Suvadin, Home

Cover Image

दरबार हत्याकाण्डका १८ वर्ष : सम्झनामा राष्ट्रप्रेमी राजा विरेन्द्र, सिक्नलाई धेरै गुण थिए

तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुने गरी राजपरिवारका १० सदस्यको हत्या भएको आज १८ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्रसँगै रानी ऐश्वर्या, युवराज दिपेन्द्र र निराजन, युवराज्ञी श्रुतिसहित राजपरिवारका १० जनाको हत्या भएको थियो । राजा विरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड भएको  करिब दुई दशक हुनै लाग्दा पनि हत्याकाण्डको बास्तविक रहस्य सार्वजनिक हुन सकेको छैन्।

सबैले दरबार हत्याकाण्डमा षड्यन्त्र भएको बताउने गरेका छन्। तर, त्यो षड्यन्त्र कसले गर्‍यो? यथार्थ सार्वजनिक गर्ने हिम्मत कसैले गरेका छैनन्। दरबार हत्याकाण्डपछि दर्जनौं पटक सरकार परिवर्तन भए पनि त्यसको वास्तविकता खोजी गर्ने आँट कुनै सरकारले गरेको छैन। रेन्द्रको परिवारको वंशनाससँगै ०६२-०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरेर मुलुकमा गणतन्त्र स्थापना गरेको छ। मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। दुई सय ४० वर्षे शाह वंशीय राजतन्त्रको अन्त्य भएसँगै पूर्व राजा ज्ञानेन्द्र शाह नागरिक सरह नागार्जुनमा बस्दै आएका छन्।

हत्याकाण्डपछि प्रमाण नष्ट गरेको आरोप पूर्वराजा ज्ञानेन्द्रमाथि लाग्दै आएको छ। विरेन्द्रको हत्या भएपछि राजकाज सम्हालेका तत्कालिन राजा ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन दिएका थिए। ०५८ सालमा लागेको ताल्चा ०६५ सालमा मात्र खोलिएको थियो।

अहिले राष्ट्रियता र राष्ट्रवाद शब्दावली निकै चर्चामा छन् । तर, वास्तविक राष्ट्रियता अहिले संकटमा परेको छ । कहिले सीमाका कुरा, कहिले नागरिकताको प्रसंग त कहिले बाह्‍य मुलुकको प्रत्यक्ष तथा अप्रत्यक्ष हस्तक्षेप र देशविदेशी शक्तिको चलखेलका कारण राष्ट्रियता जोगाउन निकै सकस छ । तर, राष्ट्रियताको दुवाई दिने राजनीतिक दलका नेताहरुले राष्ट्रभित्रका कतिपय समस्या नै समाधान गर्न सकेका छनै । 

राष्ट्रको हित सर्वाधिक महत्वको हुन्छ, राजनेताका लागि। राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाक्रमहरूले बेलाबखत जटिल परिस्थिति सिर्जना हुँदा पनि समुद्री आँधीमा पानीजहाजलाई डुब्नबाट बचाएझैं, सक्षम राष्ट्रनायकले राष्ट्रलाई संकटबाट जोगाउँछन्। दलको नेताले गुट र दल मात्र हेर्छन्। उनीहरू ‘राजनीतिज्ञ’ मात्र हुन सक्छन्। सुदूर भविष्य हेरेर सदैव राष्ट्रप्रति समर्पित, इमानदार तथा चिन्तित रहने व्यक्ति मात्र योग्य राजनेता मानिन्छन्। राजा वीरेन्द्र त्यस्तै राजनेतामध्येका एक थिए।

मेलबर्न विश्वविद्यालयका प्राध्यापक स्कट वर्चिलले ‘द नेसनल इन्ट्रेस्ट इन इन्टरनेसनल रिलेसन्स’ ग्रन्थमा कूटनीति र हरेक राजनीतिक दर्शनले राष्ट्रिय हितलाई मध्यविन्दुमा राख्नुपर्ने सुझाव दिएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्दा राष्ट्रहितलाई नै केन्द्रमा राखेर कूटनीति र राजनीति सञ्चालन गरे, राजा वीरेन्द्रले। बेलायतको इटन कलेज र अक्सफोर्ड विश्वविद्यालयका साथै अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका वीरेन्द्रले त्यहाँका प्रसिद्ध प्राध्यापकहरूबाट कूटनीति र राजनीतिको शिक्षा लिए। त्यसपछि राष्ट्रको धरातलीय यथार्थ बुझ्‍न उनी नेपालका कुनाकुनामा पुगे। जसका कारण उनलाई लोकप्रिय, सफल र असल राष्ट्रनायक सावित गर्न सहयोग पु-याएको देखिन्छ।

राजा वीरेन्द्र राष्ट्रवाद, शान्ति, विकास र प्रजातन्त्रका प्रवल पक्षधर थिए। आँखा, कान, नाक र मुखमध्ये कुन रोज्‍ने भनेर प्रश्न गरियो भने मानिस अल्मलिन्छन्। त्यस्तै, सभ्य राष्ट्रलाई पूर्ण बनाउन राष्ट्रिय स्वाभिमानमा आधारित राष्ट्रवाद अपरिहार्य हुन्छ। शान्ति र विकास अन्योन्याश्रित हुन्छन्। स्वतन्त्रता, प्रजातन्त्र र मौलिक हकबेगर पनि जीवन चल्छ भन्ने ‘कम्युनिस्ट चिन्तन’ आजको सभ्य समाजले कदापि स्वीकार गर्दैन। तसर्थ अधिकांश मुलुकले प्रजातन्त्रलाई नै जीवन पद्धति बनाएका छन्।

एक लेखमा लेखक तथा समीक्षक युवराज गौतमले भनेका छन्, "युवराज छँदा रसुवाबाट पैदल यात्रा गर्दै वीरेन्द्र आफ्ना सहयोगीहरूसँग पाल्पा पुगे। त्यहाँबाट बुटवलसम्म पदयात्रा गरेर जिपमा काठमाडौं फर्किने कार्यक्रम रहेछ। त्यसबेला तानसेनमा बडाहाकिम थिए, कृष्णबहादुर बर्मा। कमलपोखरीस्थित निवासमा झन्डै पच्चीस वर्ष अघि पंक्तिकारसँग कुरा गर्दै बर्माले भनेका थिए, ‘युवराज वीरेन्द्रको उमेर त्यसबेला बीस-एक्काइस मात्र थियो तर वचन र व्यवहार परिपक्व थियो। पैदलयात्राका क्रममा सवारी हुँदा हामीसँग तानसेनमा भलिबल खोलिबक्स्यो। अनौपचारिक शैलीमा कुराकानी गरिबक्स्यो। जनतासँगै सोच्नू, जनतासँगै हिँड्नु र जनतासँगै काम गर्नु भन्ने सम्झाइबक्स्यो। प्रजातन्त्र भनेको त्यही हो भन्ने उहाँको धारणा पाएँ। खेलकुदको प्रसंग पनि चल्यो। प्रथम एसियाली ओलम्पिकमा भाग लिन म टिम लिडर भएर दिल्ली गएको थिएँ, २००८ सालमा। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले खेलको उद्घाटन गरेका थिए। युवराजबाट ठट्टा गरिबक्स्यो- म पनि त्यो बेला पाँच-छ वर्षको छँदा दरबारको आँगनमा फुटबल खेल्थें होला।"

सन् १९७५ को मार्च १० तारिखमा प्रकाशित ‘टाइम’ पत्रिकाले राजा वीरेन्द्रको शुभराज्याभिषेक, उनको अन्तर्राष्ट्रिय सम्बन्ध, राजनेता र कूटनीतिज्ञका गुणले भरिएको व्यक्तित्व आदिको चर्चा गरेको पाइन्छ। झन्डै साठी राष्ट्रका राष्ट्रनायक, सरकार प्रमुख, विशिष्ट विद्वान–विदुषीले वीरेन्द्र राजाको शुभराज्याभिषेक अवलोकन गरे। क्रिश्चियन, मुसलमान, बौद्धमार्गी र यहुदीलगायतका पाहुनाले हिन्दु राजाको शुभराज्याभिषेक अभिरुचिपूर्वक हेरे। अन्तर्राष्ट्रिय मिडियाका निम्ति पनि त्यो उत्सव सुखद र अभूतपूर्व घटना थियो।

राजा महेन्द्रले छोराछोरीलाई दार्जिलिङको प्रसिद्ध युरोपेली शैलीको स्कुलमा पढाए। त्यसबेला भारतमा ब्रिटिसहरूको शासन थियो र स्कुलको अनुशासन पनि कडा थियो। युरोपका सुयोग्य शिक्षक शिक्षिकाले पढाउने सेन्ट जोसेफ र सेन्ट हेलेन्स जस्ता स्कुल नामी थिए। महेन्द्रका छोराहरू वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रले सेन्ट जोसेफमा पढे। छोरीहरू शान्ति, शारदा र शोभाले सेन्ट हेलेन्स (खर्साङ) पढे।

कठोर अनुशासन, व्यावहारिक ज्ञान, नैतिक शिक्षा, सच्चरित्र तथा जीवन उपयोगी व्यवहारको धरातलमा ‘स्कुलिङ’ भएकाले राजा वीरेन्द्र मितव्ययी तथा नवीन शैलीमा सोच्ने राष्ट्रनायक बने। दरबारका पुराना फर्निचरसमेत मर्मत गरेर काम चलाउने, उत्ताउलो खर्च नगर्ने, सरल रहन मन पराउने, शिष्टाचारमा विशेष ध्यान दिने, राजोचित व्यवहार प्रदर्शन गर्ने, सबैलाई मीठो बोलेर आफ्नो बनाउने अद्भूत गुण थियो, वीरेन्द्रमा। कसरी जनता खुशी र सुखी होलान्, कसरी राष्ट्र सवल, स्वाभिमानी र आत्मनिर्भर रहिरहला भन्ने वीरेन्द्रको मुख्य चिन्ता र चासो देखिन्थ्यो। उनलाई भेट्ने तथा उनका सहयोगीहरूको धारणा छ, राजा वीरेन्द्र सदैव राष्ट्र र जनताकै बारेमा मात्र कुरा गर्थे। उनको निजी स्वार्थ थिएन।

सुरुमा राजतन्त्रविरोधी रहेका राजनीतिज्ञ गोरेबहादुर खपांगी (मगर) भनेका छन्, ‘मलाई पनि राजा भनेको टर्रो, घमण्डी, शोषक र हेपाहा हुन्छ भन्ने लाग्थ्यो। तर, वीरेन्द्रसँग भेट गरेपछि मेरो धारणा नै बदलियो। वीरेन्द्र शालिन, शिष्ट, बौद्धिक, ज्ञानी, सभ्य र साह्रै संस्कारी रहेछन्। त्यस्तो राजालाई कुरै नबुझी गाली गरेछु। राष्ट्रियता र प्रजातन्त्रप्रति मात्र होइन, विकास र शान्तिप्रति उनी हृदयदेखि समर्पित थिए।’ खपांगीका लेख, भाषण र अन्तर्वार्ताहरूमा पनि यस्ता प्रसंगहरू आएका छन्।

३ जुन २००१ मा बार्बरा क्रोसेटले ‘न्यूयोर्क टाइम्स’ पत्रिकामा लेखेकी थिइन्, ‘नारायणहिटी हत्याकाण्डपछि नेपाल गम्भीर राजनीतिक संकटमा फस्ने देखिएको छ।’ उनले भनेझैं नारायणहिटी हत्याकाण्डपछि नेपाल साँच्चिकै गहिरो संकटमा फस्यो। अहिलेसम्म पनि हाम्रो राजनीतिक बाटो र भविष्य स्पष्ट देखिँदैन। राष्ट्रले सक्षम नेतृत्व नपाउँदा संकट गहिरिँदै गएको छ।

टाइम पत्रिकाले राजा वीरेन्द्रको हत्यापछि ‘द डेथ अफ विष्णु’ शीर्षकको आलेखमा वीरेन्द्रलाई नेपाली जनता साँच्चै भगवान् ठान्थे भनेको छ। (३ जुन २००१) विदेशका धेरै राजनेता तथा विद्वान–विदुषीले वीरेन्द्रको हत्याप्रति गहिरो दुःख व्यक्त गरे। उनी इमानदार, सरल र सच्चा राष्ट्रवादी मात्र थिएनन्, नेपालीका भरपर्दा अभिभावक पनि थिए। त्यसैले नेपाल र नेपालीको हितबाहेक झिनामसिना स्वार्थमा अल्मलिएनन् वीरेन्द्र।

राजा वीरेन्द्रलाई हरेक वर्ष उनको जन्मदिन (पुस १४ गते) र देहान्त भएको दिन (जेठ १९ गते) राष्ट्रवादी नेपालीले सम्झना गर्छन्। उनको यागदान अतुल्य, अमूल्य र अजर–अमर छ।  उनको व्यक्तित्व, शालिन, कुटनीति तथा राष्ट्रप्रतिको चिन्तनबाट वर्तमान राजनीतिक दलका नेताहरुले ठूलो पाठ सिक्‍न सक्छन् । 


 

More form the Internet

loading...