Suvadin, Home

पतिशाेकमा परेकी बिना मगरलाई राधा कँडेलकाे हृदयस्पर्शी पत्र!

तपाईले बाल्यकालमा सोचेको सपना र बुनेका योजना तथा विकास र आर्थिक समृद्धि देख्ने जनताको आशा पूरा गर्ने शिखरमा तपाई पुग्नै लाग्दा आइलागेको आपतले सबैलाई दुःखी बनाएको छ।
माअाेवादी नेतृ बिना मगर र लेखक राधा कँडेल।

– राधा कँडेल


आदरणीय नेतृ बिना मगर नमस्कार!

पतिशोकमा परेको दुःखद् घडीमा तपाई चुनावी प्रतिस्पर्धामा रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट पत्र लेखिरहेकी छु। माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा तपाईका पति प्रकाश दाहालको आकस्मिक निधनले पूरै देश शोकमा डुबेको तपाईलाई जानकारी नै छ।

त्यसमा पनि तपाई र हाम्रो प्रत्यक्ष नाता सम्बन्ध जोडिएको व्यक्ति गुनाउनुपर्दा तपाई जत्तिकै पीडा हामीलाई पनि छ। दुःखदको यो घडीमा पूरै देश र कञ्चनपुरका जनता तपाईको साथमा छन्।

कलिलै उमेरमा पतिको मृत्यु देख्नु एउटा महिलाका लागि कति पीडादायी हुन्छ भन्ने कुरा सबैले अनुमान लगाउन सक्छन्। यो पीडालाई संसारका अरु जुनसुकै पीडासँग पनि तुलना गर्न सकिँदैन। पतिशोक मेरुदण्ड भाँचिएजस्तै पीडा हो। पति प्रकाश दाहालको निधनपछि तपाईको मेरुदण्ड भाँचिएझैं भएको हामी सबै अनुमान लगाउन सक्छौं।

मेरुदण्ड मात्रै होइन, मुटु चुडिएको होला, जीवनका सपना र योजना सबै फिक्का लाग्न थालेका होलान्। जीवन र परिवारको अभिन्न सदस्य गुमाउनुपर्दा जीवन जिउनुको अर्थ खोज्नुपर्ने अवस्था समेत आउँछ। एकछिन सबै अर्थ निरर्थक लाग्छन्। तपाई अहिले त्यही अवस्थामा हुनुहुन्छ।

मंसिर २ गते साँझसम्म तपाईमा विशाल सपना र योजनाका साथ जोश र जाँगर थियो। देश चुनावी अभियानमा होमिएको बेला तपाई पनि व्यस्त दिनचर्या बिताइरहनुभएको थियो। कार्यकर्ता भेटघाट र चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना योजना र प्रतिवद्धता सुनाइरहनुभएको थियो।

जसले कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका जनतामा आशा र भरोसा पलाएको थियो। त्यो आशा अब के होला? कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका हरेक जनतामा यही प्रश्न खेलिरहेको छ।

यो प्रश्न उब्जिएको तपाईप्रति अविश्वास भएर होइन, तपाईको निष्क्रियतामा विपक्षीको भ्रम र झुठ हावी हुन्छ कि भन्ने चिन्ताले हो।

तपाई शोकमा भएको बेला पहिला जत्तिकै सक्रिय रुपमा आफ्नो भूमिका निर्वाह गर्न सक्नुहुन्न। यो सबैले अनुमान लगाउन सक्छन्। तर, चुनावी कार्यक्रमले तीब्रता पाएको र प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने बेलामा भएको दुःखद घटनाले कतै तपाईलाई धेरै दिन निष्क्रियतातिर लैजान्छ कि भन्ने चिन्ता बढेको छ।

तसर्थ, तपाईको सक्रियता र भूमिका तत्काल चाहिने भएकाले यो पत्र लेख्नुपरेको हो। तपाई निष्क्रिय भइदिनुभयो भने अफवाह, झुठ र भ्रमलाई नै चुनाव जित्ने सहारा ठान्ने विपक्षीले फाइदा लिन सक्ने सम्भावना रहन्छ।

कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्र र समग्र कञ्चनपुरको विकासका लागि तपाईले चुनाव जित्नु अपरिहार्य छ। यसअघि चुनाव जितेर गएपछि केही उपलब्धि देखाउन नसकेका र जनतालाई हिलो र धुलोमै अलपत्र पार्ने व्यक्तिले जितेर गएमा फेरि जनताको दिनचर्या नरकजस्तै हुनेछ।

तसर्थ, जनताको भविश्यलाई सहज बनाउन तपाईको नेतृत्व आवश्यक छ। र, तपाईको जीत अत्यावश्यक ठानिएको हो। यस क्षेत्रका जनताका आधारभूत समस्यालाई तपाईले नजिकबाट देख्नुभएको छ र त्यसको समाधान गर्न सक्ने इच्छाशक्ति र क्षमता तपाईमा देखिन्छ। तर, आकस्मिक र अकल्पनीय शोकले यो इच्छाशक्तिलाई कमजोर पार्ने छैन भन्ने विश्वासमा हामी छौं।

समाज बदल्ने बाटोमा तपाई बाल्यकालदेखि नै सक्रिय हुनुहुन्छ। सामाजिक परिवर्तनका लागि ११ वर्षमा बाल कलाकार हुँदै जनयुद्धमा होमिनुभएपछि भएका थुप्रै सामाजिक सुधार हामीमाझ छन्।

तपाईले घरपरिवारलाई भुलेर माओवादी आन्दोलनमा होमिएकै कारण अहिले मुलुकमा सामाजिक समानता र महिलाका थुप्रै अधिकार स्थापित भएका छन्।

तर, तपाई जन्मेको क्षेत्रमा अझै भौतिक र आर्थिक विकास हुन नसकेको कुरा तपाईसामू छर्लङ्ग छ। तपाईले बाल्यकालमा सोचेको सपना र बुनेका योजना तथा विकास र आर्थिक समृद्धि देख्ने जनताको आशा पूरा गर्ने शिखरमा तपाई पुग्नै लाग्दा आइलागेको आपतले सबैलाई दुःखी बनाएको छ।

विकासको सपना पूरा गर्ने शिखरमा पुग्ने बाटोमा अवरोध आउन नदिन तपाई हामी सबैले यो शोकलाई शक्तिमा बदल्नुपर्ने बेला आएको छ। तपाईले घरपरिवारलाई भुलेर माओवादी आन्दोलनमा होमिएकै कारण अहिले मुलुकमा सामाजिक समानता र महिलाका थुप्रै अधिकार स्थापित भएका छन्।

यतिबेला पनि पतिशोकलाई मनको एउटा कुनामा दबाएर कञ्चनपुरको १ नम्बर क्षेत्रलाई भौतिक र आर्थिक विकासको बाटोमा डोर्याउने महाअभियानमा तपाई सक्रिय हुनुपर्छ।

समाज र देशका लागि तपाईले २७ महिने नारकीय जेल जीवन, थुप्रै दुःख र पीडा भोग्नुभयो। चुनावको मुखैमा अर्काे शोक थपियो। यो शोकले तपाई होकिएको चुनावी कार्यक्रम प्रभावित भएका छन्।

तपाई होमिएको मैदान चुनावी कार्यक्रम मात्रै थिएनन्, यो अभियान कञ्चनपुरको दक्षिणी क्षेत्रका हरेक जनतालाई आधारभूत समस्याबाट मुक्त गर्ने अभियान थियो।

तपाई कञ्चनपुरको दक्षिणी क्षेत्रका हरेक जनताको विकासको मेरुदण्ड हुनुहुन्छ। पतिशोकले तपाईको मेरुदण्ड भाँचिएझैं भएको छ, हामीले तपाईलाई हाम्रो विकासको मेरुदण्ड ठानेका छौं र त्यो मेरुदण्ड सक्रिय होस् भन्ने चाहन्छौं।

तपाईको लोकप्रियता, राजनीतिक पहुँच, गाउँघरमा देखिने सक्रियतामा हामीलाई पूर्ण विश्वास छ। पतिशोकका कारण तपाईलाई पूर्ववत् रुपमा आकर्षक सम्बोधन र यथार्थ प्रतिवद्धता गर्न समस्या हुनसक्ला।

तर, तपाईको भौतिक उपस्थितिले मात्रै पनि हामीलाई सहारा मिल्ने छ। चुनाव प्रचारका क्रममा तपाईले हाम्रो समस्या, गुनासा र आवश्यकता सुनिदिए मात्रै पुग्छ। त्यसको जवाफ तपाई जितेर गएपछि ५ वर्षसम्म तपाईको कामले दिने नै छ भन्ने भरोसामा हामी छौं।

विपक्षीको अफवाह र भ्रमलाई निस्तेज पार्न तपाईको भौतिक उपस्थिति नै काफी छ। कञ्चनपुरको दक्षिणी क्षेत्रलाई विकासको बाटोमा अगाडि बढाउन सक्ने चुनावी अभियानमा तपाईको सक्रियता चाँडै देखिने आशामा।

बेलौरी, कञ्चनपुर


 

More form the Internet

loading...