Suvadin, Home
Bridge Water

पुस्तक चर्चाः लाटाे पहाड
उपेन्द्र शुब्बा उर्फ झाँक्रि’बाको ‘लाटो पहाड’

‘थोते साँइला’मा राजनीतिमा लागेको लिम्बु युवकको कथा छ। कथा पढ्दै जाँदा कता कता कबडि चलचित्रको काजी याद आउँछ । ‘मानसिंहको चैते दशैँ’मा दुईटी स्वास्नी बिहे गरेको मानसिंको कथा छ । ‘हरियो ढुङ्गा’मा भुटानी सरणार्थी सिबिर भित्रको कथा छ
मेराे कलम।

सन् २००२ (विं.सं. २०५८) तिर कैलाजी जन–पुस्तकालयको नियमित आवतजावतका क्रममा १०० पुस्तक पढि सक्ने भुत सबार भएको थियो। पुस्तकका घतलाग्ने कुराहरु टिपोट गर्न एक कापी पनि बनाएको थिए।

सन् २००४ (वि.सं. २०६०) मा एसएलसी दिनुअघि एउटा कापी भरेर अर्को कापीमा टिपोट लेख्न सुरु गरि सकेको थिएँ । त्यसैबेला जीन्दगीमा धेरै कुराहरु भए। पहिलो टिपोटले भरिएको कापी पोलेर खाइयो। दोश्रो त्यसै हरायो। पुस्तक पढ्न छोडेको त होइन तर त्यसको गति एकदमै सुस्त भयो। त्यसको १४ वर्ष पछि, सन् २०१६ मा आएर पहिले सुरु गरेको पुस्तक पठनलाई एकाएक गति दिने मन भयो। त्यसै अनुरुप गुडरिडमा बनाएको खातामा आफूले पढेका पुस्तकहरुको सूची तयार पारेँ। सय पुस्तक पु¥याउन उति कठीन नहुने देखेँ । त्यहाँ वर्षका लागी कति पुस्तक पढि सक्ने भनेर आफैलाई चुनौति दिनु मिल्ने रहेछ। मैले सो वर्षको लागी २० पुस्तक पढि सक्ने भनेर आफ्नै लागी एउटा मानक समेत तयार पारेँ। वर्षको अन्तिम हप्तासम्म आइपुग्दा २३ पुस्तक पढि सकेपछि यो पुस्तक २४ औँ बनाउनका निम्ति समातेको थिएँ। त्यसो हुन सकेन। बरु यो पुस्तक २०१७ को पहिलो पुस्तक भने बन्न सफल भयो।
लाटो पहाडमा पूर्वी नेपालको झापा र पाँचथरका विशेष गरी किराँत समुदायका कथाहरु समावेश छन्। २२२ पाना भएको पुस्तकमा पुस्तककै शीर्षकसँग मेल खाने ‘लाटो पहाड’ शीर्षकको नाटक (कथा भनिएपनि संरचनाका हिसाबले नाटक जस्तो छ) ले अन्तिमका ७७ पाना ओगटेका छन्। त्यसबाहेक अन्य बाह्र कथाहरु संग्रहमा समावेश छन्। ‘प्रभु माइला’ कथाले किराती समुदायमा प्रवेश गर्दै गरेको इसाइ धर्मको कथा बोलेको छ। ‘खुङखार भाले’ र ऐंठनमा अभावका दुई फरक फरक रुप देखाइएको छ। ‘ससुराली’मा किराती समुदायमा ज्वाइँलाई हुने फरक व्यवहार र पतिपत्नीको सम्बन्धका कुराहरु समावेश छ। ‘पुचुने धामी’ कथामा ‘बाहुन भएर पनि’ राँगाको मासु खाने र दुनियालाई अनेक तरहले सताउने खन्चुवा, ठग र बाजी मार्न जे पनि गर्ने बाहुनको कुरा उल्लेख छ। राँगाको मासु खाए जात फालिने भन्ने भनाइ अनुसार कथाको अन्तमा लुकीलुकी राँगाको मासु खाने थुप्रै बाहुनहरुको पोल खोलेको प्रसंग छ। ‘नास्पाते बुढा’मा लिम्बुभाषामा पढ्न पाउनु पर्छ भनेर ३४ सालमा आन्दोलन गर्दा ६ महिना जेल पस्नु परेको र पल्टनमा हाजिर हुन नपाएर जागिर गुमाएको लाहुरेको कथा छ।

 ‘थोते साँइला’मा राजनीतिमा लागेको लिम्बु युवकको कथा छ। कथा पढ्दै जाँदा कता कता कबडि चलचित्रको काजी याद आउँछ। ‘मानसिंहको चैते दशैँ’मा दुईटी स्वास्नी बिहे गरेको मानसिंको कथा छ । ‘हरियो ढुङ्गा’मा भुटानी सरणार्थी सिबिर भित्रको कथा छ। ‘हन्दनेको बिहेमा गोरु लडाउने परम्पराका बारेमा धेरथोर उल्लेख गरिएको छ। एकल महिला परिभित्ती भाउजुसँगको सम्बन्धलाई गाउँले सहज स्वीकार्नु र उसलाई हन्दनेकी आमाले घर भित्र्याउनुले किराँती समुदायमा पुनर्विवाह बाहुन–क्षेत्री समुदायको तुलनामा सहज हुने बुझिन्छ।

‘सुगुत’मा किराती संस्कृतिमा मनाइने मृत्युसंस्कारसँग जोडिएको कथा छ। ‘मनमाया’मा सन्तान थपिदा उनीहरुको लालनपालनमा हुने कमी कम्जोरीका बारेमा लेखिएको छ। अन्तिमको ‘लाटो पहाड’मा लगभग सबै विषयहरु एकदमै बुद्धिमतापूर्ण तरिकाले समावेश गरिएको छ।

च्याबु्रङसँग जोडेर कथाको सुरुवात देखि अन्त सम्म अघिल्ला कथाका नास्पाते बुढा लगायतका पात्रहरुसमेत प्रयोग गरेर कथा अघि बढेको छ। यसैमा भाष(बाहुन कुरा)का समस्याले फाङजङले पढ्न नसकेको, बाहुन–क्षेत्रीले बनाएको नयाँ नियम कानुनले बारीको रुख काट्दा समेत जरिवाना तिर्नु परेको, भीरबाट लडेर मरेको गाइको हत्याको आरोपमा पुलिसले समाएको आदि घटनाहरु मार्फत सांस्कृतिक थिचोमिचोको कुराहरु अघि ल्याइएको छ।
सुरुमा सरसर्ती कथा पढ्दै जाँदा यसको गहिरो अर्थका बारेमा त्यति ध्यान जाँदैन। हास्यरसले भरिएका कथाहरु हसाइ हसाइ सबै कुरा राख्छन्। पाठकले जबसम्म एकछिन घोत्लिँदैन लाटो पहाडको सन्देश समाउन गाह्रो हुन्छ। किताबको लगभग अन्तसम्म पढ्दा पनि ठीकै लागेको किताब एकाएक उपेन्द्र सुब्बाका अन्तर्वाताहरु हेरेर धारणा फेरियो। यस पुस्तकलाई लागेका अनेक आरोपहरुको खण्डनको क्रममा भनिएका कुराहरुले बल्ल पुस्तकको गहनता तर्फ जान कर गर्यो  पुस्तक पढ्दा पढ्दै हेरेका श्रब्य–दृश्य सामग्रीहरुले सुब्बाको बिद्रोही स्वरलाई पहिल्याउन ठूलो मद्दत गर्यो। पत्रकार बसन्त बस्नेतको लाटो पहाड उपरको समीक्षाले पनि लाटो पहाड बुझ्न मद्दत गर्यो।

पुस्तकको पछिल्लो गातामा राखेको तस्वीर हेर्दै परिचित लागेका उनी कबड्डीकबड्डीको खिर खुवाउने झाँक्रिबा रहेछन् भनेर थाहा पाउँदा त पुस्तक झनै रोचक बन्यो। कबड्डी र कबड्डीकबड्डीमा रामबाबु गुरुङ्गसँग सहलेखन समेत गरेका सुब्बाको लेखनसँग त्यसपछि मात्रै अभ्यस्त जस्तै भइयो। किराती समाजको आवाज समेटेर लेखेको लाटो पहाडले त्यो समाज किन लाटो बनेको छ र त्यहाँका गुनासाहरु के कस्ता छन् भनेर पाठकमाझ एकदमै सरल तरिकाले सन्देश प्रवाह गर्ने काम गरेको छ।


लाटो पहाडमा केहि जातीय कुराहरु पनि छन्। कथाको सुरुवातदेखि नै एक किसिमको आक्रोश पोखेको झैँ भान हुन्छ। किराती छात्रप्रति विद्यालयमा दुव्र्यवहार हुने कुरालाई पहिलो कथामै समावेश गरिएको छ र लाटो पहाड नाटकमा पनि त्यो एउटा प्रमुख पाटो बनाइएको छ। ‘प्रभु माइलो’ कथाकी शिक्षिका पात्र त्यहाँ ‘लाटो पहाड’मा पनि दोहोरिएकी छिन्। तिनको छुच्याँइ दुरुस्तै कायम छ। किराती समाज नै लाटो समाज मानेर त्यहाँको कथा बोकेकोले संग्रहको नामै लाटो पहाड झैँ राखेको हो कि भन्ने भान हुन्छ। लाटो पहाड या लाटो समुदाय किरातीहरुको नजरमा भन्दा पनि बाहुन–क्षेत्रीका नजरमा हो। त्यसैले उनले किताबमा फाङजङलाई बाहुन छात्रबाट ‘लाटो चितुवा’ भनाइ मागेका छन्। पिसाबले च्याप्दा पनि जान नदिएको र अटेर गरि गएपछि फर्केर आउँदा ‘लिम्बुका छाउरा’ भन्दै शिक्षिकाले कुटेको कुराले विद्यालयमा हुने दुव्र्यवहारका प्रतिनिधि घटनाको काम गरेको छ।

फरक मातृभाषाका कारण चस्मा भन्ने ठाउँमा ‘जस्मा’ भन्दा कुटाइ खाएको घटनाले किराती वालवालिकाहरु शिक्षार्जनका क्रममा कति निरुत्साहित पारिन्छन् भन्ने कुरा देखाउन खोजे झैँ लाग्छ। फाङजङले कुटाइ खाँदा केही नहुने तर बाहुन छात्रले कुटाइ खाँदा शिक्षिकाले ‘बाहुनलाई किन कुटेको ? बाहुनलाई लात्ताले हान्नु हुँदैन’ भन्दै फाङजङलाई सजाय दिएको घटनाले जातीय विभेदको अर्को रुप पाठक सामु ल्याएको छ। नेपाली भाषामा हुने पठनपाठनलाई ‘बाहुन कुरा मात्रै गर्छ’ भनेर फाङजङले स्कुल जान छोड्नुको कारण बताएबाट भाषागत कठीनाइले पनि किराती समुदायमा विद्यालय छोड्ने चलन रहेको भन्ने दर्साउँछ। ‘बाठो युवक’ले लाटो पहाडको प्रसंसा गरेको र भिरबाट लडेर मरेको गाइको हत्याको आरोपमा कोक्मे ठूलेलाई प्रहरीले लगेकोमा ‘गाई त लडि मरेको हो नि । त्यसमा पनि कानुन लगाउने ? यसरी नै सिध्याएको हो जनजातीलाई ।’ भनेर भनेको कुरा उल्लेख छ । त्यस्तै भावको ‘परिवार नियोजन भनेको लिम्बु मास्ने सरकारको जाल हो ।’ भन्ने कुरा ‘मानसिंहको चैते दशैं’ कथामा पनि उल्लेख छ । यसरी हाल आएर समाजमा उठीरहेका जातिगत कुराहरुले पनि पुस्तकमा स्थान पाएको छ ।

पुस्तकको कम्जोरीमा भाषा र संरचना प्रमुख छ। लिम्बु भाषाका शब्दहरुको व्यापक प्रयोगले कहिं कतै बुझ्न साह्रै कठीन बनाउँछ। तर त्यही कठीनाइले किरातीहरुलाई नेपाली भाषामा लेखपढ गर्न हुने कठीनाइको बारेमा पाठकहरुलाई थोरै भएपनि बोध गराउँछ। 

‘म क्याम्पस छँदा मलाई परीक्षामा सोधिएका सबै प्रस्नको उत्तर आउँथ्यो। म सँधै सहि उत्तर नै लेख्थे तर अंक जहिले ३५ र ४० मात्रै हुन्थ्यो।’

सुब्बाले भाषागत कठीनाइका बारेमा त्यसरी सफाइ दिएका छन्। सम्पादकनका क्रममा पनि अल्छि लाग्दा को परिणाम पनि पुस्तकमा कमी कम्जोरीहरु यथावत छन्। दोश्रो संस्करण सम्म आउँदा पनि ती कम्जोरीहरु सच्चिएका छैनन्। थिएछ, थिएनछ जस्ता नेपाली भाषामा प्रयोग नहुने शब्दहरु सम्बाद बाहेकका ठाउँमा पनि प्रयोग भएका छन्। सुरुवाती कथाहरु द्वन्द्वहीन र अपेक्षाकृत अन्त नभएका जस्ता लाग्छन्। सायद पुस्तकमा भूमिका समावेश गरेर सुब्बाले कथाहरुको पृष्ठभूमीका सम्बन्धमा पनि केही कुरा उल्लेख गरिदिएको भए यो पुस्तक अझै बोधगम्य हुने थियो र पुस्तकलाई हल्का रुपमा लिइने थिइएन कि भन्ने लाग्छ। 
यस पुस्तकको प्रभाव यति सम्म रह्यो कि हातमा भएको फिरफिरे बिसाएर इमानसिंह चेमजोङले लेखेको किरातीहरुको इतिहास पढ्न थालेको छु ।