Suvadin, Home

गर्वका साथ भन्नुछ, हामी नेपाली हौं, हाम्रो देश नेपाल हो

मधेसले सुरक्षा, समृद्धिसँगै सामाजिक विभेदको अन्त्य खोजेको छ। र, पहिचान खोजेको छ। जाति, धर्मले मात्रै पहिचान स्थापित हुँदैन। यी अंश मात्रै हुन्। आर्थिक समृद्धि हासिल नभएसम्म पहिचान स्थापित हुनसक्दैन। समृद्ध हुनुपर्छ तबमात्रै पहिचान स्थापित हुन्छ।
लालबाबु पण्डित।

लालबाबु पण्डित


एउटा पुरानो कथाबाट आजको आलेख सुरू गरौं, सोम शर्मा नाम गरेको एक ब्राह्णमण थियो। उसको दैनिकी माग्ने थियो। दिनभर मागेको पीठो र चामलले गुजारा चलाउँथ्यो। एक पटक साँझमा गाउँ घुमेपछि थाकेर ओच्छ्यानमा पल्टेको थियो। माथि झुण्ड्याइएको पीठो र चामलको घैंटो हेर्दै उसले कल्पना गर्न थाल्यो।

‘मागेर ल्याएको चामल र पीठो धेरै जम्मा गर्दछु, त्यसलाई बेचेर धेरै पैसा बनाउँछु, अनि राम्री श्रीमती विवाह गर्छु, सुरूदेखि नै त्यसलाई कँज्याएर राख्छु। भनेको मानिन भने यसरी लात्तले भ्वाक्क हान्छु।’ उसको लात्तीले पीठोको घैंटो फुट्यो। त्यो सबै भुइँमा पोखियो। सपना पनि टुट्यो।

यो सोम शर्माको कथाको सारमा व्याख्या हुने नै छ। तर, वर्तमान राजनीतितर्फ लागौं। कुनै समाज परिवर्तनका निम्ति यति नै पर्याप्त हुन्छ भन्ने सीमा हुँदैन। विकास र समुन्नतिको कुनै सीमा नै हुँदैन। हामीले सीमा बाँधेर बुझ्न थाल्यौँ भने त्यो गलत हुन्छ। तर, निश्चित परिवेश र अवस्थामा सीमा हुन सक्छ।

अहिले तराई–मधेस, हिमाल, पहाड, जाति–जनजातिआदिको स्थिति हेरौँ। अथवा राजनीतिक, आर्थिक, सामाजिक स्थिति हेरौँ। यी यावत कुराको विश्लेषण गर्दा हामी मध्यमार्गी छौँ, हामी बीचको बाटो हिँडिरहेका छौँ। नेपालका सबै पक्षका कुरालाई, मागलाई यो संविधानमा समेटिएको छ।

अब सम्बोधन गर्दै लाने कार्य पनि बाँकी छ। हामीकहाँ एउटा गलत मानसिकताबाट ग्रस्त समूह पनि छ। जसले अरुका मुद्दा सम्पूर्ण रुपमा सम्बोधन भएको र आफ्ना माग ज्यूँका त्यूँ रहेको देख्छ। तर, अहिले जनजाति होस् या मधेस, यो नयाँ र परिवर्तित अवस्थालाई स्वीकारेर अघि बढ्नुपर्छ। 

अहिले मुलुक संविधान निर्माणपछि कार्यान्वयनको दिशामा अघि बढिरहेको छ। सबैको स्वामित्व स्थापित भएको नेपालको संविधानमा कसैले यो पुगेन त्यो पुगेन भन्न सक्छ। त्यसकारण स्वामित्व स्थापित गरेर अघि बढ्नुपर्छ।

व्यवहारमा नल्याई संविधान समृद्ध, सशक्त हुनै सक्दैन। बाटो हामीले नै खोज्ने हो। मान्छेलाई नामबाट सम्झना गरिँदैन। उसको गुणबाट सम्झना गरिन्छ। त्यसकारण नाम र काम दुबै हुनुपर्यो। काममा उसको गुण झल्किनु पर्यो।

मागेर कहिल्यै धनी हुन सकिँदैन, भागेर समस्याको समाधान पनि हुँदैन। तराई, मधेसमा सद्भाव बिथोलिएको छ। आपसी सद्भाव जरुरी छ। द्वेष र घृणा त्यागेर मेलमिलापको बाटोमा अघि बढ्नुपर्छ। 

पछिल्लो दुई सातादेखि म विराटनगरमा छु। विराटनगरका केही राजनीतिक पार्टीका कार्यकर्ता आएर मलाई ‘मधेसको समृद्धि र विकासका लागि संघीय संरचनामा जाँदा भन्सारसहितका सरकारी निकाय प्रादेशिक सरकारको मातहतमा आउनुपर्छ नत्र विकासले गति लिन सक्दैन’ भन्नुहुन्छ।

मैले ‘त्यहाँ सिमानामा गएर भारततर्फको भन्सार हेर्नुुस्, के लेखेको छ’ भने। ती साथीहरूले ‘भारत सरकार लेखेको हुन्छ’ भन्नुभयो। मैले ‘तपाईंको कुराले त्यहाँ बिहार सरकार लेखेको हुनुपर्ने हो’ भनेपछि मात्रै ती कार्यकर्ताले कुरा बुझेर फर्किनुभयो। 

तराई क्षेत्रमा केही राजनीतिक दलले विखण्डनको बी रोप्ने कोसिस गरिरहेका छन्। तर, पेट्रोप खन्याउने आगो लगाउने र आगलागी भयो भन्ने प्रपञ्च गर्दैछन्। यो कार्यले ती राजनीतिक पार्टीलाई अन्ततः शून्यमा झार्दैछ। तिनीहरूलाई जनताले नै बहिष्कार गर्ने छन्। 

हो, मधेसले सुरक्षा र समृद्धि खोजेको छ। मधेसले सामाजिक विभेदको अन्त्य खोजेको छ। मधेसले समृद्धिसँगै पहिचान पनि खोजेको छ। जाति, धर्मले मात्रै पहिचान स्थापित हुँदैन। धर्म र जात र पहिचानका अंश मात्रै हुन्। आर्थिक समृद्धि हासिल नभएसम्म पहिचान स्थापित हुन सक्दैन। समृद्ध हुनुपर्छ तब मात्रै पहिचान स्थापित हुन्छ।

अधिकांश मानिस संयुक्त राज्य अमेरिका, रुस, बेलायत, दक्षिण कोरिया आदि मुलुुकमा किन जान लालायित हुन्छन्? जात मिलेर हो? धर्म मिलेर हो? भाषा र भूगोल मिलेर हो? होइन। त्यहाँ आर्थिक समृद्धि छ, रोजगारीको अवसर छ। त्यसैले ती देशमा जान जो कोही पनि इच्छुक हुन्छ। 

खाडी मुलुकमा किन गइरहेका छन् नेपाली दाजुभाइ? त्यहाँको समृद्धि र रोजगारीले तानिरहेको छ। काम गर्ने जोश र जाँगरले त्यहाँ पुगेका छन् ४० लाख नेपाली। तर, अहिले केही दलले गरिरहेको ‘गलत राजनीति’ले समृद्धिको आधार बन्न सक्दैन।

सोम शर्माको कथामा जस्तो कामै नगरी, मागेर भनी हुने सोच पालेर तराई क्षेत्र समृद्धि हुन सक्दैन। हामी आफैंले काम गर्नुपर्छ। पसिना चुहाउनु पर्छ। अनि मात्रै हुन्छ, तराई मधेस समृद्ध। तराई समृद्धि भए हिमाल र पहाड पनि समृद्धिको बाटोमा हिँड्न थाल्छन्।

मागेर कहिल्यै धनी हुन सकिँदैन, भागेर समस्याको समाधान पनि हुँदैन। तराई, मधेसमा सद्भाव बिथोलिएको छ। आपसी सद्भाव जरुरी छ। द्वेष र घृणा त्यागेर मेलमिलापको बाटोमा अघि बढ्नुपर्छ। 

हिमाल, पहाड र तराई क्षेत्रको क्षेत्रगत विश्लेषण गर्दा, सबै क्षेत्र समृद्ध छन्। सबै क्षेत्रमा दुःख पनि छ। हो, भौगोलिक कारणले केही समस्या पक्कै छन्। तर, लोकतन्त्र प्राप्तिपछि तराईसँगै हिमाल र पहाडमा पनि आर्थिक समृद्धिको लहर चलिरहेको छ। 

हामीलाई यो पुगेन त्यो पुगेन भन्नु मानसिकता मात्रै हो। उदाहरणका लागि, रत्नपार्कतर्फ जाऔँ, रत्नपार्कमा नाङ्लोमा पसल गर्ने महिला दिदीहरूलाई कारमा आउने ग्राहकलाई पनि ‘साहुनी’ भने सम्बोधन गर्छ। किनभने ती महिलाको स्वामित्व छ त्यो नाङ्लोमा। उनी त्यसको मालिक हुन्।

ग्राहक जतिसुकै अर्बको मालिक भए पनि त्यहाँ व्यापारी महिला नै मालिक हुन्छिन्। यदि ती महिलाले आगन्तुक व्यापारीको कारलाई ध्यान दिन थालिन् भने उनको व्यापार चल्दैन। त्यसैले तराई, पहाड र हिमालले आफूललार्इ कमजोर र आर्थिक रुपमा विपन्न देख्ने मानसिकता त्याग्नुपर्छ। 

करिब २२ वर्ष अगाडि मनाङ जाँदा हामी बसेको होटलमा डलरमा हिसाब-किताब हुँदैथ्यो। उहाँ त माननीय हुनुहुन्छ, त्यसैले सस्तोमा राख्नुपर्छ भनेर सहयोगीले भनेपछि हामीले नेपाली मुद्रा तिरेर बस्यौँ। पर्यटन क्षेत्रको एउटा अद्वितीय नमूना हो त्यो।

हिमाली क्षेत्रका नागरिक कति समृद्ध छन् भन्ने उदाहरण यही हो। हामीसँग गएका तराईका साथीलाई यहाँ घर बनाएर बस्न सक्नुहुन्छ भन्दा भौगोलिक विकटताको कारणले सक्दिन भन्नुभयो। हुन त, सन् १९६० पछि मात्रै तराई क्षेत्रमा बसाइँ सरेरआउनेको संख्या बढेको हो।

त्योभन्दा पहिले औलो रोगको संक्रमणका कारण बसाइँ सरी आउनेको संख्या नगन्य मात्रामा थियो। अहिले त्यही कारणले बढेको हो। तर, अहिले हिमाली र पहाडी क्षेत्रमा पनि यातायातका साधन पुगेका छन्। बेमौसमी तरकारी, अलैंची, चिराइतो, अदुवा तथा अन्य नगदेबालीबाट मनग्यै आम्दानी हुन्छ।

दुःखपछि सुख आउँछ भनेझैं पहाड र हिमालमा पनि समृद्धिको सियो जोडिन पुगेको छ। तराईलाई अझै समृद्ध बनाउनु छ। तुलनात्मक व्याख्या गरेर समय बर्बाद गर्नुभन्दा विकासले मुलुकलाई समृद्ध बनाउनु छ। र, गर्वका साथ भन्नुछ, हामी नेपाली हौं, हाम्रो देश नेपाल हो। (पण्डित नेकपा एमालेको नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री हुन्)


 

More form the Internet

loading...