Suvadin, Home

रवीन्द्र मिश्रलार्इ खुल्लापत्रः विवेकशील साझालार्इ कस्ताे बनाउने?

जसले तपाई जसरी काम गर्न सक्दैनन्, नेतृत्व दिन सक्दैनन्, समाज बदल्ने सोच राख्न सक्दैनन्, उनीहरुले गर्ने भनेकै आलोचना हो। उनीहरुले समाज बदल्ने हैसियत पनि राख्दैनन्। र, कसैले राम्रो काम गर्न खोजे उनीहरुलाई ईश्या हुन्छ। यसैको परिणाम थियो, तपाईमाथिको घेराबन्दी। 
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र।

रवीन्द्र सर नमस्कार,

म एउटी विद्यार्थी हुँ। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मतगणना सकिनैलाग्दा समानुपातिकतर्फ पनि गणना जारी छ। समानुपातिकतर्फको मतगणनामा विवेकशील साझा पार्टीले १ लाखभन्दा धेरै मत प्राप्त गरिसकेको छ।

र, तपाईहरुमाथि जिम्मेवारी पनि बढिरहेको महसुस मैले गरेकी छु। यही सेरोफेरोमा रहेर तपाईलाई केही अनुरोध गरौं कि भन्ने लागेर शुभदिनमार्फत यो पत्र लेख्दैछु, प्रसंग निर्वाचन अघिबाटै शुरु गरौं।

काठमाडौंमा चुनावी सरगर्मी बढिरहेका बेला गत मंसिर १८ गते अष्ट्रेलियामा अध्ययनरत एक जना साथीले फोन गरिन्। र, सोधिन्, ‘यस पटक कसलाई भोट दिने?’ मैले घोषणापत्रहरु पढ्दै गरेको र भोट कसलाई दिने भनेर निर्क्याैल गरिनसकेको बताएँ।

फोन राख्नुअघि ती साथीले भनिन्, ‘माहोल कस्तो छ थाहा छैन, तर मलाई विवेकशील साझा, अबको आशा भन्ने लाग्छ।’ भोट विवेकशील साझा पार्टीलाई नै दिन उनले आग्रह गर्दै कुराकानी टुंग्याइन्। हामीजस्ता धेरै युवाले आफ्नो विवेक प्रयोग गरेर नै यस पटक भोट दिएका छन्। यसमा तपाई ढुक्क हुनु भए हुन्छ।  

काठमाडौंमा पढे–बढेकी ती साथी अब २ वर्षपछि पढाई सकेर नेपाल फर्किंदै छिन्। मतगणना जारी रहँदा विवेकशील साझा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाको पोजिसन के छ भनेर उनले पटक–पटक सोधेकी थिइन्।

रवीन्द्र मिश्र उपविजेता हुनुभयो भनेर जानकारी दिँदा उनी ‘एक स्टेप अझै बाँकी रह्यो’ भन्दै थक्कथक्क भएकी थिइन्। उनलाई आफू नेपाल फर्किंदा संसदमा रवीन्द्र मिश्र जस्ता जुझारु नेताले जनउत्तरदायी राज्यप्रणालीका लागि खबरदारी गरिरहेको हेर्ने चाहना पूरा गर्न फेरि अर्को पाँच वर्ष पर्खिनु परेकोप्रति अलिकति वितृष्णा थियो।

यद्यपि, त्यति धैर्य गर्न हामी सक्छौं। तर, अबको पाँच वर्षमा विवेकशील साझा पार्टीलाई कस्तो बनाउने भन्ने जिम्मेवारी तपाईहरुमाथि छ। राष्ट्रको सिङ्गो नजर तपाईहरुमाथि छ। 

रवीन्द्र सर,

नेपाली राजनीतिमा नयाँ अनुहार भएपनि नेपाली सञ्चार जगतका प्रभावशाली व्यक्तित्व हुनुहुन्छ तपाई। राजनीतिमा प्रत्यक्ष रुपमा योगदान नगरेकाे अाराेप लागेपनि नेपाली नेताहरुलाई सही ट्रयाकमा ल्याउन निरन्तर रुपमा तपाईले गर्नु भएको खबरदारीलाई हामीले स्मरण गरिरहेका छौं।

नेपाली सञ्चार र पत्रकारितामा नौलो अभ्यास गरेर र केही नयाँ आयामहरु प्रस्तुत गरेर नेपाली राजनीतिमा पाइला राख्दैगर्दा तपाईमाथि धेरैतिरबाट घेराबन्दी भइरहेका छन्। हाे, एउटा सामाजिक अभियन्तालाई घेराबन्दी हुनु र आरोप लाग्नु स्वाभाविक हो।

याे पनि पढ्नुहाेस्ः रवीन्द्र मिश्रः परोपकारका पर्याय, परिवर्तनका सेतु

जसले तपाई जसरी काम गर्न सक्दैनन्, नेतृत्व दिन सक्दैनन्, समाज बदल्ने सोच राख्न सक्दैनन्, उनीहरुले गर्ने भनेकै आलोचना हो। उनीहरुले समाज बदल्ने हैसियत पनि राख्दैनन्। र, कसैले राम्रो काम गर्न खोजे उनीहरुलाई ईश्या हुन्छ। यसैको परिणाम थियो, तपाईमाथिको घेराबन्दी। 

तर, यो आलोचनालाई मनमा राखेर अघि बढ्नुहोस्, लाखौं नेपाली युवा, महिला र आमनागरिकको साथ पाउनु हुनेछ। बिबिसीमा काम गर्दा सञ्चार जगतबाट हुन सक्नेसम्मको खबरदारी तपाईले गर्नु भएको छ।

व्यक्तिगत स्वार्थहरुलाई थाती राखेर देश र जनताप्रतिको दायित्व पूरा गर्न अघि बढ्नु भएको छ। पहिलो प्रयासमा एक खुड्किलो बाँकी रह्यो। तर, काठमाडौंका लाखौं जनताबाट व्यक्त अभिमत तपाईको आगामी दिनका लागि शुभ सङ्केत पनि हो। 

रवीन्द्र सर,

तपाई देश र जनताका लागि नयाँ सोच र नयाँ अवधारणाका साथ अघि बढ्नु भएको छ। तपाईको काँधमा अब देश र जनताको समग्र जिम्मेवारी आशा र अपेक्षाका रुपमा आउँदैछन्।

लोककल्याणकारी राज्य व्यवस्था निर्माण गर्नका लागि तपाईले गर्नु भएको त्याग इतिहासमा स्वर्ण अक्षरले पक्कै लेखिने छ। आमनेपालीका मनमा अब पाँच वर्षपछि चाहिँ विकल्प खोज्ने मानसिकताको विकास हुँदै जाने छ।

एमाले–माओवादीको सरकारले कस्तो नियतले काम गर्छ भन्ने चासोका बीचमा तपाईको अबको जागरण र खबरदारी अभियानलाई उत्तिकै चासोका साथ हेरिएको छ।

देशभरि अभिव्यक्त सद्भावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् देशको नेतृत्व गर्न तयार पार्ने तपाईको अठोट पूरा हुन्छ। तर, यसका लागि तपाई त्यति नै गतिशील हुनुपर्छ।

३ करोड नेपालीको भविश्यप्रति जिम्मेवार भएर अघि बढ्नु होला। परोपकारी भावनाले भरिएको तपाईको मनमा लोभलालचले बास नगरोस्। अनगिन्ती युवाहरु तपाईलाई हेर्दै छन्। यसका लागि तपाईलाई निम्न आग्रह गर्न चाहान्छु।

१, काठमाडाैंलार्इ विश्वकै नमूना शहर बनाउन सकिन्छ। हाम्राे शहरलार्इ राम्राे र हराभरा बनाउने पहल थाल्नु हाेस्। याे सन्देशले मुलुकभरि सकारात्मक तरङ्ग पैदा गर्ने छ।

२, देशका समस्त युवाहरुका लागि उद्यमशील बनाउने अभियान अहिले विवेकशील साझा पार्टीको प्राथमिक एजेण्डा बन्नुपर्छ। किनभने उद्यमशील युवा राजनीतिमा आए भ्रष्टाचारले टाउकाे उठाउने अवसरै पाउँदैन।

३, सबै प्रगतिशील युवा संगठनहरुसँग राष्ट्र निर्माण र युवाको हकहित सुनिश्चितताका लागि बहस र समन्वय आवश्यक छ। 

४, युवा राष्ट्र निर्माण गर्ने महत्वपूर्ण शक्ति भएकाले राष्ट्र निर्माणका निमित्त युवाहरुको रचनात्मक र सिर्जनात्मक कामलाई प्राथमिकतामा राखेर राजनीतिक अभियानमा संलग्न गराउनु पर्छ।

५, विकास निर्माणका कार्यलाई सुचारु गर्न राज्यलाई निरन्तर खबरदारी गरी युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सक्ने योजना ल्याउनुपर्छ। युवाशक्तिले बगाउने रगत, पसिना विदेशी भूमि होइन, आफ्नै जन्मभूमिको माटो सिञ्चित गर्ने वातावरण बनाउनुपर्छ।

६, पुनर्निर्माण कहाँ पुग्यो सरकार? भनेर प्रश्न गर्न थालौं। त्यसको नेतृत्व तपार्इ लिनुहोस्। हामी निरन्तर साथ दिन्छौं। राष्ट्र निर्माणका अठोटलाई सार्थक बनाउन तपाईलाई हाम्रो सदैब साथ रहने छ।

धन्यवाद,

उकिता दाहाल,

कीर्तिपुर, काठमाडाैं

वि.सं. २०७४ मंसिर २७ गते।


 

More form the Internet

loading...