Suvadin, Home

एक झलक : मेरो देशको जय होस्

चुनाव भन्दा पहिल्यै माला लगाएर हिँड्ने प्रवृत्तिलाई अन्त्य गराैं। यसले कत्ति पनि शोभा दिँदैन। कोही कसैका छोरी बलात्कृत हुनु नपरोस्। चार वर्षे बालकको निर्मम हत्या गर्ने हत्यारा खुल्लमखुल्ला हिँड्न नपाओस्। आवश्यकताअनुरुप संविधान संशोधन होस्, तराई-मधेसका जनताको माग संवोधन होस्। मेरो देशमा परिवर्तन होस्, प्रगति होस। मेरो देशको जय होस्।  
एलिजा हुमागाईँ

एलिजा हुमागाईँ


सम्भवतः यो मेरो पहिलो विश्लेषणात्मक लेख हो। यसो भनेर लेखिरहँदा मैले मेरो देशको एक मात्र झलक प्रस्तुत गर्न सक्दिन।  म मेरो देशलाई सम्झिँदै गर्दा एक झलक मेरो जिजुबाजेलाई सम्झन चाहन्छु।

तर, सन्दर्भ उही। उहाँले भोट सधैं हरियैभरियै (रूख) मा हाल्नुभएछ सायद। मेरो हजुर’बा उमेरले ९० पुग्न लाग्नुभयो, उहाँलाई उहीँ घाम भन्दा छहारी प्यारो छ अझैं!

मेरा बा’ले युरोप अमेरिकी र चिनियाँ राजनीति देख्नुभएको छ, पढ्नुभएको छ। तर, नौवटै छाप उहाँ पनि पुर्ख्यौली पाराले लगाउनुहुन्छ। मलाई यी कुराहरुमा कहिल्यै चित्त दुखाइ भएन। म जन्मदै यस्तो माहोलमा जन्मिए कि बिहान बेलुका भन्ज्याङ चौतारीमा राज्नीतिकै कुरा हुन्थ्यो, साँझपख हजुरबालाई आठ बजेको मुख्य समाचार हेर्नुपर्ने। 

त्यसबखत मलाई सम्झना छ, हाम्रो घरमा १४ इञ्चको रंगिन एलजी टीभी, रिमोटको पावर बट्न थिचेर मैले नै टिभी खोल्दिनुपर्थ्यो, हजुरबा’ले खोल्न जान्नुहुन्थेन। मलाई हाम्रो देशको राजनीतिक परिवेशमा मोह पर्नुको सबैभन्दा मुख्य कारण यही हो। र, दोस्रो कारण हेरे पनि नहेरे पनि नेपाल टेलिभिजन।

हाम्रो गाउँमा च्यानल पुगेको ५-६ वर्ष भयो। मैले त्यसरी चिनें राजनीतिलाई। छेउको एक्लो सोफामा बाक्लो मण्डी ओढेर बस्नुहुन्थ्यो हजुर बा। म बीचमा ढलीमली गरेर। मेरो हजुरबा मेरो संसारको सबभन्दा प्यारो मान्छे। म उहाँको संसारको सबैभन्दा प्यारो मान्छे।

मलाई थाहा छ, म राजनीतिको ‘र’ नजान्दै एउटा संकल्प बोकेकी थिएँ। सायद, मेरा बा’ले मलाई सरकारी कलेजमा पढाउन अस्वीकार नगर्नुभएको भए आज म पनि सायद एउटा पार्टीको झण्डा बोकेर मेरो देशको स्वाभिमान बचाउने यो एतिहासिक चुनावको एक हिस्सा हुन्थेँ होला।

सानैदेखि सरकारी कलेजमा पढेर नेपाल विद्यार्थी संघमा सक्रिय भएर लाग्ने मेरो ठूलो सपना थियोे। तर, मलाई मेरो देशले राहदानी दियो। मैले जोडन चाहेको कुरा भोट अनि चुनावको हो। किनकी कानुन अनुरुप म भोट हाल्न योग्य भएकी छु।

तपाईंहरूले जिताएर पठाएका नेताले हाम्रो धुलोमाडाैंलाई फेरि काठमाडाैं नै बनाऊ। परिवर्तनको लहर चोकचोकबाट जागोस्।

बुढी औंलामा निलो मसी लगाएको एक हप्तापछि मेरा हजुरबा’ ले, मेरा बा’ले जिताएको पार्टीलाई मैले पनि जिताएँ भनेर खसी ढाल्ने परम्पराको एक महत्वपूर्ण अंश हुने अवसर गुमाएँ।  

म सानैदेखि समाचार कान थापेर सुन्थ्येँ। अझ चुनाव र राजनीतिक माहोल चर्किएको बेला अस्टे«लिया भर्सेस् इण्डिया क्रिकेट लाइभ, ब्राजिल भर्सेस् अर्जेन्टिना फुटबल लाइभ अथवा त्यही आठ बजे सधैं काठमाडौंबाट प्रसारण हुने मुख्य समाचार सुनिन्थ्यो-हेरिन्थ्यो। 

स्कूलमा सामाजिक शिक्षककी प्रिय विद्यार्थी थिएँ। सामाजिक किताबको सामाजिक, आर्थिक, राजनैतिक र ऐतिहासिक पाटो यसरी खाएकी थिएँ कि कुन पन्नामा के छ सब कन्ठस्थ। 

२००७ सालभन्दा अगाडिका घटनाक्रमको जानकारी मसँग अलि कम छ। तर, प्रजातन्त्रको आगमन, बहाली, भूमिगत आन्दोलन, सत्याग्रह, जनआन्दोलन, बहुदल, पञ्चायत, राजकीय शासन, लोकतन्त्र, गणतन्त्र, राष्ट्रपतिको आगमन र २०६२-०६३ सम्मको राजनीतिक घटनाक्रम पानी पारिएको थियो रटेर। 

स्कुल तहको सर्टिफिकेट पाउने बेलासम्म यी कुराले हाम्रो जीवनमा के कति अर्थ राख्छन् मतलब थिएन। हाम्रो समाजमा बा’को इज्जत राख्न पढ्ने चलन थियो।

तर, म मा त्यो नियम कदापी लागू हुन्थ्यो। म मनदेखि पढ्थेँ। तर, इमान्दारीताका साथ भन्नुपर्दा एसएलसीमा सबैभन्दा कम नम्बर सामाजिक विषयमै आयो। किनकी त्यहाँ पनि राजनीति भयो। 

२०६२-०६३ को जनआन्दोलनमा हाम्रो घरगाउँका दाइहरू कराउँदै हिंड्नुहुन्थ्यो। सभ्यताको एक पाइला अगाडि बढ्यो। शहीदका सपना झण्डै पूरा भएका, मेरो देशमा लोकतन्त्र आयो। राजा हटाइयो। राष्ट्रपति ल्याइयो। 

प्रत्येक शुक्रबार स्कुलमा हाजिरीजवाफ हुँदा सोधिने दुईवटा प्रश्न बढेका थिए। लोकसेवा दिनेलाई यो एउटा अवसर नै थियो। मेरो देशले यस्ता अवसर सधैं प्रदान गर्यो।

मेरो देशको संसद भवनमा ‘बमवाला’ र ‘गुरिल्ला’ को भेट्भयो। खण्डन बिखण्डनलाई ती शब्द आफै काफी छैनन्। तीन करोड जनता छन्, थिए ६०१ सभासद। अहिले मन्त्री मण्डल त्यस्तै खत्रा छ।

तर पनि, हामी नेपालीहरू हाम्रा बा र बाजेले जिताएको पार्टीको जय जयकार गर्न बाहेक अरु केही जान्दैनौ। गुण्डागर्दी गर्ने मात्र होइन भ्रष्टाचारीलाई पनि टिकट दिन्छौं।

हुन त म आफैँ बाहुनकी छोरी। अझै कहीँकतै ‘बाहुनवादतन्त्र’ छूट्पूट देख्छु। त्यो, एक लपेटोमात्र पनि खतरनाक छ, मेरी आमा मेरो देश नेपाललाई बचाउने शुक्रराज शास्त्री र लक्ष्मण न्यौपाने अनि मदन भण्डारी फेरि जन्मनुपर्छ।

म चाहान्छु यो चुनावबाट तपाईंले चुनेर पठाउनु भएकाले आन्दोलनमा मारिएकाहरुका परिवारलाई न्याय दिन सकुन्। टीकापुर हत्याकाण्डको बिस्तृत छानबिन होस्। तपाईंहरूले जिताएर पठाएका नेताले हाम्रो धुलोमाडाैंलाई फेरि काठमाडाैं नै बनाऊ। परिवर्तनको लहर चोकचोकबाट जागोस्।

चुनाव भन्दा पहिल्यै माला लगाएर हिँड्ने प्रवृत्तिलाई अन्त्य गराैं। यसले कत्ति पनि शोभा दिँदैन। कोही कसैका छोरी बलात्कृत हुनु नपरोस्। चार वर्षे बालकको निर्मम हत्या गर्ने हत्यारा खुल्लमखुल्ला हिँड्न नपाओस्।

आवश्यकताअनुरुप संविधान संशोधन होस्, तराई-मधेसका जनताको माग संवोधन होस्। मेरो देशमा परिवर्तन होस्, प्रगति होस। मेरो देशको जय होस्।

 
 


 

More form the Internet

loading...