Suvadin, Home

जनतालाई भोटको बदला चोट नदिनुस्

आफू पनि पदीय जिम्मेवारी बहन गर्न सक्दैनौं भने राजीनामा दिए हुन्छ। जनताका दुख र मर्मलार्इ बुझ्ने कोशिष गर। भोट दिएर जिताएका छन्। चोट दिने काम नगर। दोषिलार्इ कारवाही गरी जनताको जिउको सुरक्षा गर। विकास निर्माणलार्इ व्यवस्थित तवरले शीघ्र रूपमा सम्पन्न गराउ।
सामाखुसीमा नालामा डुबेर बाँचेकी बालिका सत्या सापकोटा।

केहि दिन अगाडिको कुरा हो। तारकेश्वर नगरपालिका–११ (नेपालटार) मा एक ११ वर्षीया बालिकाको ढलले बगाएर ज्यान भएको खबर त यहाँहरूले सुन्नु र देख्नु नै भयो होला।

लेखक हरि तिमिल्सिना।



स्कुलबाट घर फर्किइ आफ्नो रेस्ट्रुरेन्टमा खाजा खान गएकी ती बालिका एक्लै घर फर्कने क्रममा तालझै देखिने बाटोको किनारबाट हिँड्न खोज्दा ढलभित्र बिलिन हुन पुगिन।उनलार्इ थाहा थिएन त्यहाँ  ढल खनिएकाे छ भनेर। उनलार्इ पासो थापिएको छ भनेर पत्तो थिएन। फलस्वरुप सरकारी निकायकाे चरम लापरवाहीकाे  सिकार ती बालिका भइन। घटना ज्यादै नै निर्मम र क्रुर छ। सरासर हेर्दा दोषको भागिदार कोहि पनि देखिदैनन्। तर, स्थानीय सरकार, त्यहाँ सडक मर्मतको ठेक्का लिएर काम गर्ने ठेकेदार, ढल तथा बाटो निर्माण समिति यस घटनाका प्रमुख दोषि हुन्। उनीहरुमध्यको लापरवहीकाे परिणाम हो यो निर्मम हत्या।

विकास निर्माणका कार्य हुनु राम्रो हो। तर, हरेक कार्य व्यवस्थित तरिकाले गरिनुपर्छ भन्ने मेरो मान्यता हो। नगरपालिकाका हरेक वडामा जनप्रतिनिधि चयन भएका छन्। आफ्नो आफ्नो वडाभित्र हुने हरेक कार्यको अनुगमन गरेर त्यसलार्इ छिटो भन्दा छिटो सम्पन्न गराउने जिम्मा वडा अध्यक्षले लिनु पर्छ। कहाँ ढिला सुस्ती भैरहेको छ? काम सम्पन्न किन भएन? व्यवस्थित र सुरक्षित तरिकाले काम भैरहेको छ कि छैन? उक्त कार्यले जनतालाई कतिको असर पारिरहेको छ यी सब कुरामा स्थानीय सरकारको ध्यान केन्द्रीत रहनु पर्छ।

तर, यहाँ त "कामको जिम्मा लगाइदिएको छु" गर्छ भने जसरी लापरवाही गरेको देखियो। निर्माण गर्न केही ढिलासुस्ती हुन सक्छ तर, जहाँ  निर्माण कार्य हुँदैछ त्यस ठाउँमा संकेत चिन्ह राख्न पर्छ। अधुरो काम त्यसै लथालिङ्ग छाडेर हिँड्नुको साटो खनिएकाे खाल्डाे छाेप्नु पर्थ्याे। त्यो तपार्इहरूको करेसाबारी होइन जो काम गर्दागर्दै नभ्याएर त्यसै छाडेर हिँड्नलार्इ। त्यो ठाउँ त सार्वजनिक बाटो हो जहाँ दिनमा हजारौं मान्छे ओहोरदोहोर गर्छन। र, निर्माणकाे  जिम्मा लिएका  व्यक्तिले जिम्मेवारी बहन गर्नुपर्छ भन्ने मेरो भनाइ हो।

घरसम्म पुग्ने व्यवस्थित बाटो नभएका व्यक्ति यहाँका जनप्रतिनिधि बनेका छन् रे! भन्ने सुनिन्छ। नियम र कर्तव्यको कुरा गर्दा कतिलाइ रिस पनि उठ्न सक्छ किनकी नियम र कर्तव्य भन्ने चिज हामीले धेरै अगाडि नै उल्लंघन मात्र गरेका छैनाैं  बिर्सिसकेका छौं। यही कुरा अब अरुले सम्झाइ दियो भने रिस त उठ्ने नै भो।  यो घटना हामी सवैको लागि एउटा पाठ हो। ती बालिकाले आफ्नो आहुती दिएर हाम्रो गल्ती औंलार्इ दिएकी छिन्।

यस्ता धेरै लापरवाहीका उदाहरण छन्। जसले ज्यान मात्र गएका छैन् कयाैं व्यक्ति अंगभंग हुनु परेको छ। एउटाको सानो गल्तीले कसैको ज्यान जान सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण हो यो घटना। ती बालिकाको ज्यानको  क्षतिपूर्ति दिएर टाल्ने काम हुँदै छ भने बहिस्कार गर्नुस्। त्यस्ता मोलमलार्इ गर्नेहरूलार्इ। व्यवस्था सुधार्नतिर लाग्नुस। बच्चाको ज्यानको मूल्य पैसासँग दाँज्न आउनेहरुले अर्को पटकलाई पनि सजिलो बनाउदै लैजाने छन्।

भोलि यस्तै प्रकारकाे दुखद घटना अर्को परिवारमा हुन नसक्ने पनि हाेइन्। त्यसकारण सम्बन्धीत निकायले आफ्नो गल्ती सुधार्नतिर होइन ढाकछोप गर्नतिर लाग्न सक्छन् त्यतिखेर पनि। त्यो काममा संलग्न ठेकेदार र इन्जिनियरको लाइसेन्स खारेज गरेर दोषिलार्इ कारवाही गर्न सक्नु पर्छ सम्बन्धीत निकायले। आफू पनि पदीय जिम्मेवारी बहन गर्न सक्दैनौं भने राजीनामा दिए हुन्छ। जनताका दुख र मर्मलार्इ बुझ्ने कोशिष गर। भोट दिएर जिताएका छन्। चोट दिने काम नगर। दोषिलार्इ कारवाही गरी जनताको जिउको सुरक्षा गर। विकास निर्माणलार्इ व्यवस्थित तवरले शीघ्र रूपमा सम्पन्न गराउ।


 

More form the Internet

loading...