान हुन् नरेश बुढाएर। घरेलु क्रिकेटमा बेला बेला राम्रै गर्ने नरेश सिनियर लेभलमा भने जम्न सकेका छैनन्। उनले सिनियर राष्ट्रिय टिमबाट ६ लिस्ट ए र ४ टि२० खेलिसकेका छन्। लिस्ट ए मा उनले ६ खेलबाट ६.५० को औसतमा ३९ रन बनाएका छन्। त्यस्तै ४ टि२० मा उनले ३.५० को औसतमा ७ रन बनाएका छन्।पछिल्लो समय नामिबियासँग उनले २ खेलमा १२.०० को औसतमा २२ रन मात्र बनाउन सके।

मिस्ट्री खेलाडी पृथु बाँस्कोटा, टिममा कसरी? 

नेपाली क्रिकेटमा बेला बेला विवादमा तानिने एक खेलाडी हुन् पृथु बाँस्कोटा। एज लेभलमा राम्रो छाप छोडेका पृथुलाई चोट लाग्नु भन्दाअघि असफल हुँदा नि बारबार टिममा राखिने प्रवृत्तिले उनी विवादमा तानिएका हुन्थे। चोटबाट मुक्त भएर आइसकेर छिटफुट खेलपछि उनी सिधै ५२ खेलाडीभित्र परेका छन्। डिपियलमा राम्रो गरेका मात्रै पर्छन् भन्नेहरूका लागि ९० हजारमा अनुबन्धित भएका पृथुको छनोटले जग हँसाइदियो। यथार्थ धरातलमा उभिएर निष्पक्ष चश्माले हेर्ने हो भने पृथुले इन्जुरीपछि आफूलाई प्रमाणित गरेकै छैनन्। केही क्रिकेट जानकारहरू पृथु आगामी केन्यासँगको खेलका लागि १५ जनाभित्र राखिने अनुमान गर्छन्।

नेपाली क्रिकेट अहिले एकदमै प्रतिस्पर्धात्मक भइसकेको छ। रिप्लेसमेन्ट छैन भन्ने कुरा विगत भइसकेको छ। क्षमतालाई प्रदर्शनमा कन्भर्ट नगर्ने हो भने राष्ट्रिय सिनियर टिममा अँट्न गाह्रो छ अब खेलाडीहरूलाई, यो नै अहिलेको यथार्थ हो। फर्मको नियम सबैमा एउटै हो र त्यो लागू हुनैपर्छ।


 

More form the Internet

loading...